सरोज र ‘१२ दुर्वासा’

जीवन्त र यथार्थपरक अभिनयबाट चिनिएका सरोज खनाल भन्छन्– नाटक खेल्दा ‘रिफ्रेस’ भइन्छ ।

माघ १५, २०७३

अमेरिकाबाट फर्किएको दुई वर्षमा सरोज खनालले आठवटा फिल्म खेले । ‘प्रेमगीत’ र ‘नाइँ नभन्नु ल ४’ सफल पनि भयो । ६ वटा त रिलिज हुनै बाँकी छन् ।

तैपनि सरोजको आँत भरिएन । उनकै शब्दमा, ‘मनोटोनस’ महसुस हुन थाल्यो । त्यही बेला उनको हातमा रंगकर्मी राजन खतिवडाले नाटक ‘टुभेल्ब एंग्री म्यान’ को स्क्रिप्ट थपाइदिएका थिए एक्कासि । जीवन्त र यथार्थपरक अभिनयबाट चिनिएका यी अभिनेता भन्छन्, ‘मेरो भित्री मनले नाटक खेल्दा ‘रिफ्रेस’ भइन्छ भनिरहेको थियो । तर मेसो मिलेको थिएन । त्यसमाथि यति प्रभावशाली नाटक पाएपछि के चाहियो र ? हत्तपत्त राजी भएँ ।’ एक हप्ताको ‘रिडिङ’ अनि तीन हप्ताको रिहर्सलपछि उक्त नाटक ‘१२ दुर्वासा’ को नाममा गत मंगलबार (११ माघ) बाट अनामनगरस्थित मण्डला थिएटरमा मञ्चन भइरहेको छ । 

अहिले जसरी फिल्ममा सौगात मल्ल, दयाहाङ राईको जगजगी छ । उसैगरी अढाई दशकअघि सरोजको शान ठूलो थियो । सरोजले पनि सौगातहरूजस्तै नाटकबाट फिल्ममा फड्को मारेका थिए । तर सफलताको शिखरमा रहेकै बेला उनी अमेरिका भासिए, नाटक र फिल्म दुवै बिरानो बन्दै गयो । पहिलो सो सुरु हुनुभन्दा केही घन्टाअगाडि सरोज भन्दै थिए, ‘दुई दशक भएछ, यसरी औपचारिक नाटकका लागि मञ्चमा नउक्लिएको । त्यसैले थोरै नर्भसजस्तो पनि छु । सरोजले खेलेको अन्तिम नाटक थियो, सुनील पोखरेल निर्देशित बिनाचिहानको मृत्यु । त्यसयता उनले अमेरिकामा केही सोलो पर्फमेन्स त गरे, तर व्यावसायिक र व्यवस्थित नाटक गर्ने मौका जुरेको थिएन । एकातिर, १२ दुर्वासामा उनलाई दिइएको भूमिका नाटकको मुुटु हो, अर्कातिर त्यो भूमिका उनको वास्तविकताभन्दा बिल्कुल भिन्न । भन्छन्, ‘म कहिल्यै रिसाउन जान्दिनँ तर भूमिकाचाहिं निकै ‘लाउड’ र ‘एग्रेसिभ’ छ ।’ 
अमेरिकी पटकथाकार रेनाल्ड रोजले ‘टुभेल्ब एंग्री म्यान’ एकै पटक फिल्म, नाटक र टेलिसिरियलका लागि लेखेका थिए । नाटकमा बाबु हत्याको आरोप लागेको केटो दोषी वा निर्दोष हो भनेर १२ जना ‘ट्राएल जज’ बीच चर्काचर्की बहस हुन्छ । सन् १९५७ मा रेनाल्डकै पटकथामा हलिउड निर्देशक सिड्नी लुमेटले फिल्म बनाए । त्यसपछि संसारका विभिन्न देशमा यसलाई नाटक र फिल्ममा रूपान्तरण गर्ने लहर नै चल्यो । भारतमा सन् १९८६ मा वासु चटर्जीले ‘रुका हुवा एक फैसला’ फिल्म बनाएका थिए । जसमा पंकज कपुर, अन्नु कपुर, एमके रैना, केके रैनालगायतका भारतीय रंगमञ्चका हस्तीहरूले अभिनय गरेका छन् । राजनले भने पहिलो पटक फिल्म निर्देशक मनोज पण्डितबाट ‘टुभेल्ब एंग्री म्यान’ को बारेमा थाहा पाएका रहेछन्, ६ महिनाअगाडि । ‘रुका हुवा एक फैसला’ हेरेपछि उनी झन् हौसिए, तर अनुवादको चिन्ता ? राजनले खुसी हुँदै सुनाए, ‘बुझ्दै जाँदा त सुरेश सापकोटाले अनुवाद गरिसकेको थाहा पाएँ, निकै सुन्दर शैलीले । अनि त कम्मर कसेर मञ्चमा उतार्छु भनेर लागिपरें ।’
तर संसारभरबाट बटुलेको गरिमा घट्ला कि भन्ने भयंकर डर थियो उनलाई । आरोहण गुरुकुलबाट दीक्षित निर्देशक राजन भन्छन्, ‘सबभन्दा सतर्क त कलाकार छान्न मै थिएँ ।’ नहुनु पनि कसरी, १२ चरित्रलाई डेढ घण्टासम्म लगातार स्टेजमा हेरिहरनुपर्छ दर्शकले । न कसैको ‘इन्ट्री’ हुन्छ, न कसैको ‘एक्जिट’ । सबै पात्र एकअर्कामा अपरिचित हुन्छन्, संवाद, हुलिया र हाउभाउमा उनीहरूको पृष्ठभूमि झल्कनुपर्छ । 
चरित्रको यही ओझ आत्मसात् गर्ने कलाकार खोज्न भौतारिरहेका बेला राजनको नजरमा परेका रहेछन्, सरोज । त्यसो त उनले सरोजसँगै नीर शाह र टीका पहारीलाई पनि प्रस्ताव राखेका थिए तर उनीहरूको समय मिलेन । मूल नाटकमा सबै पात्र पुरुष मात्र छन्, तत्कालीन समयको परिस्थितिअनुसार त्यो ठीकै पनि थियो होला तर अहिले समाजको आधा हिस्सा त महिलाले ओगटिसकेका छन् । सोही कारण राजनले चुनौतीले मोले कि ६ जना पात्र महिला राख्ने । सोहीअनुरूपको गृहकार्यमा पनि लागे तर गौरी मल्ल र अरुणा कार्कीले नभ्याएपछि महिला पात्र ४ मा सीमित भएका छन् । सरोजको ‘काउन्टर’ मा छिन्, पशुपति राई । उनीबाहेक सरिता गिरी, सिर्जना सुब्बा र लक्ष्मी बर्देवा पनि नाटकका हिस्सा हुन् । 
सरोज त स्टार नै भइहाले, बाँकी ११ पात्रमध्ये अधिकांश रंगमञ्चका ‘स्टार’ नै हुन् । नयाँ भन्नु त, कुशल पाण्डे, पुष्कर कार्की र आयान खड्का मात्र हुन् । सरिता आरोहण गुरुकुलकी पहिलो ब्याच हुन्, पशुपतिले एक दर्जनभन्दा ज्यादा चर्चित नाटकमा अभिनय गरिसकेकी छन् । लुट, राहदानीलगायतका फिल्म खेलेकी सिर्जना मण्डलाको स्थापनाबाटै जोडिएकी हुन् । चार वर्षयता रंगमञ्चमा सक्रिय लक्ष्मी प्रतिभाशाली कलाकारमा दरिन्छिन् । त्यस्तै, भारतीय रंगमञ्चमा दुई दशक बिताएका विशारद बस्नेतले १२ दुर्वासामा अभिनय गरेका छन् । प्राय: कमेडी प्रधान भूमिकामा जमेका कलाकार तथा निर्देशक सोमथान खनाललाई यसमा गम्भीर र परिपक्व चरित्रमा देख्न पाइन्छ । अनुपम शर्मा अर्को आकर्षण हुन, नाटकका । सायद २, गाँठोजस्ता फिल्ममा अभिनय गरिसकेका अभय बराललाई पनि यसमा देख्न पाइन्छ । बादल भट्टचाहिं शिल्पी थिएटरसँग आवद्ध छन् । यी सबै कलाकारको तालमेल मिलाउन राजनलाई हम्मेहम्मे परेन । उनी ढाँट्दैनन्, ‘हरेक कलाकारले आफ्नो उपस्थिति बढी खोज्छ । त्यसमाथि यसमा समकक्षी कलाकार धेरै छन् । त्यसैले व्यापक अन्तरविरोध भयो, जुन स्वाभाविक पनि हो ।’ उनले कलाकारबीचको त्यही वास्तविक ‘इगो’ लाई पात्रमा रूपान्तरित गर्ने प्रयास गरेको पनि बताए । 
उता, सरोजचाहिं इच्छाशक्ति र मिहिनेतले भरिएका कलाकारसँग काम गर्न पाएको भन्दै दंग छन् । ‘सिनियर कलाकारको रूपमा गर्नुपर्ने सम्मान त गर्नुभयो नै, खुलेरै मेरो कमजोरी पनि औंलाइदिनुभयो,’ वर्षमा २–३ वटा नाटक खेल्ने योजना बनाएका सरोज भन्छन्, ‘अमेरिकाबाट फर्किएपछि अभिनय गरेका आठ फिल्मबाट नसिकेको कुरा र नपाएको सन्तुष्टि यही नाटकले दियो ।’ सोमनाथ र अनुपमको काम गर्ने शैलीबाट उनी अझ प्रभावित भएका छन् । रमाइलो त के भने सबै कलाकारले उनी अमेरिका भासिएपछि अभिनय यात्रा सुरु गरेका थिए । लक्ष्मीले सुनाइन्, ‘हामी उहाँ (सरोज) भन्दा निकै जुनियर हौं तर पनि कुनै ‘ग्याप’ महसुस भएन । एकदम सौहार्द, सहज र आत्मीय आभास गराउनुभयो ।’ राजन पनि सरोजको शालीनता र नयाँ कलाकारझैं सिक्न खोज्ने बानीबाट औधि प्रभावित भए । हुन पनि, महिना दिनको नियमित वर्कसपमा न सरोज कहिल्यै ढिला आए, न छिट्टै जानै खोजे । 
लोकतन्त्रको ‘ब्युटी’ हो, बहस, विर्मश र अन्तरक्रिया । जसका कारण निर्णयपश्चात् पश्चत्ताप गर्नुपर्ने अवस्था हुँदैन । तर विडम्बना ! हामीकहाँ निर्णय गर्नुपूर्व पर्याप्त छलफल हैन, हतार गरिन्छ, पूर्वाग्रह राखिन्छ । राजनीति र कर्मचारीतन्त्र यस्तै नियतिको सिकार भइरहेका छन् । १२ दुर्वसा त्यो मनोदशाको विपक्षमा छ, सतही सत्यलाई इन्कार गरेको छ, फरक मतलाई स्थान दिनुपर्ने यथार्थलाई आत्मसात् गरेको छ । राजन र सरोजको एउटै मत छ, ‘त्यसैले नाटक हेर्नुपर्ने खास वर्ग नीतिनिर्माता हुन् । ग्य ! ती नाटक हेर्न आउँदैनन् ।’ 

Link copied successfully