शिक्षाको जीवन–साइनो

माघ १५, २०७३

राजेन्द्र फुयाल

परम्परागत परिभाषाअनुसार कुनै पनि विषय जान्नु र सिक्नु नै शिक्षा हो । औपचारिक शिक्षाका लागि सरकारी र निजी तहमा खुलेका हजारांै विद्यालय र दसवटा विश्वविद्यालय सञ्चालनमा छन् ।

ती सबैमा त्यस्तो धेरै चीज सिकाइन्छ, जसको उपयोग हामीमध्ये धेरैको जीवनमा कहिल्यै पनि हुँदैन । अनि ती शिक्षालयमा त्यस्तो चेतना र सीप सिकाइँदैन, जुन हामी सबैको जीवनमा नभई हुँदैन । आखिर मानिसको जीवनसँग नजोडिएको शिक्षाको के काम ? के हाम्रो शिक्षा वैज्ञानिक चेतना निर्माण, उच्च नैतिकताको द्योतक, सीपमूलक र जीवनोपयोगी बनाउन सकिंदैन ? विद्यालय शिक्षणमा ३६ वर्ष बिताएका माधवप्रसाद अधिकारीलाई यी र यस्तै प्रश्नले घोचिरहन्छ । उनी आफ्नो उर्वर जीवनका अधिकांश समय खर्चिएको शिक्षण पेसमा थुप्रै कमी देख्छन् । तीमध्येको एक मुख्य समस्या पठनपाठनका विधि र अन्तरवस्तु विज्ञान र जीवनसँग जोड्न नसक्नु हो भन्ने उनको निचोड छ । यस्तो समस्या समाधानमा सघाउने उद्देश्यले उनले ‘गरेरै जानौं’ पुस्तक सार्वजनिक गरेका छन् ।

धेरै विद्यार्थीले गणित र विज्ञानका क्लिष्ट सूत्र घोक्छन्, परीक्षामा अंक प्राप्त गर्छन् । तर हाम्रो जीवनमा तिनले पार्ने प्रभाव, सूत्रका आधार र उपयोगिताजस्ता नीरस विषयमा पढ्ने र पढाउने दुवैले खासै खोजी गर्दैनन् । यही समस्यालाई अधिकारी ‘एउटा टेस्ट टयुबबाट अर्कोमा खन्याएको मर्करी’ सँग तुलना गर्छन् । ‘एउटा टेस्ट टयुबबाट अर्कोमा मर्करी खन्याउँदा खाली भएको टयुबमा मर्करीको कुनै संकेत बाँकी रहँदैन,’ उनी भन्छन्, ‘हाम्रो पठन–पाठन ठीक यस्तै भएको छ । सिकाउने शिक्षककै चेतना र सीपलाई शिक्षाले असर गरेको छैन, मर्करीले टेस्ट टयुबलाई नभिजाएको जस्तै ।’ पनौतीको इन्द्रेश्वर माविबाट २०३२ सालमा शिक्षण पेसा सुरु गरेदेखि नै उनले शिक्षालाई मानिसको चेतना र सीपसँग जोडेर व्यक्तित्व विकास र समाज परिवर्तनमा आग्रसर गराउने प्रयास निरन्तर जारी राखेका छन् । त्यसैको पछिल्लो उपजका रूपमा उनले तयार गरेको रचनात्मक विज्ञानसँग सम्बन्धित ‘गरेरै जानौं’ पुस्तक विद्यालय शिक्षक र शिक्षार्थीका लागि मात्र लक्षित नभई विज्ञानप्रति रुचि राख्ने सबैका लागि उपयोगी देखिन्छ । 
काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको शब्दमा अधिकारीले यस पुस्तकलाई ‘कलिलो मस्तिष्कदेखि पाको तर जिज्ञासु मस्तिष्कका लागि प्रत्येक दिन नियाल्ने सूत्रकै रूपमा’ प्रस्तुत गरेका छन् । ‘पुस्तकमा प्रस्तुत साठीवटै प्रयोगहरूले रहस्यजस्ता देखिने कुराहरू त व्यवहारमै उतार्न सकिँदारहेछन्, त्यो झनै रोचक छ,’ शर्माले पुस्तकको भूमिकामा लेखेका छन् । शर्माले भनेजस्तो अधिकारीले विज्ञानलाई रहस्यका रूपमा नभई जीवनमा प्रयोग भइरहेको सरल नियमका रूपमा बुझ्न सकिने बिदाका रूपमा प्रस्तुत गरेको देखिन्छ । 
नेपाली र अंग्रेजी दुवै माध्यममा प्रकाशित ७२ पृष्ठको सचित्र पुस्तकलाई विज्ञानको सानो प्रयोगशालाकै रूपमा अध्ययन गर्न सकिन्छ । रंगीन चित्र सामग्री तर संक्षिप्त व्याख्या गरिएका विज्ञानका सिद्धान्तलाई प्रयोगात्मक बनाउने क्रममा उनले सम्पूर्ण रूपमा स्थानीय स्रोत–सामग्रीको प्रयोग गरेका छन् । विज्ञान शिक्षणलाई साहित्य र समाजशास्त्रभन्दा फरक तरिकाले अध्यापन गर्नुपर्छ भन्ने अनुभवलाई उनले पुस्तकमा स्थापित गर्न खोजेका छन् । तसर्थ पुस्तकले अध्येतालाई विज्ञानका नयाँ सूत्र दिंदैन, बरु व्यक्तिमा वैज्ञानिक धारणाको विकास गर्न मद्दत गर्नेछ । उनैले भूमिका उल्लेख गरेजस्तो विज्ञानले मानिसलाई यन्त्र मानव होइन, विवेकी र सिर्जनशील बनाउन मद्दत गर्नुपर्छ । यसका लागि उनले तयार गरेका ५ दर्जन प्रयोगात्मक उदाहरणले विज्ञानलाई प्रमाणित ज्ञानका रूपमा बुझ्न मद्दत गर्न सक्छ, जहाँ उनले कम्पास बनाउने तरिकादेखि ग्रहण कसरी लाग्छसम्मका विषय समेटेका छन् । हाम्रै घर वरपर पाइने सामग्रीबाट पिनहोल क्यामेरादेखि केवलकारसम्मका अत्याधुनिक यन्त्र कसरी सञ्चालन गरेर देखाउन सकिन्छ भन्नेजस्ता थुप्रै प्रयोग पुस्तकमा छन् । 
अधिकारीले विज्ञान शिक्षका रूपमा आफूले तयार पारेका शिक्षण सामग्रीलाई अवकाशपछिको समयमा पनि अझ परिस्कृत गरी विभिन्न सामुदायिक विद्यालयमा पुर्‍याउने स्वयंसेवी प्रयास गरिरहेका छन् । २०६९ मा पूर्णसञ्जीवनी माध्यमिक विद्यालय धुलिखेलबाट अवकाश पाएयता अधिकारीले काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, सिन्धुली, धादिङ, नुवाकोट, मुस्ताक र काठमाडौँ उपत्यकाका १ सय ३० भन्दा बढी सामुदायिक विद्यालयमा विज्ञानका प्रयोगात्मक नमुना कक्षा सञ्चालन गरेका छन् । 
अवकाशपछि सरकारले उपलब्ध गराइरहेको निवृत्तिभरण पनि ‘कामै नगरी कसरी खानु ?’ भन्ने प्रश्नले आफूलाई यो अभियानमा प्रोत्साहित गरेको उनी बताउँछन् । समूहमा उपलब्ध भएसम्म शिक्षकहरूलाई तालिम दिने र प्रयोगात्मक शिक्षामा विद्यार्थीलाई अभिप्रेरित गर्न उनीहरूकै विद्यालयसम्म पुग्ने अभियानमा सघाउन इच्छुक गैरसरकारी संघ/संस्थाको सहयोग भने उनले अस्वीकार गरेका छन् । ‘आफ्नो ज्ञान र सीप समुदायमा पुर्‍याउने प्रयास आफैंले गर्नुपर्छ । अरूको सहयोग लिंदा आफू पनि उनीहरूको स्वार्थपूर्तिको माध्यम बन्न पुगिन्छ,’ उनी भन्छन्, ‘सार्वजनिक यातायातको भाडा तिरेपछि आसपास जिल्लाका विद्यालयसम्म पुग्न सकिएकै छ । जीविकोपार्जनका लागि सरकारले दिएको निवृत्तिभरण छँदै छ ।’ 
अधिकारीलाई चिन्नेहरूका लागि उनको यो व्यवहार अनौठो भने होइन । ६५ वर्षीय यिनी औपचारिक शिक्षामा मात्र होइन, काभ्रेको वामपन्थी राजनीतिमा सक्रिय धेरैका दार्शनिक गुरु पनि हुन् । राष्ट्रिय शिक्षक संगठनको दुई कार्यकाल अध्यक्ष रहेका अधिकारी शिक्षक युनियनका संस्थापक अध्यक्ष पनि हुन् । घोषित सिद्धान्त र आदर्शप्रति आफूले विश्वास गरेका नेताहरू नै निष्ठावान छैनन् भन्ने निष्कर्षमा पुगेका अधिकारी पछिल्लो समय दलीय राजनीतिबाट टाढै छन् । विज्ञान शिक्षणमा मात्रै केन्द्रित भएका कारण उनको पुस्तक नेताहरूको स्खलन र राजनीतिक विचलनतर्फ भने प्रवेश गर्दैन । विज्ञानका विषय शिक्षक भएकाले पनि हुन सक्छ, उनको पुस्तकमा विस्तृतीकरण होइन, सूत्र पाइन्छ । पुस्तकलाई अनावश्यक गन्थनबाट जोगाए पनि गुरुले सिकारु प्रशिक्षार्थीका लागि अत्यावश्यक विस्तृतीकरणको भने अभाव देखिन्छ । चित्र र शीर्षकपछि सोझै प्रयोगात्मक कार्यका लागि आवश्यक सामग्रीको सूची, कार्य तयारीको निर्देशन र प्रयोगका तरिका उल्लेख छन् । 


 

राजेन्द्र

Link copied successfully