नेपाल प्राकृतिक सम्पदा र जडीबुटीको खानी हो भनेर विद्यालय तहका पाठयपुस्तकदेखि पढाइने गरिन्छ ।
विश्वविद्यालय तहमा पनि आयुर्वेद क्याम्पस र उपचारमा आयुर्वेद अस्पतालहरू यहाँ नभएका होइनन् । तर, तिनमा पढाइने पाठयक्रमदेखि उपचारमा प्रयोग गरिने पद्धति भने बाहिरी बजार र बाहिरी भूगोलसँग बढी गाँसिएका छन् । सबैले जाने–सुनेको डाबर कम्पनी वा पतन्जली ब्रान्डका बारे चियोचर्चा सबैतिर हुने गरेकोमा आयुर्वेदको आफ्नै इतिहास र चिनारी सही अर्थमा अहिलेसम्म ‘लुप्तप्राय’ थियो जुन बाहिर आउने क्रममा छ ।
आजभन्दा १ सय वर्षअघि राणाकालीन युगमा नेपालमा रहेका १ हजारभन्दा बढी जडीबुटी (खनिज/द्रव्यसहित) को हस्तलिखित कृति तयार भएको थियो । र, त्यसमा जडीबुटीका रंगीन चित्र, तिनका विशेषता, कर्म र उपयोगिता वर्णन गरिएको थियो । राणा प्रधानमन्त्री चन्द्रशमशेरका पालामा तयार पारिएको हुनाले उनकै नाम जोडेर राखिएको दस्तावेज ‘चन्द्रनिघण्टु:’ अहिले सिंहदरबार वैद्यखानाबाट शृंखलाका रूपमा प्रकाशित हुने क्रममा छ । १९१८ पृष्ठको हस्तलिखित ग्रन्थ जम्मा १० भागमा छापिने र अहिलेसम्म ३ भाग प्रकाशनमा आइसकेको छ । आयुर्वेद्ध विज्ञानमा अति प्रामाणिक र सिंगो आयुर्वेद्ध बजारको प्रतिनिधित्व गर्ने भनेर दाबी गर्दै आएका एकल निकाय/विज्ञका लागि ‘चन्द्रनिघण्टु:’ एउटा गतिलो जवाफ बनेको छ ।
‘चन्द्रनिघण्टु:’ मा हरेक जडीबुटी, खनिज वा द्रव्यको संस्कृत, नेपाली, नेवारी, हिन्दी, अंग्रेजी, ल्याटिन नामसहितको व्याख्यान खुलाइएको छ । जस्तो, कमल फूलको चिनारी खुलाउने क्रममा नेपालको तराइदेखि ५ हजार फिट उचाइसम्म प्राय: जलाशय वा जलीय भूमिमा पाउन सकिने भनेर खुलाइएको छ । यसको फूल, डाँठ वा बीउलाई चर्मरोग, रक्तविकार, मूच्र्छा, अनिद्रा, रक्तपित्त आदि सहितमा उपयोग गर्न सकिने स्पष्ट जनाउ दिइएको छ । पुस्तकको सम्पादकीयमा उल्लेख भएअनुसार, वर्षौंवर्षदेखि दराजमा थन्किएर बसेको ‘चन्द्रनिघण्टु:’ प्रकाशनको विषय २०५३ सालदेखि उठे तापनि २०६९ सालमा प्रथम भाग प्रकाशित भएको थियो । सिंहदरबार वैद्यखानाका अनुसार यही महिना ‘चन्द्रनिघण्टु:’ को चौथो भाग प्रकाशनमा आउँदै छ ।
एक शताब्दीअघिको स्रोत–साधन र पहुँचले खुम्चिएको युगमा समेत देश–विदेशका आयुर्वेद विज्ञ र चिकित्सकसमेत भेला गराएर मौलिक जडीबुटीको अभिलेखीकरण गराउनुको अभिप्राय त्यस बेलाभन्दा अहिले बढी स्पष्ट भएको छ । यो विशिष्ट अभियान अघि बढाउन र पाण्डुलिपि (कृति) तयार गर्ने क्रममा धन्वन्तरि निघण्टु, भावप्रकाश निघण्टु, राज निघण्टु, कैयदेव निघण्टु तथा अमरकोषलाई आधार मानिएको प्रामाणिक तथ्यले पनि ‘चन्द्रनिघण्टु:’ को बढी प्रामाणिकता स्पष्ट भएको छ । यस्तो अति महत्त्वको र प्रामाणिक कृति सर्वसाधारणको पनि पहुँचमा पुगोस् भनेर वैद्यखाना विकास समितिको ध्यान आकृष्ट हुनु जरुरी छ । कृतिको प्रतिखण्डको २५ सय रुपैयाँ मूल्य तिरेर यो कृतिको उपयोग गर्न कतिले सक्लान्, यो सोच्नु जरुरी छ ।
