संसारलाई सरसर्ती चियाउने झ्याल

पर्यटकहरूमा आफ्नो अनुभूति लिपिबद्व गर्ने न जाँगर हुन्छ, न कला नै । ‘सरसर्ती संसार’ मार्फत जीवा लामिछानेले आफूलाई ती थोरैमा पारेका छन् जो आफ्ना यात्रा अनुभव र अनुभूतिलाई पुस्तकाकार रूप दिएर लोभलाग्दो आवरणमा पाठकमाझ आएका छन् ।

माघ १५, २०७३

अखिलेश उपाध्याय

भनिन्छ— यात्रा गर्दा आफ्नै छाया देखिन्छ । त्यो छायाले आफूलाई सदा पछयाइरहन्छ । यात्रा साहित्यको विशेषता पनि त्यही नै हो । हामी आफ्नो संसारलाई, आफ्ना वरिपरिका घटनाक्रमलाई, भेट भएका पात्रहरूलाई अत्यन्त व्यक्तिगत तवरले हेर्छौं, देख्छौं ।

एकातिर छोटो समयमा धेरै कुरा हेर्नुपर्ने र गर्नुपर्ने चापले घच्घच्याइरहेको हुन्छ भने अर्कातिर बिरानो ठाउँको नवीनताले साधारण घटनाक्रम र दृश्यलाई असाधारण मौलिकताबाट अवलोकन गर्ने अवसर दिइरहेको हुन्छ । यति नभए, पर्यटन आज सबैभन्दा द्रुततम गतिमा विस्तार भएका उद्योगमध्ये कसरी पथ्र्याे र !

तर सबै पर्यटकहरूमा आफ्नो अनुभूति लिपिबद्व गर्ने न जाँगर हुन्छ, न कला नै । ‘सरसर्ती संसार’ मार्फत जीवा लामिछानेले आफूलाई ती थोरैमा पारेका छन् जो आफ्ना यात्रा अनुभव र अनुभूतिलाई पुस्तकाकार रूप दिएर लोभलाग्दो आवरणमा पाठकमाझ आएका छन् ।
‘सरसर्ती संसार’ को २ सय २० पेजभित्र मैले लेखक जीवा लामिछानेलाई छर्लंग हेर्ने मौका पाएँ, उनमा बहुप्रतिभाशाली व्यक्तित्वको छनक भेट्टाएँ । २९ अध्यायमा टुंगिएको यस नियात्रामा मैले जीवालाई एक युवा–विद्यार्थी, एक नव–उद्यमी, अनि पछिल्लो समयमा सफल गैरआवासीय नेपाली अभियन्ताको रूपमा देखें । 
सन् १९८३ मा इन्जिनियरिङ अध्ययन गर्न तत्कालीन भीमकाय सोभियत संघ पुग्दादेखि सन् २०१० को दशकसम्मका विभिन्न छोटा–लामा यात्राका अनुभव र अनुभूतिको संगालो हो— ‘सरसर्ती संसार’ । पुस्तकमा युरोप, अमेरिका, अफ्रिका, अस्ट्रेलिया र एसियाली मुलुकहरूमा गरिएका यात्राका विषमतालाई लेखनको दह्रिलो कडीले जोडिएको छ । 
लेखकको नेपालप्रतिको प्रगाढ प्रेम पनि पुस्तकमा प्रस्टै झल्किन्छ । विकसित सहरहरूको सुव्यवस्थापन र भौतिक पूर्वाधारको अद्वितीय प्रारूपको तारिफ गर्दागर्दै उनी करिब–करिब हरेक भ्रमणको क्रममा आफ्नो देशको दुर्गतिप्रति भावुक हुन्छन् । ‘यसो गर्नुको अर्थ मैले हाम्रा क्षमताहरू तुलना गरेर कमजोर देखाउन खोजेको नभई,’ उनी लेख्छन्— ‘एक दिन हाम्रो देश पनि विकसित होस् भन्ने सपना हो ।’ उनले भनेझैं पहिलो पुस्ताका गैरआवासीय समुदायका सदस्य भएर होला, ३५ वर्षको लामो विदेश बसाइपछि पनि उनको मन नेपालसँग दर्‍हो गरी जोडिएकै छ ।
‘सरसर्ती संसार’ का भिन्न–भिन्न सन्दर्भहरू पढिरहँदा थाहा हुन्छ— ठाकुरप्रसाद गुरागाई, टंकध्वज नेपाल, नन्दराम न्यौपाने, घनश्यामराम भण्डारी, डा।कृष्ण कायस्थ, हरि मल्ल, राजु श्रेष्ठ, जयन्त नेपाल, टिटोम थापा, तेन्जी शेर्पा, पशुपति भण्डारी, रमेश अर्यालजस्ता विभिन्न देशमा बसेका नेपालीहरूले आ–आफ्नै पहिचान बनाएका छन् । तर आफ्नो नेपालीपनमा उनीहरू उत्तिकै गर्व गर्छन् ।
गैरआवासीय नेपाली संघको पैंसट्ठीऔं राष्ट्रिय समन्वय परिषद् स्थापनाका लागि चेक गणराज्यको राजधानी प्रागको एक रेस्टुरेन्टमा राति ३ बजेसम्म बियरमा गफिँदै हाम्रो नयाँ वर्ष २०७० को स्वागत गरेको रमाइलो प्रसंग जीवा उल्लेख गर्छन्, ‘बियर पारखीको देश’ शीर्षकमा । प्राग र इस्टोनियाको राजधानी ता:लिनको अत्यन्त छोटो बसाइ– अनुभवलाई पनि उनले पाठकले अनुभूत गर्ने गरी उतारेका छन् । खासमा योजना राम्ररी गरिएको भ्रमण रमाइलो मात्र हुँदैन, निकै उपलब्धिमूलक पनि हुने गर्छ । 
रमाइलो कुरा, सारा संसार घुमेका जीवा अमेरिका भने सन् २००४ मा मात्रै पुगेछन् । अमेरिकी बानी व्यहोराले उनलाई प्रभावित तुल्याएछ । खासगरी अमेरिकीहरूको नचिनेका मानिससँग पनि चिनेसरी बोल्ने चलन र शिष्टताबाट निकै मोहित भएका रहेछन् उनी । एक घटनाले अमेरिका भ्रमणलाई अझ अविस्मरणीय बनाएछ । एक पटक साँझ ५ बजे क्यालिफोर्निया (सहरको नाम उनी उल्लेख गर्दैनन्) बाट हयुस्टन उड्नुपर्ने जहाज राति ११ बजे मात्रै उडेछ । भ्रमणमा साथै रहेका घनश्यामले रिसको झोंकमा लिखित उजुरी ठोकिदिए । जीवाले पनि देखासिखी गरे, हल्का हिसाबले, ‘हामी आज समयमा जानु एकदम जरुरी थियो, जहाज डिले हुनाले हामीलाई ठूलो असुविधा भयो’ भन्ने भावमा । केही महिनापछि उक्त अमेरिकी एयरलाइन्सले उनीहरूलाई क्षमायाचना मात्रै मागेन, मस्कोको ठेगानामा पत्रै पठायो जसमा डेढ सय अमेरिकी डलर पनि रहेछ— क्षतिपूर्तिबापत । 
यसैसँग तुलनायोग्य अर्को प्रसङ्ग, सपरिवार गोवा भ्रमण गर्दा पनि आइपरेको रहेछ । उनी उल्लेख गर्छन्— होटल होलिडे इनमा राति चेक–इन गर्दा आफ्नो कोठा इलेक्ट्रोनिक कार्डले नखुलेपछि बाल्कोनी हुँदै झ्यालबाट पसेर होटलका स्टाफले एक घन्टापछि बल्ल–बल्ल खोलेछन् । जीवाले अमेरिकामा झैं यहाँ पनि लिखित रूपमै गुनासो गरेछन् । पछि सोही होटलमा क्यामेरासमेत हराएछ । तर, न गुनासोको कुनै जवाफ आयो, न कसैले ‘सरी’ भन्यो । 
यात्रामा कहिलेकाहीं आफ्नो लापरबाहीले, कहिले अरूको कारणले सरसामान हराउँछ । तर विभिन्न देशमा हराएका सामान आफूकहाँ फर्किन्छ कि फर्किंदैन भन्ने सबैको आआफ्नै अनुभव छ । अधिकांश यात्रुको अनुभवमा जापान त्यस्तो देश हो, जहाँ हराएका सामान हकदारकहाँ फर्किन्छ । जहाँ हरेक जापानी नागरिक आफ्नो देशको इज्जत नबिग्रोस् भनेर अति नै होसियारी अपनाउने गर्छन् । जीवाजीको अनुभव पनि त्यस्तै रहयो । हराएको झोला फर्किएर आयो । अर्को एउटा सन्दर्भमा बाटो हराइरहेको यात्री जीवाजीलाई रेलवे स्टेसनमा एक जापानीले ४० मिनेट लगाएर सही गन्तव्यमा पुर्‍याइदिएका थिए । 
मेरो व्यक्तिगत अनुभव पनि जापानमा त्यस्तै रहयो । २०१५ को महाभूकम्प आउनु केही अगाडिसम्म कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष र म टोक्योमा थियौं । हामी टोक्योबाट बैंकक हुँदै थाई विमानबाट काठमाडौं अवतरण गर्ने क्रममा उक्त भूकम्पको पहिलो र सबैभन्दा ठूलो झट्का आएको थियो । हाम्रो विमानचालकले करिब ४० मिनेट आकाशमा जहाज उडाएर काठमाडौं विमानस्थलको स्थिति आकलन गर्न नसकेपछि अन्तत: जहाज पुन: बैंकक फिर्ता लगे । बैंकक एयरपोर्टमा इन्टरनेटको कनेक्सन पाउनासाथ हामी दुवै आ–आफ्नो फोनमा इमेल हेर्न थाल्यौं । जहाँ हाम्रै हालखबरबारे जानकारी लिन अत्यन्त आतुर हुनेमा तिनै जापानीहरू थिए, एक दिनअगाडि मात्र चिनजान भएका त्यहाँका पत्रकार र रेस्टुरेन्टमा प्लेन चढ्नुअगाडि साधारण चिनजान भएकाहरू (हामीले आफ्नो बिजनेस कार्ड दिएका थियौं) । पछिसम्म तीमध्ये एक जनाले मलाई इमेलमा हाम्रो अवस्था सोध्दै कस्तो खाले सहयोग गर्न सकिन्छ भन्ने जिज्ञासा राखिरहे । जीवा लेख्छन्, ‘मैले थाहा पाएका जापानीहरूका विशेषता थुप्रै रहेछन् । गोरा, होचा, चिम्सा आँखा भएका, विनम्र, विनम्रशील र शालीन व्यक्तित्वका धनी, असाध्यै सहयोगी, झुकेर मात्र कुरा गर्ने तर व्यवहारमा चाम्रा, आफ्नो कुरा हतपत नखोल्ने, बाहिरबाट हेर्दा सोझाजस्ता तर मनका उत्पात बाठा ।’ 
पुस्तकमा कतिपय ठाउँमा कुनै सहर र सभ्यताको तुलनात्मक हिसाबले सरसर्ती वर्णन गरेपछि लेखकले संक्षिप्त रूपमा सूक्ष्म दृष्टिले माथिका जस्ता मानवीय क्षमता पनि उजागर गरेका छन् । लेखकको विशेष दख्खलचाहिँ उनले लामो समय विताएका युरोप, त्यसमा पनि खास गरेर पूर्वी युरोप र तत्कालीन सोभियत संघको नियात्रामा देखिन्छ— ‘अस्थिरताको बादलमा युक्रेन’ मा । रुस र युक्रेनका जनताबीचको अत्यन्त अप्ठयारो सम्बन्ध, युक्रेनी प्रशासनमा हुने गरेको पदको दुरुपयोग र नेपाली कर्मचारीतन्त्रमा जस्तै देखिने नांगो भ्रष्टाचारलाई उनले उजागर गरेका छन् । युक्रेन यात्राको क्रममा उनले भोगेका अप्ठयारा सायद नेपाली पासपोर्टमा यात्रा गर्ने हामी सबैले कुनै न कुनै समयमा भोगेकै हौं, खास गरेर अध्यागमनको समयमा ।
‘देश टुक्रिँदाको दुर्दशा’ सोभियत संघको पन्ध्रवटा गणराज्यमध्ये सबैभन्दा पिछडिएको ताजकिस्तानबारेमा हो । १९८० को दशकमा सोभियत संघ पेरेस्त्रोइका र ग्लास्तनोस्तको असरमा वा अवसरमा आइसकेको थियो । र, संघको विखण्डनको दरार पनि सुरु भइसकेको थियो । रुसी जातिको प्रभाव विभिन्न गणराज्यमा घट्दो थियो भने उनीहरू रुस फर्कने क्रम बढ्दो । सोभियत संघका पूर्वी गणराज्यमा पनि विखण्डनपछि जातीय दंगा र गृहयुद्ध भएका हुन् । जीवा लख्छन्, ‘तर सबैभन्दा बढी चपेटामा परेको गणराज्य भने ताजिकिस्तान नै हो ।’ युरोपको सेरोफेरो पढ्ने क्रममा नै एउटा कुरा पनि थाहा भयो— जीबाको प्रथम पुँजी संकलनको रहस्य । उनी खुला अर्थतन्त्र अँगालेको तत्कालीन पश्चिम जर्मनीबाट सामान ल्याएर विदेशी सामग्रीका भोका रुसीहरूलाई बेच्थे । 
आफ्नो वर्तमान सफलता र विश्व दर्शनको ठूलो श्रेय खुलेर रुस र सोभियत संघलाई दिएका छन् उनले । 
जीवाले ३५ वर्षयता अनुशासित रूपले जेहनदार विद्यार्थीले जस्तै डायरी राखेका छन् । यिनको भाषामा राम्रो पकड छ । नयाँ कुरा सिक्ने, बुझ्ने जिज्ञासु स्वभाव पनि उत्तिकै देखिन्छ यिनमा । एउटा सफल नियात्रा लेखकका लागि यो आफैंमा ठूलो गुण हो । यिनै आधारमा विश्वास गर्न सकिन्छ, आउने दिनमा जीवाजीले रुसका प्रसंग सँगालेर अझ परिस्कृत नियात्रा निकाल्नेछन् ।

सरसर्ती संसार
विधा : नियात्रा
लेखक : जीवा लामिछाने
प्रकाशक : नेपालय
मूल्य : २५०/–

अखिलेश उपाध्याय पत्रकार हुन् । 30 years of progressive editorial experience, including serving as Editor-in Chief for Nepal’s leading English-language newspaper The Kathmandu Post for 10 years. Written and lectured extensively on domestic politics, South Asian regionalism, and the rise of China and India. Wrote for major international publications, including The New York Times, Indian Express, The Hindustan Times and Outlook.

Link copied successfully