साउनमा घाँस र वनस्पतिको हरियो रङमा हल्का अँध्यारोजस्तो रङ मिसिएको हुन्छ । हावा गह्रौं र तरल । हावामा पानीका कण मिसिएर उडिरहेका हुन्छन् ।
साउनमा घाँस र वनस्पतिको हरियो रङमा हल्का अँध्यारोजस्तो रङ मिसिएको हुन्छ । हावा गह्रौं र तरल । हावामा पानीका कण मिसिएर उडिरहेका हुन्छन् ।
त्यति बेला म नौ वर्षको थिएँ ।
यसै महिना राखी बाँधिन्छ । श्रावण पूर्णिमा (कजरी पूनम) हुन्छ । नागपञ्चमीमा गोबरका सातवटा नाग बनाइन्छ । दुनामा दूध र खट्टेको लड्डु राखेर हामी सर्पका काँचुली खोज्न जान्थ्यौं । हरियरी औंसी (श्रावण औंसी) पनि यसै महिना पर्छ । म अग्ला–अग्ला बाँस ल्याएर तिनलाई खुट्टा टेकेर हिँड्न मिल्ने बनाउँथें र तिनमा चढेर अग्लो भएर हिँड्थें । त्यस बेला मेरो उचाइ बाह्र फुट जति हुन्थ्यो होला ।
आमाको कोठा घरको दक्षिणपट्टि थियो । बम्बईको टाटा मेमोरियल अस्पतालबाट उहाँलाई ल्याइएको थियो । आमाले केही खानु हुन्थेन, खालि अनारको रस मात्रै पिउनुहुन्थ्यो । बोल्न पर्दा उहाँ आफ्नो घाँटीमा डाक्टरले बनाएको प्वालमा औंला राख्नुहुन्थ्यो । त्यहाँ एउटा पाइप (टयुब) लगाइएको थियो । त्यसैबाट उहाँ सास फेर्नुहुन्थ्यो । उहाँको आवाज निकै मधुरो, चिसो र कमजोर हुन्थ्यो । कुनै यन्त्रको जस्तो आवाज । मानौं, कोठाभित्र मधुरो आवाजमा रेडियो बजिरहेको छ र बाहिर मेघ गर्जनसहित साह्रै ठूलो पानी परिरहेको छ, बिजुली चम्किइरहेको छ । अथवा, कुनै दुई स्टेसनबीच समय कतै अड्किएजस्तो !
बोल्दाखेरि आमालाई पीडा हुन्थ्यो । यसैले उहाँ कम बोल्नुहुन्थ्यो । त्यो यन्त्रको जस्तो आवाजमा हामी आमाको पुरानो बोली खोज्ने प्रयास गथ्र्यौं । कहिलेकाहीँ हामी आमाको पहिलेको आवाजको अंश भेट्टाउँथ्यौं पनि । त्यस बेला हामी आमालाई भेट्थ्यौं, जुन आमा हाम्रो स–सानो स्मृतिमा हुनुहुन्थ्यो ।
तर, आमालाई सुन्न भने सबै चीज मन लाग्थ्यो । सबै कुरा । जब हामी बोल्थ्यौं, झगडा गथ्र्यौं, कराउँथ्यौं वा कसैलाई बोलाउँथ्यौं, आमा निकै व्यग्र भएर हाम्रो आवाज सुन्नुहुन्थ्यो । सायद, हाम्रा शब्दले उहाँलाई सन्तोष दिन्थे ।
उहाँको आँखा मात्रै यस्तो चीज थियो, जसलाई हेर्दा मलाई लाग्थ्यो, आमा कहीँ जानुहुने छैन (मेरो पूरा जीवनभर उहाँ यहीँ रहनुहुनेछ) । म सधैंका लागि उहाँको उपस्थिति चाहन्थें । चाहे त्यो उपस्थिति कुनै चित्र वा मूर्तिको जस्तो किन नहोस् । शब्दहीन, आवाजहीन भए पनि फरक पर्थेन । तर, म चाहन्थें त्यो उपस्थितिमा उहाँ जिउँदै भएको विश्वास होस् ।
म कहिलेकाहीँ साह्रै डराउँथें र रुन्थें पनि । आफ्नो जीवनमा अचानक म एउटा रिक्तता देख्थें (एकदम खाली ठाउँ) । त्यो साह्रै डरलाग्दो हुन्थ्यो । त्यस दिन आमाले मलाई बोलाउनुभयो । बाहिर चउरको घाँस गाढा हरियो थियो । आकाशमा बादल मडारिरहेको थियो । हावा गह्रुँगोजस्तो लाग्थ्यो । त्यो पानीका कणले भिजेको हावा थियो ।
आमाले मेराअगाडि आफ्नो मुठी खोलेर हात फैलाउनुभयो । उहाँको दाहिने हातको साइँली औंलाको नङ एकापट्टि भाँच्चिएर खुँडे भएको थियो । यसले उहाँलाई सकस भइरहेको थियो ।
देख्नेबित्तिकै मैले आमाको कुरा बुझें । नेलकटर ल्याएर आमाको पलङमुनि भुइँमा बसें । नेलकटरमा भएको रेतीले घोटेर उहाँको त्यो नङलाई बराबर बनाउनुपर्ने थियो । मैले यो काम गरिदेओस् भन्ने आमा चाहनुहुन्थ्यो । त्यो नेलकटर बुबाले दुई वर्षपहिले कुम्भमेलाबाट फर्किने बेला इलाहावादबाट ल्याउनुभएको थियो । नेलकटरमा एउटा नीलो काँचको सानो सितार झुन्डिएको थियो ।
आमाका औंला साह्रै साना भएका थिए । कत्ति पनि रगत नभएजस्ता । छाला पनि पहेंलिएको थियो । चङ्गाको कागजजस्तो, पातलो । पहेंलो पनि होइन, फुर्सो । एकदम चिसो औंला । यस्तो चिसोपना, जुन कुर्सी, मेच, ढोका वा साइकलको हयान्डलजस्ता निर्जीव चीजमा हुन्छ ।
उहाँको हात यति हलुङ्गो कसरी हुन सक्छ ? हातको सारा वजन कहाँ गयो ? त्यो भार नै सायद जीवन हुन्छ होला, जसलाई पृथ्वीले आफ्नो चुम्बकद्वारा आफूतर्फ तान्ने गर्छ । यो जीवन आमासँग निकै कम मात्र बाँकी थियो किनभने पृथ्वीले उहाँलाई तान्न बिस्तारै छोडिरहेको थियो ।
उहाँको हात मेरो हातमा थियो । म बिस्तारै नेलकटरको रेतीले उहाँको नङ घोटिरहेको थिएँ । म उहाँका नङलाई निकै सुन्दर, ताजा र चम्किलो बनाउन चाहन्थें ।
नङ मिलाउँदा मिलाउँदै म एक पटक हाँसें । त्यसपछि मुस्कुराइरहें । आमालाई ढाडस दिने र उहाँलाई खुसी बनाउने यो मेरो आफ्नै तरिका थियो । नङ मिलाउँदै मैले आमालाई हेरें । रेतीले बिस्तारै नङ घोटिरहँदा उहाँले बडो आनन्द मानिरहनु भएको थियो । उहाँको अनुहारमा त्यो आनन्दको रङ पोतिएको थियो । त्यो आनन्द एक ठाउँमा मात्र होइन, शरीरभरि फैलिएको थियो । उहाँका आँखा बन्द थिए ।
मलाई पूरा एक घन्टा लाग्यो । तर, मैले एउटा मात्र होइन, सबै औंलाका नङ सुन्दर बनाइदिएँ । आमाले आफ्ना औंलाहरू हेर्नुभयो । त्यो कति कमजोर र हारको क्षण होला, जब तपाईंलाई नङले जीवनको विश्वास दिन्छन् । नङहरू सुन्दर र चिल्ला भएका थिए ।
आमाले मेरो कपाल मुसार्नुभयो । उहाँ केही बोल्न चाहनुहुन्थ्यो तर मैले उहाँलाई रोकें । बोल्न पाएदेखि उहाँले सोध्नुहुने थियो— मैले टाउको किन ननुहाएको ? कपालमा साबुन किन नलगाएको ? टाउकोमा यति धेरै धूलो किन छ ? कपाल किन नकोरेको ?
रात चिसो थियो । बाहिर ठूलो पानी परिरहेको थियो । साउनको नि:शब्द रातमा माथिमाथि आकाशबाट झरेको पानीको स्वर बेग्लै हुन्छ । एउटा गम्भीर आवाज । यस्तो आवाज मानौं, संसारको सबै हावा एउटा ठूलो भाँडोभित्र एकोहोरो घुमिरहेको छ । सबैतिरबाट बन्द भाँडोभित्र !
बिहान पाँच बजे । आँगनमा पाँच जना आइमाई रोइरहेका थिए । यो रुवाइ थिएन, विलाप थियो । मैले थाहा पाएँ, आमा राति निद्रामा नै समाप्त हुनुभयो ।
आमा सिद्धिनुभयो ।
मैले फेरि कहिल्यै उहाँका घोटिएका नङ देखिनँ ।
मैले त्यस रात सुत्नुभन्दा अघि मेरो सिरानीमुनि नेलकटर राखेको थिएँ । मैले त्यो नेलकटरलाई निकै खोजें । आजसम्म खोजिरहेको छु । कैयौं वर्षपछि पनि । तर, त्यो आज पनि भेटिएको छैन । थाहा छैन, त्यो कहाँ हरायो ।
हुन सक्छ, त्यो सजिलै भेट्न सकिने नजिकैको ठाउँमा राखिएको होला । तर, मैले बिर्सिएका कारण नभेटिएको हुन सक्छ । म अक्सर त्यसको खोजमा लाग्छु ।
किनभने, चीजहरू कहिल्यै हराउँदैनन् । ती त्यहीँ रहन्छन्, आफ्नो पूरा अस्तित्व र वजनका साथ । खालि हामी तिनका ठाउँ मात्र बिर्सिन्छौं ।
उदय प्रकाश
(शनिबार सार्वजनिक हुने उदय प्रकाशका कथाहरूको संग्रह ‘नेलकटर’ बाट यो कथा लिइएको हो । यी कथाहरूको नेपाली अनुवाद यज्ञशले गरेका हुन् ।)
