छोरीलाई पत्र

माघ ८, २०७३

प्रिय छोरी !

हीरामणि दु:खी

मैले तिमीलाई झुपडीबाट उठाएर
सहरको रमझममा डुलाउन सकिन
तिम्रोलागि सहरमा एउटा 
रङ्गीन महल जोड्न पनि सकिनँ
मैले तिमीलाई चराजस्तै उडाएर
अर्को मुलुक कस्तो रहेछ
त्यो पनि देखाउन सकिनँ
र, तिम्रालागि मुलुकबाट एउटा
सामसुङको आइप्याड 
उपहार ल्याउन पनि सकिनँ ।


माफी देऊ है मलाई
मैले तिमीलाई कोटामा 
विदेश पढाउन सकिनँ
जाबो एउटा बलेरोमा 
तिम्री आमासागै सपिङ गर्ने
रहर पनि त थियो होला 
मैले तिमीलाई गेटमा तैनाथ
पहरेदारहरुको सलामी खाँदै 
सिँहदरबार छिर्ने 
आफ्नो सचिव बनाउनै सकिनँ ।

तिमीले ठानेकी थियौ होला
मेरा बाबा पनि त
यो देशको एउटा 
नेता हुनुहुन्छ
मेरो बाबाले पनि झन्डा हल्लाउँदै
कार्गेटका बीचमा बसेर
सहरमा कुद्नुहुनेछ 
हो, म तिमीले ठानेको जस्तो 
नेता हुन पनि सकिनँ
नेता हुने रहर जाग्नु पनि त पर्दो हो छोरी
मलाई कहिल्यै जागेन त्यस्तो रहर
नेता हुन त
मुखमा ताल्चा लगाउनुपर्दो रहेछ
निहुँरिँदै हेडक्वार्टर धाउनुपर्दो रहेछ
नजराना चढाउने कसम खानुपर्दोरहेछ
कर्पोरेट हाउसका कारिन्दासँग
दोस्ती बढाउनुपर्दो रहेछ
झोलामा विकास बोकी हिँड्ने
विकासे व्यापारीहरुका फाइल 
सदर गराइदिनुपर्दो रहेछ
र, प्राप्त कोसेली 
हेडक्वार्टरसम्म पुर्‍याउनुपर्दो रहेछ
त्यसैमा उसको
क्षमता नापिँदो रहेछ
म फेल भएा छोरी 
फेल ।

मैले जुठे कामीसँग 
उसको छोरो मागेको थिएँ
विधवा सुन्तली दमिनीसँग 
उसकी छोरी मागेको थिएँ
नन्दकली पुनसँग 
उसको लोग्ने मागेको थिएँ
र, जिम्दारको खेत जोत्दै गरेको
बुझौना थारुलाई बन्दुक बोकाएको थिएँ
मैले माटोको कसम खाएर भनेको थिएँ
ती सबै सबैलाई–
‘म तिमीहरुका पसिनाको मोल दिलाउनेछु
म तिमीहरुलाई एउटा ‘स्वर्ग’ दिलाउनेछु’
त्यो पनि सकिनँ छोरी सकिनँ
म अझै त्यही सपना
बोकेर निरन्तर
यात्रामै छु छोरी 
अर्को यात्रामा ।

Link copied successfully