गोहीको आँसु

गोविन्द पोखरेल

सप्तरीमा चरिरहेका बाख्रालाई दिनहुँजसो गोहीले मारेर खान थाल्यो  । ८/१० वटा बाख्रा गोहीको सिकार बनेपछि आतंक फैलियो । कोसी नदीको पूर्वी तटबन्धन नजिकैको माछापोखरीमा अचानक दुइटा गोही आएर बसेका रहेछन् । र, ती गोहीले जमिनमै आएर बाख्रा आक्रमण गर्न थालेका थिए ।

कोसी टप्पुका कर्मचारी र प्रशासनको सहयोगमा एउटा गोहीलाई केही दिनअघि नियन्त्रणमा लिइएको छ । अर्को गोही अचेल पोखरीमा छैन, कहाँ गयो, पत्तो छैन ।

वास्तवमा गोही कस्तो जीव हो ? यसले किन आक्रमण गर्छ ? कस्ता हुन्छन् यसका आनीबानी ? नेपालमा कस्ता–कस्ता गोही छन् ? विश्वभर कति प्रजातिका छन् ? गोहीका विशेषता के हुन् ? किन भनिन्छ ‘गोहीको आँसु’ ? यस्तै जिज्ञासाहरू मेट्न कोपिलाको यो अंकमा गोहीबारे चर्चा गर्दै छौं ।

गोही महाप्रलयबाट बाँचेको जीव हो । उक्त महाप्रलयमा डाइनोसोरको अस्तित्व सकिएको थियो । यिनीहरू डाइनोसोरभन्दा अघिदेखि नै पृथ्वीमा उत्पत्ति भएका जीव हुन् ।

वैज्ञानिकहरूका अनुसार २५० मिलियन वर्षअघि गोही देखा परेका थिए । परापूर्व कालका गोही अहिलेका भन्दै धेरै ठूला थिए ।
गोहीको पेटमा अम्लीयपन अत्यधिक हुन्छ । सग्लै खाएका जीवलाई पचाउन अम्लले मद्दत गर्छ । जनावरका हड्डी र सिङहरू पेटमा भएको अम्लले गलाइदिन्छ ।

गोहीले राति देख्न सक्छ । यिनीहरूको रक्तसञ्चार प्रणाली विशिष्ट प्रकृतिको हुन्छ । अवाश्यकताअनुसार मुटुले रक्तसञ्चार हुने बाटोलाई परिवर्तन गर्न सक्छ । गोही सास नफेरीकन एक घण्टासम्म पानीभित्रै बस्न सक्छ । मुटुमा चार खण्ड हुने, अन्डालाई गुँडमा राख्ने र बच्चालाई धेरै नै स्याहार गर्नेजस्ता गुणका कारण वैज्ञानिकले गोहीका केही विशेषता चरासँग मिल्ने भनेर तुलना गरेका छन् ।

गोही एक सरिसृप जीव हो । यो ‘क्रोकोडिलिया अर्डर’ मा वर्गीकरण गरेर राखिएको मांसाहारी जीव हो । मुख्यतः नुनिलो पानीमा पाइने गोही (क्रोकोडाइलस पोरोसेस), मगर गोही (क्रोकोडाइलस पालुस्ट्रिस) र घडियाल (गाभियालिस गांगटिक्स) गरी तीन वर्गमा वर्गीकरण गरिएको छ । यी तीन वर्गअन्तर्गत पनि २३ विभिन्न उपप्रजाति छन् ।

विश्वका ९१ मुलुकमा मात्र गोही छन् । पृथ्वीको गर्मी क्षेत्रमा पाइने यो जीव धेरै चिसो हावापानीमा बाँच्न सक्दैन । यसको शरीरको औसत तापक्रम ३० देखि ३३ डिग्री हुन्छ । यिनको पसिना ग्रन्थी हुँदैन । शरीरको तापक्रम औसत बनाउन मुख खुला राख्छन् ।यिनीहरू उभयचरजस्तो भए पनि जीवनको अधिकांश समय पानीमै बिताउँछन् । भाले र पोथीबीचको प्रजनन् प्रक्रिया पनि पानीभित्रै हुन्छ । भाले गोही पोथीभन्दा केही ठूला हुन्छन् । पूर्वी भारतमा पाइने ‘साल्ट वाटर’ गोही विश्वकै ठूला हुन् भने अफ्रिकामा पाइनेहरू साना गोही हुन् ।

दाँत ४ हजारवटा सम्म
गोही धेरै दाँत भएको जीवका रूपमा चिनिन्छ । औसतमा ८० देखि १०० वटासम्म दाँत हुन्छन् । यिनीहरूको दाँत झर्दै ५० पटकसम्म पलाउने गरेको अध्ययनले देखाएको छ । यिनीहरूको जीवनकालमा ४ हजारवटासम्म दाँत पलाएर झरेका हुन्छन् । एलिगेटरको दाँत बाहिर देखिँदैन । घडियाल र मगर गोहीको दाँत सजिलै देखिन्छ । तीखा र बलिया हुने भएकाले गोहीले कुनै जीवलाई टोकेपछि छाड्ने सम्भावना कम हुन्छ । केही प्रजातिका गोहीको दाँतमा अड्किएका खाना तथा मासु चराले खाइदिन्छन् । ‘इजिप्टियन प्लोभर’ चराहरू गोहीको मुखमा पसेर दाँतमा अड्किएका कुरा खाएर दाँत सफा गरिदिन्छन् । यी चरालाई ‘क्रोकोडाइलियन बर्डस्’ समेत भनिन्छ ।

७० वर्षसम्म बाँच्छन्
गोहीले आफ्नो आहारका लागि अन्य जीवलाई धरापमा पारेर/झुक्याएर आक्रमण गर्छ । आहार प्रजातिलाई ‘एम्बुस’ मा पार्ने भएकाले गोहीलाई ‘एम्बुस प्रिडेटर्स’ पनि भनिन्छ । सफा पानीमा पाइने घडियाल गोहीले माछा मात्र खान्छन् । नुनिलो पानीमा पाइने र नाइल नदीका गोहीले माछाबाहेक अन्य ठूला जीव पनि खान्छन् । गोहीमा धेरै समयसम्म केही नखाए पनि बाँच्न सक्ने अर्थात् भोक खप्ने क्षमता हुन्छ । एक घण्टामा १७ किमि हिँड्न सक्ने गोहीको औसत आयु ३० देखि ४० वर्ष भए पनि कतिपय गोही ७० वर्षसम्म बाँचेका तथ्य छन् । यिनीहरू १३ फिटसम्म लामो भएको रेकर्ड छ । तौल हजार केजीसम्म हुन्छ । आँखा र नाक शरीरको माथिल्लो भागमा हुन्छ । आँखा र नाक यसरी विकसित भएको हुन्छ कि पानीमा डुब्दा आँखा र नाक मात्र बाहिर निकाल्नसमेत मिल्छ ।
गोहीको जमिन र पानी दुवै स्थानमा सुन्ने सक्ने क्षमता हुन्छ । यिनीहरूमा सुँघ्ने क्षमता पनि उच्च हुन्छ । केही प्रजाति सुत्दा मुख खोलेर बस्छन् । कतिपय प्रजातिमा भने यस्तो हुँदैन ।

कहाँ कस्ता गोही ?
एलिगेटर्स गोही विशेष गरेर अमेरिका र चीनमा पाइन्छन् । यिनीहरूको थुतुनो ‘यु’ आकारको हुन्छ । यी सफा पानीमा बस्छन् । एलिगटर्सभित्र चिनियाँ र अमेरिकी गरेर दुई उपप्रजाति छन् । घडियाल नेपाल र भारतमा मात्र पाइन्छ । यिनीहरूको थुतुनो लामो र साँघुरो हुन्छ ।

साइमन उपप्रजातिको गोही मध्य र दक्षिण अमेरिकामा पाइन्छन् । यिनीहरू एमाजोन नदीको तटीय क्षेत्रमा देखिन्छन् । मगर गोहीलाई पौडीबाजका रूपमा लिइन्छ । यिनीहरू राम्रोसँग पौडन सक्छन् । यिनको लम्बाइ चार मिटरसम्मको हुन्छ । नुनिलो पानीमा बस्ने गोहीहरू भारत, श्रीलंका, थाइल्यान्ड, म्यान्मारलगायत देशमा पाइन्छन् ।अमेरिकन गोहीहरू क्यारेबियन र दक्षिण फ्लोरिडामा छन् । मध्य र पश्चिमी अफ्रिकामा स्लेन्डर गोही पाइन्छन् ।

कोलम्बिया र भेनेजुएलामा पाइने ओरिनोको गोही हुन् । यिनीहरू लोपन्मुख छन् । मेक्सिकोमा मोरलेटस् उपप्रजाति पाइन्छन् । क्युबाका द्वीपमा क्युबान गोही पाइन्छन् । यिनीहरू पनि लोपोन्मुख छन् । अफ्रिकाको साहारा क्षेत्र र आसपासमा नाइल गोही बस्छन् । यिनीहरू पनि सफा पानीमा बस्न रुचाउँछन् । इन्डोनेसियामा सियामेस छन् भने पश्चिमी अफ्रिकामा पुड्को गोही (ड्वार्फ) छन् । पपुवा न्यु गिनियामा गिनिया उपप्रजाति गोही पाइन्छन् ।

बच्चालाई अत्यधिक माया
गोहीका भाले पोथीको समागम प्रक्रिया पानीमै हुन्छ । पोथीले वर्षमा एकपटक तर सय वटासम्म अन्डा पार्छ । गोहीले कोरलेका सबै बच्चा बाँच्न सक्दैनन् । यिनीहरूमा बाल मृत्युदर अत्यधिक हुन्छ । ३० प्रतिशत मात्र बच्न सक्छन् । अन्डाको तापक्रमबाट भाले र पोथी छुटिन्छ । २८ देखि ३१ डिग्रीमा कोरलिने अन्डाबाट १०० दिनमा पोथी निस्कन्छे भने ३२.५ डिग्रीमाथि कोरलिनेमा अन्डामा ६४ दिनमा भाले निस्कन्छ । यस्तो अवस्थाको लिंग निर्धारण प्रक्रियालाई टेम्पेचर डिपेन्डेट सेक्स फ्याक्टर (टीडीएस) भनिन्छ ।
बच्चा कोरलेपछि आमाले मुखभित्र ती बच्चालाई राखेर रेखदेख गर्छ ।

नेपालमा कस्ता गोही छन् ?
नेपालमा मगर र घडियाल गोही मात्र पाइन्छन् । मगर गोही विभिन्न खोलानदी, ताल र सीमसार क्षेत्रमा छन् भने घडियाल गोही नारायाणी, राप्ती र कर्णाली नदीमा पाइन्छन् । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत एवं कसरास्थित घडियाल गोही प्रजनन् केन्द्रका वेदकुमार खड्काका अनुसार कोसीमा छाडिएका घडियाल गोही देखिन छाडेका छन् । सन् २०१६ मा गणना गर्दा नेपालमा १९८ घडियाल र ६७७ मगर गोही भेटिएका थिए । गतवर्ष चितवनको नारायणी र राप्तीमा गणना गर्दा २१९ घडियाल गोही पाइएका थिए । गणना गर्दा पानीबाहिर देखिएका गोहीलाई मात्र गन्ने गरिन्छ ।

घट्दै छन् गोही
‘प्रिहिस्टोरिक जीव’ गोहीको संख्या पछिल्लो समय घट्दै गइरहेको छ । क्विन्सल्यान्ड विश्वविद्यालयका प्राध्यापक एवं बायोलोजी एन्ड इभोलुसन अफ क्रोकाडालिएन्स किताबका लेखक गोर्डोन ग्रिगका अनुसार भूउपयोगमा आएका परिवर्तन र प्रदूषणका कारण संसारबाट गोही हराउँदै गइरहेका छन् । प्राकृति बासस्थान प्रभावित, जाल हान्ने प्रवृत्ति, आहारको कमी आदि कारणले गोही संकटमा परेका हुन् । छालाबाट विभिन्न प्रकारका ब्याग, बेल्ट तथा अन्य सामान बनाउनका लागि समेत गोहीको चोरीसिकारी बढेको छ ।

कसरी आउँछ गोहीको आँसु?

बिनाकुनै मानवीय संवेदना र नाटकीय ढंगले निकालिने आँसुलाई गोहीको आँसु भन्दै आलोचना गरिन्छ । सर्वप्रथम गोहीको आँसुबारे १५औँ शताब्दीमा प्रकाशित भएको एउटा किताबमा उल्लेख थियो । ‘द भोएज एन्ड ट्राभल अफ सर जोन मेनडिभाइल’ नामक उक्त पुस्तकमा गोहीले रुँदै खाने गरेको उल्लेख थियो । त्यसपछि पनि विभिन्न अनुसन्धान भएका छन् । बोगोरार्ड नाम गरेका एक रूसी न्युरोप्याथालोजिस्टले गोहीको आँसु नक्कली रहेको तथ्य १९२६ मा विश्वसामु उजागर गरेका थिए । गोहीले खाने क्रममा सालिभा निस्कन्छ । जसका कारण सालिभा मिसडाइरेक्ट हुन्छ अनि आँसु ग्रन्थी सक्रिय हुन्छ र झर्छ । यो तथ्यलाई ‘बोगोरार्ड सिन्ड्रोम’ भन्ने गरिएको छ । गोहीका अनावश्यक लवण आँसु ग्रन्थी हुँदै आँखाबाट निस्कने गरेको तथ्य पनि अध्ययनहरू आएका छन् ।

(एजेन्सीको सहयोगमा)

प्रकाशित : भाद्र ८, २०७६ ११:२७
प्रतिक्रिया
पठाउनुहोस्

नाष्टले ल्यायो 'ब्रेन पुलिङ' कार्यक्रम

गोविन्द पोखरेल

काठमाडौँ — विदेशमा रहेर विज्ञान तथा प्रविधि क्षेत्रमा हासिल गरेको सफलता, विशिष्ट कार्य अनुभव भएकाहरुलाई लक्षित गरेर नेपाल विज्ञान तथा प्रविधि प्राज्ञ प्रतिष्ठान(नाष्ट)ले ‘ब्रेन पुलिङ नेपाल’ कार्यक्रम सञ्चालनमा ल्याएको छ । ‘फर्क है फर्क वैज्ञानिक तिमीलाई डाक्छ नेपाल’ कार्यक्रम असफल भएपछि त्यसलाई परिमार्जन गर्दै नाष्टले ब्रेन पुलिङ कार्यक्रम ल्याएको हो । 

मुलुकको विज्ञान तथा प्रविधिको विकासमा योगदान पुर्‍याउने अवसर सिर्जना गर्न कार्यक्रम ल्याइएको नाष्टले जनाएको छ। यो कार्यक्रममा गैरआवासीय नेपालीहरुले पनि सहभागिता जनाउन पाउनेछन्। नाष्टले चालू आर्थिक वर्षका लागि बिहीबार सूचना प्रकाशित गरेर इच्छुकहरुलाई अनुसन्धान अवधारणा पत्र पेस गर्न आहृवान गरेको छ।

चालू आर्थिक वर्षका लागि नाष्टले सूचना प्रविधि, नानोटेक्नोलोजी, ऊर्जा, भूकम्प पूर्व–सूचना र स्मार्ट सिटीजस्ता विषयलाई प्राथमिकतामा राखिएको जनाएको छ। यस कार्यक्रमअन्तर्गत स्वदेश वा विदेशमा कार्यरत विशिष्ट प्रतिभाका नेपाली तथा गैरआवसीय नेपालीले विज्ञान प्रविधिका विभिन्न विधाहरूमा आफ्नो ज्ञान र सीपका माध्यमबाट राष्ट्रलाई यथासक्य योगदान पुर्‍याउन सक्ने नाष्टले जनाएको छ।

युवा वैज्ञानिकहरु कामको सिलसिलामा विदेशमा रहे पनि मुलुकको विकासमा योगदान दिन चाहने दक्ष जनशक्तिलाई देशमा भित्र्याउने वातवरण सिर्जना गर्ने नाष्टका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठले कान्तिपुरलाई बताए। उनका अनुसार यही कार्यक्रममार्फत विज्ञान तथा प्रविधि क्षेत्रमा कार्यरत नेपालीहरुको डाटावेस समेत बनाउने अपेक्षा लिइएको श्रेष्ठले जानकारी दिए।

‘‘फर्क है फर्क वैज्ञानिक तिमीलाई डाक्छ नेपाल’ कार्यक्रमभन्दा यो कार्यक्रम केही परिमार्जित एवं व्यवाहारिक हुने उपकूलपति श्रेष्ठको भनाइ छ। उनका अनुसार कार्यक्रममा अनुसन्धानकर्ताले अवधारणापत्र पेस गर्दा सुरुआतमै विषय छनोट गर्न सक्ने र बजेट पनि स्पष्ट खुलाइएको छ।

यस्तै, नाष्टले ‘नाष्ट इमिनेन्ट फेलो’ पनि ल्याएको छ। यसअन्तर्गत विज्ञान तथा प्रविधि क्षेत्रमा काम गर्ने नेपाली वा गैरआवसीय नेपालीले हासिल गरेका सफलता र कार्य अनुभवको आधार तथा नास्टसितको सहकार्यमा विज्ञान तथा प्रविधिको क्षेत्रमा पुर्‍याउन सक्ने योगदानदेखि प्रविधि हस्तान्तरणसम्मको कार्य गर्न सक्ने उल्लेख छ। विश्वको कुनै पनि विश्वविद्यालय वा संस्थामा काम गरिरहेकाहरु नाष्टको इमिनेन्ट फेलो भएर काम गर्न सक्ने उपकुलपति श्रेष्ठको भनाइछ।

४० वर्ष ननाघेका स्वदेश वा विदेशमा कार्यरत नेपालीलाई लक्षित गरी ‘नाष्ट एसोसिएट फेलो’ पनि यही कार्यक्रममार्फत ल्याइएको छ।

प्रकाशित : भाद्र ७, २०७६ २१:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्