तीन दिनपछि खुल्यो रिजिगार्ड खोलाको अवरोध

वर्षायाम जारी रहेकाले नदी तथा खोलामा जलस्तर बढेर बढ्ने हुँदा सतर्कता अपनाएर यात्रा गर्न आयोजना कार्यालयले आग्रह गरेको छ।

श्रावण १०, २०८३

रामचन्द्र न्यौपाने

डोल्पा — पश्चिम रुकुमको गोतामकोटस्थित रिजिगार्ड खोलामा जलस्तर बढेर अवरुद्ध बनेको डाेल्पा जाेड्ने भेरी करिडोर सडक खुलाइएको छ। सडक खुलेसँगै डोल्पा आवतजावत गर्ने सवारीसाधन पुनः सञ्चालनमा आएका छन्।

लगातारको वर्षापछि खोलामा पानीको बहाव बढ्दा जडान गरिएको ह्युमपाइप बगेर बिहीबारदेखि सडक अवरुद्ध भएको थियो। भेरी करिडोर आयोजना कार्यालयले निरन्तर रूपमा एक्स्काभेटर परिचालन गरी अवरुद्ध सडक खुलाएको हो।

भेरी करिडोर आयोजना कार्यालयका सूचना अधिकारी गिरिश नन्दन काेरसले लगातारको प्रयासपछि सडक सञ्चालनमा ल्याउन सफल भएको बताए। उनका अनुसार पानीको बहाव केही घटेपछि खोलामा अस्थायी बाटो निर्माण गरी सवारी आवागमन सहज बनाइएको हो।

सडक अवरुद्ध हुँदा डोल्पा जाने अधिकांश सवारीसाधन रिजिगार्ड खोलाको दुवै किनारमा रोकिएका थिए। 
यात्रुहरू बीचबाटै अलपत्र परेका थिए भने मालवाहक ट्रकसमेत रोकिँदा दैनिक उपभोग्य वस्तुको ढुवानी प्रभावित भएको थियो। सडक खुलेपछि अहिले सवारीसाधन नियमित रूपमा वारपार गर्न थालेका छन्। 

वर्षायाम अझै जारी रहेकाले नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले सतर्कता अपनाएर मात्रै यात्रा गर्न आयोजना कार्यालयले आग्रह गरेको छ।

करिडोरकाे बीचमा पर्ने साना खाेलाले बर्खाकाे समयमा धेरै दु:ख दिने गरेकाले पक्की पुल निर्माण पछिमात्रै दिगाे रुपमा समस्या समाधान हुने प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले बताइन् । उक्त करिडोरकाे बीच-बीचमा १३ वटा पक्की पुलकाे ठेक्का लागिसकेकाले केही वर्षभित्र पुल निर्माण भएर दिर्घकालीन समाधान हुने उनले बताइन् ।  

रामचन्द्र रामचन्द्र न्याैपाने कान्तिपुरका डाेल्पा संवाददाता हुन् ।

Link copied successfully