सिमेन्टको संरचना बनाएपछि सुक्यो शितलपोखरी

कमलका फूलले सजिने शितलपोखरीका संरचना सिमेन्ट लगाएर बनाएपछि सुक्खा भएको हो ।

श्रावण ९, २०८३

महेश केसी

After constructing the cement structure, Shitalpokhari dried up

रुकुम पश्चिम — मध्यपहाडी राजमार्ग र राप्ती लोकमार्ग भेटिने ठाउँमा पर्छ शितलपोखरी । मुसिकोट नगरपालिका ४ मा रहेको यो ठाउँमा यतिबेला सानो बजार बनेको छ भने यहाँको पोखरी भने यतिबेला नाम मात्रको भएको छ । तालले आफ्नो मौलिक स्वरुप र सुन्दरता गुमाएको छ । 

करिब १० वर्षअघि यहाँ चिटिक्कको पोखरी भएको बताउँदै स्थानीय सूर्य नेपालीले त्यो बेला यहाँ कमलका ढकमक्क फूल फुल्ने गरेको बताए । ‘तर यसलाई राम्रो बनाउने भनेर पानी हटाएर सिमेन्ट लगाएपछि कहिल्यै पानी जम्मा भएन,’ उनले भने, ‘सरकारले बनाउन त वरिपरी बस्ने ठाउँ पनि बनायो । तर पोखरी भने मासियो ।’ 
यतिबेला बीचमा एउटा मन्दिर र वरिपरी बस्न मिल्ने चौतारी पनि बनाइएको छ । तर पोखरीमा पानी नभएपछि यी संरचनाको खासै महत्व नभएको स्थानीयको भनाई छ । 

मुसिकोट–४ का वडाध्यक्ष निर्मलकुमार पुनले आफुहरु निर्वाचित भएपछि २०७४ मा नगरपालिकाले दुई पटकमा करिब १७ लाख लगानीमा पुन:निर्माणको काम गरेको बताए । ‘पहिलाको पोखरीलाई पुनःनिर्माण गर्ने योजना अनुसार काम थालिएको हो । धेरै काम भएको छ । अब नजिकैको पानाखाखोलाबाट पाईपमा पानी राख्ने काम भने बाँकी छ,’ उनले भने, ‘एक दशकमा पनि यो काम सम्पन्न नहुनु हामी सबैका लागि लज्जाको विषय हो । तर यो वर्षभित्र यसको पुनःनिर्माणको काम सक्ने हाम्रो योजना छ ।’ 

महेश केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

Link copied successfully