पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

पानी नरोकिएकोले पहिरो पन्छाएर सडक सञ्चालन गर्न नसकिएको जिल्ला ट्राफिक प्रहरी इन्चार्ज नन्दबहादुर विष्टले बताए ।

श्रावण ८, २०८३

तुलाराम पाण्डे

Landslide blocks Karnali Highway

कालिकोट — शुक्रबार दिनभरको वर्षाले कालिकोटको गगने खोलामा पहिरो जाँदा कर्णाली राजमार्ग सुर्खेत-जुम्ला खण्ड अवरुद्ध भएको छ । 

राजमार्ग शुक्रबार बेलुकी ५ बजेदेखि अवरुद्ध भएको हो । पानी नरोकिएकोले पहिरो पन्छाएर सडक सञ्चालन गर्न नसकिएको जिल्ला ट्राफिक प्रहरी इन्चार्ज नन्दबहादुर विष्टले बताए । 'पानी रोकिएपछि शनिबार बिहानैदेखि पहिरो हटाउने काम सुरु हुन्छ,' उनले भने । सडक अवरुद्ध भएपछि सुर्खेतबाट आएका गाडी खिड्की ज्युला रोकिएका छन् । जुम्ला, मुगु र कालिकोट तथा कर्णाली करिडोरको हुम्ला, बाजुरा, कालिकोटको रास्कोट भेगबाट आएका गाडी पनि रोकिएको उनले बताए । 

जुम्ला जान बिहान ६ बजे सुर्खेतबाट हिँडे पनि पहिरोले दैलेखको मालाचौर फर्किएर बास बस्नु परेको जुम्ला हिमा गाउँपालिका-३ का गणेश शाहीले बताए । 'दिउँसोदेखि यतै छौं,' उनले भने, 'खाना, नास्ता खाने ठाउँ पनि छैन, आपत पर्‍यो ।' उनले पहिरोस्थलमा सडक विभागको मेसिन भए पनि माथिबाट ढुंगा, माटो झरिरहेकाले काम गर्न कठिनाई भएको सुनाए ।

कालिकोटको शुभकालिका-१ मा पर्ने गगने खोलाको पहिरोले बर्सेनि सास्ती दिने गरेको छ । गत वर्ष पनि असारदेखि असोजसम्म ४३ पटक सोही ठाउँमा पहिरोले सडक अवरुद्ध भएको थियो । यस वर्ष असारयता ७ पटक पहिरोले सडक अवरुद्ध भइसकेको प्रहरीले जनायो । उक्त खोलामा पहिरो रोक्न दुई वर्षअघि सडक डिभिजन कार्यालय जुम्लाले ३ करोड रुपैयाँको ठेक्का लगाएर ग्यावीन वाल लगाए पनि गत वर्षको पहिरोले बगाएको थियो । 

तुलाराम पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully