रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी निशानराज गौतमले महोत्सवको विषयमा नगरपालिका र आयोजक कसैले पनि आधिकारिक रूपमा आफूलाई जानकारी नगराएको बताए ।
What you should know
रुकुम पश्चिम — रुकुम पश्चिमको जिल्ला सदरमुकाम मुसिकोटमा ‘व्यापारिक महोत्सव’ आयोजना गर्ने तयारी चलिरहेको छ । तर, एकातिर चलनचल्तीको र सुरक्षित खुला मैदानभन्दा टाढा, अपायक र असुरक्षित ठाउँमा कार्यक्रमको आयोजना गर्ने तयारी गरिँदै छ भने अर्कोतिर स्थानीय सरकारको स्पष्ट अनुमति पनि छैन ।
मुसिकोट–१ सल्लेस्थित विमानस्थल छेउमा रहेको निजी जग्गा भाडामा लिएर महोत्सवको आयोजना गर्ने तयारी भएको आफूलाई आयोजक दाबी गरिरहेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रुकुम पश्चिम शाखाले जनाएको छ । यहाँ महोत्सव गर्ने विषयमा मुसिकोट नगरपालिकाले कुनै पनि अनुमति नदिएको बताइरहेको छ ।
नगरपालिकाले ‘मुसिकोट नगरपालिका मेला महोत्सव व्यवस्थापन कार्यविधि–२०८३’ अनुसार लगातार तीनपल्ट सूचना निकालेको देखिन्छ । पहिलोपल्ट २०८३ वैशाख २३ गते निकालिएको सूचनामा ‘मुसिकोट–१ बराहटाकुरा खेल मैदानबाहेक उपयुक्त स्थानमा मेला–महोत्सव संचालन गर्न इच्छुक संघ–संस्थाहरूलाई रु. ५ लाखका दरबाट बढाबढ हुनेगरी प्रतिस्पर्धात्मक शिलबन्दी प्रस्ताव पेस गर्न आह्वान’ गरिएको थियो ।
यसको झण्डै एक महिनापछि २०८३ जेठ १८ गते पुनः नगरपालिकाले अर्को सूचना निकाल्दै ‘यसअघि प्रकाशित सुचनाअनुसार मेला महोत्सव संचालन गर्न कुनै पनि संघसंस्थाले दरखास्त पेस नगरेको’ उल्लेख गर्दै साबिककै मापदण्डअनुरूप ‘शिलवन्दी प्रस्ताव पेस गर्न’ भनियो । यसपछि २०८३ जेठ २७ गते नगरपालिकाले तेस्रोपल्ट सोही व्यहोराको अर्को सूचना निकालेर फेरि ‘मेला महोत्सव संचालनका लागि शिलबन्दी दरभाउ पत्र पेस गर्न’ आह्वान गरेको देखिन्छ ।
मेला–महोत्सव संचालनका लागि नगरपालिकाद्वारा प्रकाशित सूचना ।
तेस्रो सूचनामा साबिककै मापदण्ड उल्लेख गरिएको छ । यसबाहेक यो सूचनामा अघिल्लो सूचनापछिको प्रगति र किन तेस्रोपल्ट सूचना निकाल्नुपर्यो भन्ने कुरा उल्लेख गरिएको छैन ।
मुसिकोटका नगर प्रमुख महेन्द्र केसीले तेस्रो सूचनाअनुसार ‘कार्यविधिबमोजिमको मापदण्ड पूरा गरी सबैभन्दा बढी अंक कवोल गर्ने प्रस्तावकलाई नै महोत्सव संचालनका लागि अनुमति प्रदान गरी सम्झौता गर्न आउन सूचना गरिएको बताए । तर अनुमति पाएको प्रस्तावक निर्धारित समय सीमाभित्र सम्झौता गर्न नआएका कारण बाँकी प्रक्रिया पनि अगाडि नबढेको उनको भनाइ छ ।
‘वैधानिक रूपमा छनोट भएको प्रस्तावकसँग सम्झौता भएन । यसबाहेक अरु कोही–कसैलाई पनि महोत्सव गर्ने अनुमति दिएका छैनौं,’ उनले भने, ‘सल्लेमा गरिएको भनिएको तयारीबारे हामीलाई आधिकारिक जानकारी छैन, कसैले नगरपालिकाको अनुमतिबेगर मेला–महोत्सवका गतिविधि गर्दै छ भने त्यो गैरकानुनी ठहर्छ ।’
महोत्सवको आयोजना गर्न तम्सिएको लोक तथा दोहोरी गीत प्रतिष्ठान रुकुम पश्चिमका अध्यक्ष तुल देवकोटाले भने गत असार १८ गतेको सूचनाको अन्तिमतिर ‘बढी अंक कबोल गर्ने प्रस्तावक उल्लेखित समयावधिभित्र उपस्थित नभएमा दोस्रो प्रस्तावक र दोस्रो प्रस्तावक पनि उपस्थित नभएमा तेस्रो प्रस्तावकलाई महोत्सव संचालनका लागि अनुमति प्रदान गर्ने’ भनेर लेखिएको विषयलाई आधार मानेर आफ्नो संस्था तेस्रो प्रस्तावक भएको र पहिलो र दोस्रो प्रस्तावकले नगरपालिकालाई ‘महोत्सव गर्न नसक्ने’ भनेर जानकारी गराइसकेको भन्दै महोत्सव स्वतः आफूहरूले आयोजना गर्न पाउनुपर्ने दाबी गर्दै तयारी थालेको बताए ।
यतिबेला महोत्सव गर्ने भनिएको स्थलमा पिङ राख्ने काम सकिएको छ भने घेरबार लगायतका बाँकी काम धमाधम भइरहेका छन् । अध्यक्ष देवकोटाले अहिलेसम्म १० लाख रुपैयाँ लगानी गरेर महोत्सवको तयारी थालिएको बताए ।
नगरपालिकाले नै बराहटाकुरा बाहेकको स्थलमा भनेकाले त्यसबाहेक यो स्थल महोत्सव गर्नका लागि उपयुक्त भएको अध्यक्ष देवकोटालेको भनाइ छ । ‘अरु पनि खुला ठाउँ भए पनि ती दर्शकका लागि पायक नपर्ने भएका कारण जग्गा भाडामा लिएर भए पनि यही ठाउँमा महोत्सव गर्न आफूहरू बाध्य भइयो,’ उनले भने, ‘सुरक्षाका विषयमा गम्भीरताका साथ लाग्छौं । महोत्सव आयोजना गर्न नगरपालिका एवं स्थानीय प्रशासनले आवश्यक सहयोग गर्नुपर्छ ।’
दुई वर्षअघिसम्म सदरमुकाममा आयोजना गर्ने मेला–महोत्सव बराहटाकुरामा हुँदै आएकामा त्यसयता ठूला मेला–महोत्सवको आयोजना गरिएको थिएन । बजार नजिकै बराहटाकुरा बाहेकको विकल्प नभएको नगरपालिकालाई अवगत हुदाँहुँदै पनि किन उक्त स्थानबाहेकमा महोत्सव गर्न भनियो त ? जवाफमा नगर प्रमुख केसी भन्छन्, ‘बराहटाकुरामा दैनिक विभिन्न खेल गतिविधि संचालन भइरहेका छन् र हप्ता–दश दिनसम्म चल्ने महोत्सवले ती दैनिक क्रियाकलापमा असर गर्छ । साथै बजार छेउको एकमात्र खुला स्थान भएकाले कुनै विपत्ति आएमा मान्छे भेला हुने स्थान पनि त्यही मात्रै भएकाले उक्त ठाउँमा मेला–महोत्सव नगर्ने कुरा कार्यविधिमा स्पष्ट उल्लेख गरिएको छ ।’
अहिले महोत्सव गर्ने भनेर तयारी थालिएको स्थल बराहटाकुराबाट टाढा नभए पनि त्यहाँबाट झोलुंगे पुल तरेर भिरालो बाटो हुँदै जानुपर्छ भने महोत्सव हुने स्थान सल्ले–मठ जोड्ने अर्को झोलुंगे पुलछेउमा छ । एकैचोटि धेरै मान्छे भेला हुने र चहलपहलसमेत व्यापक हुने महोत्सव भिरालो पहराको माथि त्यो पनि साउने झरी परिरहेका बेला गर्न दिने कि नदिने भन्ने विषयमा नगरपालिकाले अनदेखा गरिरहेका बेला स्थानीय प्रशासनले नगरपालिकाले गरिरहेको होला भनेर चासो नदिएको बताएको छ ।
रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी निशानराज गौतमले महोत्सवको विषयमा नगरपालिका र आयोजक कसैले पनि आधिकारिक रूपमा आफूलाई जानकारी नगराएको बताए । ‘मैले त नगरपालिकाको समन्वयमा नै भइरहेको होला भन्ठानेको थिएँ । यदि त्यसो हैन भने हामी कार्यालयका तर्फबाट नगरपालिका र आयोजक संस्थाका व्यक्तिहरूसँग चासो राख्छौं,’ उनले भने, ‘यस विषयमा त्रिपक्षीय छलफल गरेर महोत्सवलाई वैधानिक र सुरक्षित बनाउने विषयमा हाम्रो चासो र चिन्ता रहन्छ ।’
