कर्णालीका सडकमा हरेक बर्खामा पहिरो, बाढी र पुलको अभावले यात्रुलाई जोखिम र कठिनाइ हुने गरेको छ।
What you should know
रुकुम पश्चिम — मनसुन सक्रिय भएसँगै कर्णाली प्रदेशका अधिकांश सडकमा पहिरो, बाढीका कारण आवागमन थप जोखिमपूर्ण बनेको छ।
भौगोलिक रूपमा विकट रहेको प्रदेशमा सुरक्षित सडक पूर्वाधारको अभाव, जीर्ण सडक र सवारी साधनको प्राविधिक कमजोरीका कारण वर्षायाममा यात्रा झन् कठिन हुने गरेको स्थानीय बताउँछन्। कतिपय स्थानमा सडक सञ्चालनयोग्य छैनन् भने कतै पुल नहुँदा यात्रुले बीच बाटोमै सवारी फेर्नुपर्ने बाध्यता छ।
रुकुम पश्चिमका कुबेरजंग खत्रीका अनुसार वर्षायाममा यात्रा गर्दा कतिबेला पहिरो खस्छ, सडक अवरुद्ध हुन्छ वा गाडी फस्छ भन्ने निश्चित हुँदैन। 'सडक भएर मात्र हुँदैन, सुरक्षित पनि हुनुपर्छ,' उनले भने, 'हरेक बर्खामा लामो दूरीको यात्रा निकै कष्टकर हुन्छ।'
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, कर्णाली प्रदेशका अनुसार पछिल्ला तीन आर्थिक वर्षमा प्रदेशभर ३ हजार २३० सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा ३८३ जनाको मृत्यु भएको छ भने ८ हजार ४६२ जना घाइते भएका छन्।
कार्यालय प्रमुख हरिबहादुर विसीका अनुसार अधिकांश दुर्घटना दुईपांग्रे सवारीमा भएका छन्। उनका अनुसार दुर्घटनाको प्रमुख कारण मानवीय त्रुटि भए पनि कमजोर सडक अवस्थाले जोखिम बढाएको छ।
सल्यानका यातायात व्यवसायी अनिल श्रेष्ठले सवारी साधनको नियमित प्राविधिक परीक्षण र यात्रुलाई टिकट काउन्टरबाट मात्रै यात्रा गर्न आग्रह गर्दै सुरक्षित यात्राको प्रयास भइरहेको बताए।
सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख खुमबहादुर भण्डारीले वर्षायाममा सडक खुला राख्न आवश्यक निर्माण सामग्री तयारी अवस्थामा राखिएको बताए। उनका अनुसार पहिरो वा सडक क्षति हुनेबित्तिकै ग्याबिन जाली, ढुंगा तथा अन्य सामग्री प्रयोग गरेर तत्काल आवागमन सञ्चालन गर्ने तयारी गरिएको छ।
जाजरकोटका प्रहरी प्रमुख बुद्धीबहादुर पुरीले वर्षायाममा सवारी जाँच कडा पारिएको र चालकलाई आवश्यक परामर्शसँगै नियम उल्लंघन गर्नेविरुद्ध कारबाही भइरहेको बताए। 'आवतजावतमा अवरोध भएको जानकारी प्राप्त हुनासाथ सम्बन्धित निकायसँग समन्वय गरेर सडक खुलाउने प्रयास गरिरहेका छौं,' उनले भने।
स्थानीयका अनुसार कर्णालीमा सडक सञ्जाल विस्तार भए पनि अधिकांश सडक अझै सुरक्षित र भरपर्दो बन्न सकेका छैनन्। वर्षायाममा पहिरो, खोलामा बाढी र सडक अवरुद्ध हुने समस्या दोहोरिरहँदा यात्रा अझै पनि जोखिमपूर्ण र अनिश्चित बनेको उनीहरूको गुनासो छ।
