भाउ नपाएर थन्कियो बाफुखोलाको आलु

गत वर्ष ४०–४५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको वर्षे आलु यसपालि २५ रुपैयाँमा पनि बिकेको छैन।

श्रावण ४, २०८३

विप्लव महर्जन

Potatoes from Bafukhola are stuck without a price

What you should know

सल्यान — सल्यानको बाग्चौर नगरपालिका–१२ बाफुखोलाका टीकाराम ओली दुई दशकदेखि व्यावसायिक आलु खेती गर्दै आएका छन्। गत वर्ष १५ रोपनीमा उत्पादन भएको करिब १ सय ५० क्विन्टल वर्षे आलु ४० देखि ४५ रुपैयाँ प्रतिकिलोमा बिक्री गरेर उनले साढे ६ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेका थिए।

यसपालि भने त्यही आलुले २५ रुपैयाँ प्रतिकिलोभन्दा बढी मूल्य नपाएपछि खनेको आलु बिक्री नगरी घरमै भण्डारण गरेर राख्न बाध्य भएका छन्। ‘गत वर्ष यतिबेलासम्म अधिकांश आलु बिक्री भइसकेको थियो,’ उनले भने, ‘यसपालि लागतसमेत उठ्ने अवस्था नदेखिएपछि कोठामै थन्क्याएर राखेको छु।'

बाफुखोलाकै किसान चन्द्रबहादुर ओलीले पनि १५ रोपनीभन्दा बढी जग्गामा आलु खेती गर्दै आएका छन्। आलु बिक्रीबाट वार्षिक ६ देखि ७ लाख रुपैयाँ आम्दानी गर्दै आएका उनले गत वर्ष साउन नलाग्दै सबै आलु बिक्री गरिसकेका थिए। तर यस वर्ष मूल्य नपाएकाले अझै अधिकांश आलु खनेका छैनन्।

बाग्चौर नगरपालिका–११ र १२ स्थित बाफुखोला वर्षे आलु उत्पादनको पकेट क्षेत्र मानिन्छ। यहाँका करिब १ हजार १ सय किसानले ४ सय हेक्टर क्षेत्रफलमा आलु खेती गर्दै वार्षिक १२ करोड रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन्। आलु खेतीकै आम्दानीले धेरै किसानको जीवनस्तर उकासिएको छ भने कतिपयले घरजग्गासमेत जोड्न सफल भएका छन्। तर यस वर्ष बजारमा मूल्य नपाउँदा किसानको उत्साह निराशामा बदलिएको छ।

किसानहरुका अनुसार भारतबाट सस्तो आलु ठूलो परिमाणमा नेपाली बजारमा भित्रिएपछि स्थानीय उत्पादनले बजार र मूल्य दुवै गुमाएको हो। गत वर्ष घरबाटै ४० देखि ४५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको आलु यसपालि २५ रुपैयाँ प्रतिकिलोभन्दा माथि नबिकेको उनीहरूको गुनासो छ।

पोखरा, बुटवल, वीरगन्ज र दाङबाट हरेक वर्ष आलु खरिद गर्न आउने व्यापारीले यसपालि भारतीय आलु सस्तोमा उपलब्ध भएकाले स्थानीय आलु खरिदमा कम चासो देखाएका छन्। त्यसको प्रत्यक्ष असर किसानमा परेको छ।

स्थानीय किसान केशव ओलीका अनुसार गत वर्ष साउनको पहिलो सातासम्म उत्पादनको ३५ देखि ४० प्रतिशत आलु जिल्लाबाहिर निकासी भइसकेको थियो। यसपालि भने मूल्य नपाएका कारण १० प्रतिशत पनि निकासी हुन सकेको छैन।

‘२० रोपनीमा आलु लगाएको छु। वर्षमा ५/६ लाख रुपैयाँ आम्दानी हुन्थ्यो,’ उनले भने, ‘गत वर्ष यतिबेला आधाभन्दा बढी आलु बिक्री गरिसकेको थिएँ। अहिले व्यापारी नै आएका छैनन्। खनेको आलु भण्डारण गरेर राख्नुबाहेक अर्को विकल्प छैन।’

बाफुखोलाकै ४७ वर्षीय रतिराम ओलीले वैदेशिक रोजगारी छाडेर एक दशकअघि व्यावसायिक आलु खेती थालेका थिए। ‘भारतमा वर्षभरि काम गर्दा पनि परिवार धान्न गाह्रो हुन्थ्यो। आलु खेती गरेपछि घरखर्च सजिलै चल्न थाल्यो, केही बचत पनि हुन्थ्यो,’ उनले भने, ‘गत वर्ष आलु बेचेर आएको पैसाले सबै खर्च टर्थ्यो। यसपालि के हुने हो थाहा छैन।’

भण्डारणको पर्याप्त व्यवस्था नहुँदा आलु कुहिने चिन्ता पनि किसानमा थपिएको छ। ‘मूल्य कम भए पनि कुहिने डरले केही आलु बेच्नुपर्ने बाध्यता छ,’ उनले भने।

बाग्चौर नगरपालिका–११ का वडाध्यक्ष केशबहादुर भण्डारीले किसानले गत वर्षजस्तो मूल्य नपाए पनि दैनिक खर्च टार्न थोरै–थोरै आलु बिक्री गरिरहेको बताए। ‘हरेक वर्ष राम्रो मूल्य पाउँदा उत्साहित भएका किसान अहिले निराश छन्,’ उनले भने।

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully