विदेशको योजना त्यागेर कृषि- पशुपालनमा भविष्य बनाउँदै सल्यानका युवा

घरपरिवार छाडेर विदेशिने प्रवृत्तिलाई छाड्दै सल्यानका केही युवाले कृषि र पशुपालन व्यवसायबाट आर्थिक रूपमा आत्मनिर्भर बन्ने सपना साकार पारिरहेका छन्।

श्रावण २, २०८३

विप्लव महर्जन

Youth of Salyan abandoning plans abroad and making a future in agriculture and animal husbandry

What you should know

सल्यान — छरछिमेकका धेरैजसो युवा वैदेशिक रोजगारीमा गएको देखेर २०७४ मा त्रिवेणी गाउँपालिका–३ पिमखोलाका ३२ वर्षीय पोखरसिंह डाँगीले राहदानी बनाए।

अस्ट्रेलिया जान उनले सबै किसिमका तयारी पनि गरे। विदेशमा धेरै मानिसले दुःख पाएको र अकालमै ज्यान गुमाई बाकसमा फर्किएको देखेर विदेश जाने योजना थाती राख्दै आफ्नै ठाउँमा केही गर्ने उद्देश्यले उनले २०७५ सालमा आफ्नै दुई बिघा जग्गामा ४० लाख रुपैयाँ लगानी गरेर २ सय ७२ बोट किवी लगाए।

रोपेको चार वर्षपछि लटरम्म फलेको किवीबाट पहिलो वर्षमै उनले २ लाख रुपैयाँ कमाए। २ सय ७२ बोटमध्ये सबैजसोमा फल लाग्न थालेपछि यो वर्ष उनले १० लाख रुपैयाँसम्म आम्दानी हुने सपना देखेका छन्। व्यापारी र ग्राहकको माग पूरा गर्न उनले थप दुई बिघा जग्गामा किवी लगाउने तयारी गरेका छन्। कृषि व्यवसायमै उनले आफ्नो भविष्य सुनिश्चित गर्ने योजना बनाएका छन्।

बागचौर नगरपालिका–७ माडीचौरका ४५ वर्षीय तारादेव ओली २०५८ मा एक गैर सरकारी संस्थामा काम गर्थे। तत्कालीन माओवादी सशस्त्र द्वन्द्वका बेला उनी घर छाडेर नेपालगन्ज गई २०६८ सम्म सेन्चुरी मसला उद्योग सञ्चालन गरे। मसलाबाट राम्रै आम्दानी भइरहेको बेला लोगो चोरेको मुद्दा परेपछि उनी उद्योग नै छाडेर २०७० मा घर फर्किएर केही वर्ष खेतीपाती गरे।

Youth of Salyan abandoning plans abroad and making a future in agriculture and animal husbandry

घरखर्च टार्न गाह्रो भएपछि २०७६ मा उनले घरमै १ हजार ब्रोइलर कुखुरा पाले। पहिलो वर्षमै १ लाख रुपैयाँ फाइदा भएपछि उनले २०७७ मा फर्म दर्ता गरेर व्यावसायिक रूपमा २० देखि २५ हजारसम्म कुखुरा पाल्न थालेर वार्षिक २० लाख रुपैयाँसम्म कमाए।

अघिल्लो वर्षदेखि उनले घरनजिकै ४० रोपनी पाखो जग्गा किनेर डोजरले सम्याएर अदुवा खेती गर्न थालेका छन्। हालसम्म करिब २ करोड रुपैयाँ कृषि व्यवसायमा लगानी गरेका उनले प्रत्येक वर्ष ८० लाख रुपैयाँ बराबरको कुखुरा र अदुवा बिक्री गर्दै आएका छन्। सबै खर्च कटाएर उनले गत वर्ष ४० लाख रुपैयाँ बचत गरेका थिए भने यो वर्ष पनि त्यही हाराहारीमा बचत गर्ने उनको लक्ष्य छ। कृषि व्यवसायमा लागेका उनले दर्जनभन्दा बढीलाई रोजगारीसमेत दिएका छन्। उनी अहिले जिल्लाकै उत्कृष्ट कृषक बन्न सफल भएका छन्।

श्रमअनुसारको पारिश्रमिक पाउन नसकेको र बेरोजगारीको बहाना बनाउँदै जिल्लाका धेरै युवा विदेश पलायन भएका छन्। विभिन्न किसिमका समस्या देखाउँदै धेरैजसो युवा पुस्ता विदेश पलायन भइरहेका बेला पछिल्लो समय जिल्लामा रहेका केही युवा कृषि तथा पशुपालन व्यवसायमा लागेर आफ्नो भविष्य बनाउन जुटेका छन्। विदेशमा हुने दु:ख सम्झिएर आफ्नै ठाउँमा केही गर्ने उद्देश्यका साथ कृषि तथा पशु व्यवसायमा लागिरहेको उनीहरु बताउँछन् ।  

कृषि तथा पशु व्यवसाय गरेर केही युवाले वार्षिक लाखौं रुपैयाँ आम्दानी गर्दै आएका छन्। उनीहरूले केहीले अरुलाई रोजगारीसमेत दिएका छन्। विगतमा घरखर्च चलाउन हम्मेहम्मे पर्ने युवा व्यवसाय सञ्चालन गरेको केही वर्ष नबित्दै घरजग्गा, सवारीसाधन जोड्न सफल पनि भएका छन्। आफ्नै ठाउँमा मेहनतका साथ काम गरेर विदेशिनु पर्दैन भन्ने पछिल्लो समयमा गतिलो उदाहरणका पात्र बन्न थालेका छन्।

केही वर्षअघिसम्म निजी विद्यालयमा शिक्षण पेसामा कार्यरत शारदा नगरपालिका–७ रामेखोलाका ३५ वर्षीय उत्तम थापाले कृषि पेसामै भविष्य देखेर पाँच वर्षदेखि व्यावसायिक तरकारी खेतीमा लागेको बताए। आफूसँग पर्याप्त जग्गा नभएपछि २५ रोपनी जग्गा भाडामा लिएर तरकारी खेती गरेको उनले बताए।

'पछिल्लो समयमा विदेशबाट फर्किएका धेरै युवा कृषि तथा पशुपालन व्यवसायमा लागेका छन्। विदेशमा सम्भावना नदेखेर घर फर्केका युवा कृषि व्यवसायमा लागेको देखेर समृद्धिको आधार यही भन्ने लाग्यो र शिक्षण पेसा छाडी कृषिमा लागें। अहिले तरकारी बिक्री गरेर सबै खर्च कटाएर वार्षिक १५ लाख रुपैयाँसम्म कमाउँदै आएको छु। सात जनाको परिवार सजिलै पालेको छु,' उनले भने, '११/१२ जनालाई रोजगारी दिएर यसको कमाइले जमिनजग्गा जोडेको छु।' व्यावसायिक रूपमा तरकारी खेती गर्दा कृषि विकास कार्यालय सल्यानले विभिन्न किसिमका सहयोग गरेकाले व्यवसाय विस्तार गर्न थप प्रेरणा मिलेको उनको भनाइ छ।

बागचौर नगरपालिका–९ डाँगीगाउँका ३५ वर्षीय झलक डाँगीले बाबुबाटै प्रेरणा मिलेर औषधि पसल छाडेर २०७७ मा भिजन कृषि तथा नर्सरी फर्म दर्ता गरी सुन्तला खेती र फलफूल नर्सरीमा लागेको बताए। वार्षिक ३५ लाख रुपैयाँको फलफूल र जडीबुटीका बिरुवा बिक्री गरी सबै खर्च कटाएर २० लाख रुपैयाँसम्म बचत गर्दै आएको उनले जानकारी गराए।

Youth of Salyan abandoning plans abroad and making a future in agriculture and animal husbandry

'औषधि पसल छाडेपछि एक वर्ष रोजगारीका लागि धेरै ठाउँमा भौंतारिएँ। कसैले सहयोग गरेनन्। नर्सरी सञ्चालन गरी फलफूलका बिरुवा बिक्री गरेर ६ जनाको परिवार सजिलै पालेको छु। ६/७ जनालाई रोजगारी दिँदै आएको छु,' उनले भने, 'नेपालगन्जमा घर बनाउन र घडेरी किन्न सफल भएको छु। विगतमा आर्थिक अवस्था धेरै कमजोर भएकाले बुबा भारत गएर मजदुरी गर्नुहुन्थ्यो। नयाँ कपडा लगाउन, मासु–भात खान सधैं चाडपर्व कुर्नुपर्थ्यो।' फलफूल व्यवसाय तथा नर्सरीमा लागेपछि बुबालाई रोजगारीका लागि भारत जानु नपरेको उनले बताए । 'अचेल मासु–भात खान र नयाँ कपडा लगाउन पर्व कुर्नुपर्दैन। सबै किसिमका आवश्यकता यसबाटै पूरा भएका छन्,' उनले भने ।

कृषि तथा पशुपालनमा लागेका युवालाई प्राथमिकता दिएर सिँचाइ कुलो, पोखरीलगायत विभिन्न किसिमका सामग्री र प्राविधिक सहयोग गर्दै आएको कृषि विकास कार्यालय सल्यानका प्रमुख महेश आचार्यले बताए। कृषि तथा पशुपालन व्यवसायबाट जिल्लाका धेरैको आर्थिक अवस्थामा सुधार आएको उनले बताए। युवाकै सक्रियताले सल्यान कृषिमा आत्मनिर्भर बन्न सफल भएको उनको भनाइ छ।

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully