शिक्षण छाडेर स्याउ खेतीमा लागेका टेकबहादुर बने उत्कृष्ट कृषक

शिक्षण छाडेर स्याउ खेतीमा लागेका कालीकोटका टेकबहादुर शाही गाउँमै व्यवसायिक खेती गरेर जिल्लाको उत्कृष्ट कृषक पुरस्कार जित्न सफल भएका छन्।

श्रावण १, २०८३

तुलाराम पाण्डे

Tek Bahadur, who left teaching to take up apple farming, became an excellent farmer

कालीकोट — तिलागुफा–११ कामखेतका ४८ वर्षीय टेकबहादुर शाहीको सानैदेखिको शिक्षक बन्ने रहर धेरै समय टिक्न सकेन। गाउँको कालिका प्रावि कामखेतबाट ५ कक्षा पास गरेर दैनिक दुई घण्टा पैदल हिँडेर चिल्खायास्थित शिवालय माविबाट निमावि तह पूरा गरेपछि घरबाट सामल बोकेर कक्षा ९ र १० पढ्न सदरमुकाम मान्मस्थित पञ्चदेव माविमा भर्ना भए।

२०५३ मा एसएलसी पास गरेपछि उच्च शिक्षाका लागि चार दिन पैदल हिँडेर सुर्खेतस्थित शिक्षा क्याम्पसमा भर्ना भए। २०५६ मा आईएड पास गरेपछि घरपरिवारको उनलाई शिक्षक बनाउने धोको र उनको पनि त्यही रहर थियो। तर, उनी स्नातक तहमा भर्ना नभई सरकारले घोषणा गरेको कर्णाली अञ्चल विशेष कृषि विकास आयोजनाले हेलिकोप्टरमा ढुवानी गरेर गाउँमै वितरण गरेको स्याउका बिरुवा रोप्न चिल्खायाको कामखेत फर्किए।

२०५६ मा तिलागुफा–११ मा पर्ने भट्टेडीको पाखोमा खाल्डा खनेर कृषि विकास कार्यालयले उपलब्ध गराएका ३ सय बिरुवा स्याउ रोपे। सरकारले २०५६ देखि २०५९ सम्म हेलिकोप्टरबाट प्रत्येक वर्ष वितरण गर्ने स्याउका बिरुवाका लागि जमिन तयार पारेर प्रत्येक वर्ष स्याउका बिरुवा थप्दै व्यावसायिक खेतीतर्फ सक्रिय शाही २०६२ मा गाउँको कालिका आविमा शिक्षक बने। तलब पनि थोरै, लेकमा रोपेका स्याउको स्याहारसुसार गर्ने समय पनि नहुने भएकाले एक वर्षमै शिक्षण छाडेर २०६३ देखि पूर्णरूपमा स्याउ खेतीमा लागे।

बुवाको शिक्षक बनाउने धोको पूरा गरेपछि उनले कृषि पेसा रोजे। 'व्यावसायिक स्याउ खेतीले मलाई सबैतिर चिनायो,' उनले भने, 'नाम र दाम दुवै यसैमा छ।' आफूले रोजेको पेसाबाट सन्तुष्ट रहेको सुनाउँदै शाहीले छोरा र बुहारीलाई पनि कृषि र भेटेनरी जेटिए पढाएको बताए।

२०५६ मा रोपेका स्याउ २०६३ मा फल्न थालेपछि थप बगैंचा विस्तार गर्दै व्यावसायिक रूपमा स्याउ खेती विस्तारमा लागेका टेकबहादुरका हाल २ हजार २ सय ५० वटा स्याउका बिरुवा छन्। ४८ रोपनी जमिनमा फैलिएको उनको बगैंचाका १ हजार ८ सय स्याउका रुख फल्छन् भने अन्य बिरुवा सानै छन्। ५ सय ओखरका रुख पनि फल्छन्।

उनले गत वर्ष १५ मेट्रिक टन स्याउ बेचेर १६ लाख रुपैयाँ आम्दानी गरेको सुनाए। 'यस वर्ष स्याउ निकै फलेको छ,' उनले भने, 'यो वर्ष २० मेट्रिक टन उत्पादन हुन्छ होला।'

कर्णाली राजमार्गको सुर्खेत–जुम्ला खण्ड भर्खर खुलेको बेला २०६३ को भदौमा प्रतिकेजी २५ रुपैयाँका दरले स्याउ बेचेका टेकबहादुरले गत वर्ष बगैंचाबाट कर्णाली राजमार्गको गाल्जेसम्म झारेको स्याउ प्रतिकेजी १ सय १० रुपैयाँमा बेचे।

अहिले उनकी पत्नी बिजासहित दाजु श्रीबम शाहीको परिवारका ६ जना पूर्णरूपमा स्याउ फार्ममा काम गर्छन्। त्यसबाहेक स्याउ बगैंचामा अन्य १० जनालाई रोजगारी दिएका टेकबहादुरले गत वर्ष स्याउ बेचेर आम्दानी गरेको १६ लाख रुपैयाँमध्ये ६ लाख कामदारको ज्यालामा खर्च भएर १० लाख बचत गर्न सफल भएको बताए। 'स्याउ टिप्ने र ढुवानी गर्ने बेला त दैनिक ५०/६० जनालाई काममा लगाउँछौं,' उनले भने, 'बगैंचा काटछाँट र गोडमेलमा पनि बढी कामदार चाहिन्छ।' उनको बगैंचामा रोयल डेलिसियस, रेड डेलिसियस, गोल्डेन र जोनाथन जातका स्याउ छन्। स्याउका अतिरिक्त सिमी र आलु पनि उत्पादन हुन्छ।

स्याउ बगैंचामा हाल्ने मलका लागि २० वटा गाई–गोरु, १० वटा भैंसी र १५ वटा बाख्रा पालेका टेकबहादुरले आफ्नो बगैंचाको सबै स्याउ अर्गानिक रहेकाले बजारको समस्या नभएको सुनाए। 'घरपरिवारलाई काम खोज्न कतै जानुपर्दैन,' उनले भने, 'काम गर्न भ्याइ–नभ्याइ हुने भएकाले छिमेकीलाई पनि काम दिने गरेका छौं।'

व्यावसायिक रूपमा स्याउ खेती गरेपछि उनले उत्कृष्ट कृषकका रूपमा कर्णालीमै परिचय बनाएका छन्। २०६९ मा जिल्ला कृषि विकास कार्यालय कालीकोटबाट जिल्लाकै उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित शाही २०७० मा राष्ट्रियस्तरको प्रतिस्पर्धामा तेस्रो, २०७५ मा तिलागुफा नगरपालिका तथा जिल्ला स्तरमा प्रथम भएका थिए। यस वर्ष भने उनी कर्णाली प्रदेश मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारमा प्रथम भएका छन्।

उनले बुधबार जिल्ला कृषि विकास कार्यालय कालीकोटद्वारा आयोजित पुरस्कार वितरण समारोहमा ३० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गरे। उनले आफ्नै नामबाट टेक्सिस नर्सरी उद्योग पनि दर्ता गरेर कारोबार गर्दै आएका छन्।

जिल्ला कृषि विकास कार्यालयका निमित्त प्रमुख दिवाकर पन्तका अनुसार तिलागुफाका टेकबहादुर प्रथम हुँदा खाँडाचक्र–६ दाहाका ओखर तथा टिमुर कृषक जनकबहादुर शाहीले २० हजार रुपैयाँसहित दोस्रो पुरस्कार हात पारे। स्याउ तथा ओखरका बिरुवा उत्पादनमा सक्रिय रास्कोट–९ का कृषक गोकर्ण न्यौपानेले १५ हजार रुपैयाँ नगदसहित तेस्रो स्थान हासिल गरे।

तुलाराम पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully