‘नालामा बग्नुपर्ने पानी सडकमा बग्दा बर्खायाममा आवत–जावतमै कठिनाइ त भएको छ नै नालाको पानीसँगै माटो र गेग्रान समेत बगेर आउने र त्यसैमाथि भारी सवारी साधन गुड्ने भएकाले कालोपत्र पनि उप्किने गरेको छ,’ स्थानीय कुलराज घर्तीले भने ।
रुकुम पश्चिम — सकडका छेउमा बनाइएका नालाको उचित व्यवस्थापन नहुँदा मध्यपहाडी राजमार्ग अन्तरगत रुकुम पूर्व–पश्चिम खण्ड कमजोर र जोखिमपूर्ण बन्दै गएको छ ।
कतै नालाहरू लामो समयदेखि पुरिएका छन् त कतै माटो भरिएको छ । तर मर्मत–सम्भार भएको छैन ।
पछिल्लो समय महत्वपूर्ण विकास पूर्वाधारको रुपमा रहेको सडकको विकास तथा विस्तारमा तीन तहकै तहका सरकारले प्राथमिकताका साथ लगानी गरिरहेका छन् । तर बनेका सडकको नियमित मर्मत–सम्भार भने हुन सकेको छैन । सडक छेउमा पानी तर्काउन बनाइएका नालाहरू दुरुस्त नराख्दा सडकको सुरक्षामा चुनौती थपिएको छ ।
सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाएको ८ सय ७९ किलोमिटर लामो मध्यपहाडी राजमार्ग अन्तरगत रुकुम पूर्व–पश्चिम खण्डको जम्मा १ सय २१ किलोमिटर सडकको अधिकांश ठाउँमा नालाको राम्रो व्यवस्थापन गरिएको छैन ।
राजमार्ग निर्माणका क्रममा बनेका नालाको नियमित मर्मत–सम्भारमा सरोकारवालाको लापरवाही गरेको स्थानीय कुलराज घर्ती बताउँछन् । ‘नालामा बग्नुपर्ने पानी सडकमा बग्दा बर्खायाममा आवत–जावतमै कठिनाइ त भएको छ नै नालाको पानीसँगै माटो र गेग्रान समेत बगेर आउने र त्यसैमाथि भारी सवारी साधन गुड्ने भएकाले कालोपत्र पनि उप्किने गरेको छ,’ उनले भने ।
नालामा बग्नुपर्ने पानी सडकमा आउँदा सडक चिप्लो हुने अनि माथिबाट माटो–ढुंगा बगाएर ल्याउँदा गाडी चलाउनै जोखिम हुने गरेको सवारी चालक नरेश खड्का बताउँछन् । कतिपय अवस्थामा त सडकका ढुंगा उछिट्टिएर पैदल यात्रुलाई चोटपटक समेत लाग्ने गरेको उनको अनुभव छ ।
राजमार्गभन्दा माथि जथाभावी शाखा सडक निर्माण गर्ने र त्यसबाट ढुंगा–माटो र पहिरो झर्ने कारण सडकका नाला दुरुस्त राख्न नसकिएको मध्यपहाडी राजमार्ग आयोजना कार्यालय दैलेखका प्रमुख ईन्जिनियर निरन्जन थापा बताउँछन् । ‘यस्ता शाखा सडक निर्माण गर्नुअघि सम्बन्धित डिभिजन अथवा आयोजना कार्यालयसँग पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था ‘सडक ऐन २०३१’ मा गरिएको छ तर त्यसको पालनामा लापरबाही छ,’ उनले भने ‘हामीले कानुन अनुसार गर्नका लागि पालिका र प्रदेश तहका कार्यालय अन्तरगतका योजनाले हाम्रो अनुरोधको बेवास्ता गरिरहनुभएको छ ।’ जसका कारण ती सडकबाट माटो–ढुंगा तथा पहिरो झर्दा नाला बन्द हुने र सडकमै पानी बग्ने अवस्था सिर्जना भएको उनले बताए ।
बर्खा लाग्नुअघि नै सडकका नाला मर्मत–सम्भार भइसक्नुपर्ने हो । यो सडकको धेरै ठाउँमा अघिल्लो बर्खामै खसेको पहिरो र माटो पनि हटाइएको छैन । आयोजना कार्यालयले ठाउँ–ठाउँमा ‘लेन्थ वर्कर’ राखेर काम गरिरहेको दाबी गरिरहेको छ ।
मध्यपहाडी राजमार्ग अन्तरगत रुकुम पूर्व–पश्चिममा पर्ने कुल १ सय २१ किलोमिटरमध्ये ८९ मिलोमिटर चौरजहारी सडक डिभिजन कार्यालयलाई हस्तान्तरण गरिसकिएको छ भने बाँकी ३२ किलोमिटरमा आयोजना कार्यालयले नै काम गरिरहेको छ ।
आयोजना कार्यालयले हेर्ने ३२ किलोमिटरमध्ये रुकुम पूर्वको रुपडा देखी बागलुङ सिमाना पाथीहाल्नेसम्मको जम्मा १३ किलोमिटरमा कालोपत्र गर्ने कामको जिम्मा लिएको साविकको निर्माण कम्पनीसँगको ठेक्का गत जेठ २७ मा तोडिएको छ र यस खण्डमा नयाँ ठेक्का लगाउने प्रक्रिया आगामी आर्थिक वर्ष लागेपछि सुरु हुने जनाइएको छ ।
यस क्षेत्रमा पर्ने राप्ती लोकमार्ग तथा अन्य स्थानीय सडकमा पनि नालाको राम्रो व्यवस्थापन छैन् । यी सडकहरुमा कतै नाला नै बनाइएको छैन भने कतै नाला बनाएर पनि सरसफाई र रेखदेख नगर्दा समस्या उत्पन्न हुने गरेको छ ।
