ठेक्का थपिँदै, काम रोकिँदै : मध्यपहाडी राजमार्गका ४० किमि अझै कालोपत्र भएन

जाजरकोटको मन्ताभीर ८ वर्षदेखि अपूरो, रुकुम पूर्वको काम सातपटक म्याद थप्दा पनि अधिकांश कालोपत्र भत्कियो ।

असार ३०, २०८३

कृष्णप्रसाद गौतम

Contracts are being extended, work is being stopped: 40 km of Mid-Hill Highway still not blacktopped

सुर्खेत — मध्यपहाडी राजमार्गअन्तर्गत जाजरकोटको मन्ताभीरमा ट्रयाक खोल्नेसहित अन्य तीन खण्डको कालोपत्रका लागि आर्थिक वर्ष २०७५/७६ मा शर्मा/सिंह/ब्रोदर्स जेभीले ठेक्का सम्झौता गर्‍यो। चार वटा खण्डको प्याकेज निर्माणका लागि झन्डै २ अर्ब रुपैयाँमा जिम्मा लिएको जेभीले सबै खण्डको म्याद चार पटक थपिसकेको छ।

तर कालोपत्रको काम मुस्किलले ६० प्रतिशत मात्र सकिएको छ भने वर्षायाममा सडक अवरुद्ध हुँदा वैकल्पिक सडकबाट यातायातका साधन आउजाउ गर्नुपर्ने बाध्यता छ।

त्यस्तै, मध्यपहाडी राजमार्गअन्तर्गत रुकुम पूर्वको पातिहाल्नेदेखि रुपागाड खण्डअन्तर्गतको १३ किलोमिटर सडक कालोपत्र गर्न २०७२ सालमा सिद्धिसाई/भारत/महादेव/खिम्ती जेभीले ३३ करोड रुपैयाँमा ठेक्का लियो।

अहिलेसम्म उसले सातपटक म्याद थपिसकेको छ। सातौं पटकको ठेक्काको म्याद असार १४ गते सकियो। तर उसले गरेको अधिकांश कालोपत्र भत्किसकेको छ।

मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय, दैलेखले रुकुम पूर्वको पातिहाल्नेदेखि अछामसम्मको ४ सय ४० किलोमिटर खण्ड हेर्छ। जसमध्ये रुकुम पूर्वमा ७८ किलोमिटरमध्ये ६५, रुकुम पश्चिममा ७०, जाजरकोटको ८५ किलोमिटरमध्ये ५८, दैलेखमा १ सय २५ र अछामका ६५ किलोमिटर खण्ड कालोपत्र भइसकेको छ।

तर रुकुम पूर्व र जाजरकोट खण्डको ४० किलोमिटर सडक कालोपत्र नहुँदा राजमार्ग अधुरै बनेको हो। पछिल्लो समय निर्माण सामग्रीको अभाव देखाएर ठेकेदार कम्पनीले कालोपत्रको काममा ढिलाइ गरिरहेका छन्। भारतले बिटुमिन बन्द गरेपछि थप समस्या भएको निर्माण व्यवसायी रमेश शर्माले बताए।

‘निर्माण सामग्री नै नपाइने, पाइए पनि अत्यधिक महँगीले गर्दा कालोपत्रको काममा समस्या भयो,’ उनले भने, ‘पहिले ९० रुपैयाँ प्रतिकिलो पाइने बिटुमिनको मूल्य अहिले १ सय ५० रुपैयाँ पुगेको छ। इन्धनको मूल्यवृद्धिले पनि काममा समस्या गरायो।’ उनका अनुसार कालोपत्रका लागि प्रयोग हुने बिटुमिन मुख्य निर्माण सामग्री हो, जुन इरान हुँदै भारत भएर नेपाल आउने गरेको छ। ‘बिटुमिन झोल पदार्थ हो, बिटुमिन पातलो बनाउन मट्टितेल प्रयोग हुन्छ,’ उनले भने, ‘अहिले मट्टितेलको पनि अभाव छ।’

मध्यपहाडी राजमार्ग योजना कार्यालय, दैलेखका अनुसार जाजरकोट खण्डमा स्याउलेखोला–कार्कीगाउँ, कार्कीगाउँ–मन्ताभीर, मन्ताभीर–थलह र कुदु–स्याउलेखोला खण्डको झन्डै २७ किलोमिटर सडकको कालोपत्रको काम अलपत्र परेको हो।

लामो समयदेखि कालोपत्रको काम अलपत्र पर्दा यात्रुहरू सास्तीपूर्वक यात्रा गर्न बाध्य भएको छेडागाड नगरपालिका प्रमुख रत्नबहादुर खड्काले बताए। ‘सडक कालोपत्र नहुँदा बर्खामा गाडी अवरुद्ध हुन्छ, अरुबेला यात्रुहरू धुलाम्मे र हिलाम्मे यात्रा गर्न बाध्य छन्,’ उनले भने, ‘दुर्घटनाको जोखिम उत्तिकै छ।’

उनले सडक निर्माण छिटो सक्न ठेकेदारलाई पटक पटक आग्रह गरिए पनि बेवास्ता भएको गुनासो गरे। सडक अलपत्र हुँदा सडकमा दैनिक जसो गाडी फस्ने र जामका कारण यात्रुले घण्टौँ सास्ती पाइरहेको कार्कीगाउँका परमेश्वर कार्कीले बताए।

रुकुम पूर्व खण्डमा कालोपत्रको काम मुस्किलले ७० प्रतिशत सकिए पनि अधिकांश कालोपत्र भत्किएको योजना कार्यालयका इन्जिनियर अमित मण्डलले बताए। ‘ठेकेदारले लामो समयदेखि काम अलपत्र पारेपछि गत कात्तिक १७ गते ठेक्का रद्द गर्ने सूचना निकालेका थियौँ। त्यसपछि मात्र ठेकेदार पक्ष सम्पर्कमा आयो,’ उनले भने, ‘अझै काम कहिले सकिने हो, केही थाहा छैन।’

उनका अनुसार दैलेख खण्डमा १ सय २५ किलोमिटरमध्ये सबै खण्डमा कालोपत्र भइसके पनि सुयडा–मन्घर खण्डको १० किलोमिटरमा काम कम गुणस्तरको भएपछि ठेकेदारलाई पुनः निर्माण गर्न लगाइएको उनले जानकारी दिए। उनले सडक निर्माणको काम सकिएका खण्ड क्रमशः सडक विभागलाई हस्तान्तरण गरिरहेको जानकारी दिए।

मन्ताभीरमा झन्डै ११ वर्षदेखि सडक निर्माणको काम सकिएको छैन। मन्ताभीरमा ५ मिटरको ट्रयाक खोलिए पनि सडकमा ग्रेडिङ नमिल्दा वैकल्पिक मार्ग प्रयोग गरी यातायातका साधन सञ्चालन गर्नुपर्ने बाध्यता छ। उक्त भीरको ट्रयाक खोल्न आर्थिक वर्ष २०७५/७६ मा ठेक्का खोलिएको थियो।

अहिले दैलेखबाट मध्यपहाडी राजमार्ग हुँदै जाजरकोटको बडावनसम्म नियमित सवारीसाधन सञ्चालनमा छन्। तर मन्ताभीरमा सडक नबनेका कारण मध्यपहाडी राजमार्ग छोडेर छिन्चु–जाजरकोट सडकखण्डको छेडा बजार पुग्नुपर्ने बाध्यता छ। कडा चट्टानका कारण ट्रयाक खुले पनि ग्रेडिङ मिलाउन र सडक चौडा बनाउन समस्या भएको योजना प्रमुख निरञ्जन थापाले बताए।

राजमार्गअन्तर्गत जाजरकोटको भेरी र रुकुम पश्चिमको चौरजहारी नगरपालिका जोड्ने भेरी नदीको पुल पनि झन्डै १३ वर्षदेखि अलपत्र छ। पुल निर्माणका लागि २०६९ असार २९ गते वाईपी कन्ट्रक्सन, ललितपुरसँग १४ करोड ८४ लाख रुपैयाँमा सम्झौता गरिएको थियो।

तर झन्डै १० वर्षसम्म कम्पनीले पुल निर्माण नसकेपछि २०७९ मंसिरमा ठेक्का तोडिएको थियो। पुल नबन्दा मध्यपहाडी राजमार्ग हुँदै रुकुम पश्चिम र त्यसभन्दा पूर्वतर्फ यात्रा गर्न सल्यानको सल्लीबजार, जाजरकोटको रिम्ना तथा रुकुम पश्चिमको सिम्ली हुँदै वैकल्पिक बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ। पुलमा उक्त कम्पनीले झन्डै १८ प्रतिशत काम सकेको थियो।

पुलका लागि फाउन्डेसनको काम सकिएको छ भने जमिनमाथि र पुलमुनिको ‘सब स्ट्रक्चर’ तथा पुलभन्दा माथिको ‘सुपर स्ट्रक्चर’को काम बाँकी छ। पुलको डिजाइन परिवर्तन गरी सस्पेन्सन मोटरेबल ब्रिजका लागि गत आर्थिक वर्षमा दुई पटक झन्डै २२ करोड रुपैयाँको टेन्डर आह्वान गरिएको थियो। ‘अरूले काम गरेर छोडेको भन्दै कसैले पनि टेन्डर हालेनन्,’ इन्जिनियर मण्डलले भने, ‘फेरि आयोजना कार्यालयमार्फत ठेक्का खोल्ने तयारी गरेका छौँ।’

मध्यपहाडी राजमार्गमा अहिले दैनिक ३ सयभन्दा बढी यातायातका साधन सञ्चालन भइरहेका छन्। अधिकांश सडक कालोपत्र भइसकेकाले अहिले सडक सुरक्षाका लागि आवश्यक पूर्वाधार निर्माणका काम भइरहेको योजना प्रमुख थापाले बताए। उनका अनुसार जाजरकोट, दैलेख र अछाम खण्डको ८ किलोमिटरमा ट्राफिक सेफ्टी बार निर्माण गरिएको छ।

त्यस्तै, सडक नियमित मर्मत, ट्राफिक चिन्ह राख्नेलगायतका काम पनि भइरहेका छन्। चालु आर्थिक वर्षमा आयोजना कार्यालयले झन्डै ५० करोड २६ लाख रुपैयाँ खर्च गरेको छ।

कृष्णप्रसाद गौतम कान्तिपुरका सुर्खेत संवाददाता हुन् ।

Link copied successfully