जाजरकोटको तल्लुबगरदेखि डोल्पाको त्रिपुराकोटसम्म स्तरोन्नतिको सम्झौता भएको करिब एक वर्ष बित्न लाग्दा पनि उल्लेख्य प्रगति गर्न नसक्दा आयोजना कार्यालयले ठेक्का तोड्नेसम्मको चेतावनी दिएको छ।
डोल्पा — त्रिदेशीय व्यापारिक महत्त्व बोकेको भेरी करिडोर सडक स्तरोन्नति आयोजना निर्माण कम्पनीहरूको ढिलासुस्तीका कारण अलपत्र अवस्थामा छ।
आयोजनाअन्तर्गत जाजरकोटको तल्लुबगरदेखि डोल्पाको त्रिपुराकोटसम्मको सडक स्तरोन्नतिको जिम्मा पाएका निर्माण कम्पनीहरूले सम्झौता भएको करिब एक वर्ष बित्न लाग्दा पनि उल्लेख्य प्रगति गर्न नसकेपछि आयोजना कार्यालयले ठेक्का तोड्नेसम्मको चेतावनी दिएको छ।
भेरी करिडोर आयोजना कार्यालयका अनुसार त्रिवेणी–त्रिपुराकोट सडक खण्डको निर्माण जिम्मा मैनाचुली–सिस्ने जेभीले करिब ८५ करोड रुपैयाँमा पाएको थियो। कम्पनीले २०८२ साउनमा सम्झौता गरी ५ प्रतिशत पेश्की रकमसमेत लिएको भए पनि हालसम्म भौतिक प्रगति १ प्रतिशतमा सीमित रहेको छ।
निर्माण कम्पनीकी सम्पर्क अधिकारी लालमाया शाहीले विभिन्न स्थानमा गरिएको कामको भुक्तानी नहुनुका साथै अन्य व्यवहारिक समस्याका कारण निर्माण कार्य प्रभावित भएको बताइन्। उनका अनुसार भेरी करिडोर आयोजनाले लाइनिङको काम गरिसकेको छ भने त्रिवेणी, करोपगार्डलगायत स्थानमा अहिले काम सुरु गरिएको छ। 'अब ढिलासुस्ती नगरी कामलाई निरन्तर अघि बढाउने तयारी गरेका छौं,' उनले भनिन्।
त्यस्तै तल्लु–त्रिवेणी सडक खण्डको निर्माण जिम्मा क्याब कन्स्ट्रक्सनले करिब ८८ करोड रुपैयाँमा लिएको थियो। २०८२ असोजमा सम्झौता गरेको उक्त कम्पनीले १० प्रतिशत पेश्की रकम लिए पनि हालसम्म ७–८ प्रतिशत मात्र प्रगति हासिल गरेको आयोजना कार्यालयले जनाएको छ।
कम्पनीका सम्पर्क व्यक्ति देवहरि सिटौला र सुरेन्द्र शाक्यसँग प्रतिक्रिया लिन पटक–पटक सम्पर्क गर्दा पनि उनीहरू सम्पर्कमा आउन सकेनन्। भेरी करिडोर आयोजना कार्यालयका सूचना अधिकारी गिरिशनन्दन कोरसका अनुसार दुवै कम्पनीलाई काममा गति दिन पटक–पटक ताकेता गरिएको छ। 'काम सुरु गरी तीव्रता दिन चार–पाँच पटक पत्राचार गरेर स्पष्टीकरणसमेत सोध्यौं,' उनले भने, 'तर निर्माण कम्पनीहरूले मूल्यवृद्धिलगायत विभिन्न कारण देखाउँदै काममा बेवास्ता गरिरहेका छन्।'
उनका अनुसार मैनाचुली–सिस्ने जेभीले हाल निर्माण कार्य सुरु गरेको छ। 'काम सुरु गरेपछि त्यसलाई निरन्तरता दिनुपर्छ। मन लागे गर्ने, मन लागे नगर्ने प्रवृत्ति स्वीकार्य हुँदैन,' उनले भने, 'कार्यालय पनि काम छिटो सम्पन्न गराउन सक्रिय रूपमा लागेको छ।'
यता क्याब कन्स्ट्रक्सनले पनि सम्झौताको झन्डै एक वर्षपछि निर्माण कार्यलाई गति दिने प्रतिबद्धता जनाएको कार्यालयको भनाइ छ। विसं २०७५ मै ट्रयाक खुलेको भेरी करिडोर सडक स्तरोन्नतिको काम ठेकेदारकै कारण अनिश्चित बन्दै गएपछि स्थानीयवासी तथा जनप्रतिनिधिले चिन्ता व्यक्त गरेका छन्। कार्यालयले पटक–पटक ताकेता गर्दा पनि निर्माण कम्पनीहरू अटेरी बनेको स्थानीयको गुनासो छ।
त्रिपुरासुन्दरी नगरपालिका–१ का स्थानीय युवा रत्नबहादुर बिष्टले कठिन प्रयासपछि बजेट सुनिश्चित गरी ठेक्का लगाइएको आयोजना अलपत्र पर्दा डोल्पाली जनताले सडक असुविधासँगै महँगीको मार खेप्नुपरेको बताए। 'ठेकेदारका कारण डोल्पालीको भविष्यसँग जोडिएको सडक निर्माण कार्य अलपत्र पार्न पाइँदैन,' उनले भने, 'अब पनि विभिन्न बहाना बनाएर काम रोक्ने प्रयास भए डोल्पाली युवाहरू ठेकेदारको गैरजिम्मेवार प्रवृत्तिविरुद्ध सशक्त रूपमा उभिनेछन्।'
वर्षौंदेखि प्रतीक्षामा रहेको भेरी करिडोर स्तरोन्नति आयोजना निर्माण कम्पनीहरूको उदासीनताका कारण पुनः अन्योलमा परेको भन्दै स्थानीयले तत्काल काम अघि बढाउन सरकारमाथि दबाब दिन थालेका छन्।
भेरी करिडोर कार्यालयले पनि ठेेेकेदार बचाइराख्ने गर्नाले पनि ताेकीएकाे समयमा करिडोरका काम सम्पन्न हुन नसक्ने गरेकाेे जिल्लाका सराेकारवालाकाे भनाइ छ । कार्यालयले काम नगर्ने ठेकेदारलाई धमाधम कारवाही गर्नुपर्ने उनिहरुले बताए ।
भेरी करिडोर सडकलाई नेपाल, चीन र भारत जोड्ने सम्भावित व्यापारिक मार्गका रूपमा हेरिएको छ। सडक स्तरोन्नति सम्पन्न भए चीनबाट आउने सामान नेपाल हुँदै भारत तथा भारतबाट आउने सामान नेपाल हुँदै चीनसम्म ढुवानी गर्न सकिने अपेक्षा गरिएको छ। नेपालले आफ्ना उत्पादन दुवै छिमेकी मुलुकमा निर्यात गरी विदेशी मुद्रा आर्जन गर्न सक्ने भएकाले पनि यो सडकलाई रणनीतिक महत्त्वको आयोजना मानिएको छ।
