समुद्री सतहदेखि २ हजार ८ सय ५० मिटरको उचाईमा निर्माण हुन लागेको यो ट्रेनिङ सेन्टर विश्वकै सातौं हाइअल्टिच्युड ट्रेनिङ सेन्टर हुने दाबी गरिएको छ ।
What you should know
जुम्ला —
जुम्लाको पातारासी गाउँपालिका–३ लोडचौरमा बहुप्रतीक्षित हाइअल्टिच्युड ट्रेनिङ सेन्टर (उच्च पर्वतीय खेलकुद प्रशिक्षण केन्द्र) को शिलान्यास गरिएको छ । लामो समयदेखि जग्गा प्राप्तिको समस्याका कारण बजेट फ्रिज हुँदै आएको यस परियोजनाको जग्गा विवाद सुल्झिएसँगै निर्माण कार्य औपचारिक रूपमा सुरु भएको हो ।
समुद्री सतहदेखि २ हजार ८ सय ५० मिटरको उचाईमा निर्माण हुन लागेको यो ट्रेनिङ सेन्टर विश्वकै सातौं हाइअल्टिच्युड ट्रेनिङ सेन्टर हुने दाबी गरिएको छ ।
सदरमुकाम खलंगादेखि करिब एक घण्टाको सवारी यात्रामा पुग्न सकिने लोडचौरमा आयोजित एक विशेष कार्यक्रमका बीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य एवं पूर्वसांसद विनिता कठायत, जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य, पातारासी गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बोहोरा, उपाध्यक्ष जनमाया रोकाया र खेलकुद विकास समितिका प्रमुख कविदत्त न्यौपानेले संयुक्त रूपमा केन्द्रको शिलान्यास गरेका हुन् ।
जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख कविदत्त न्यौपानेका अनुसार, पहिले खेलमैदान नहुँदा यहाँका खेलाडीहरू पर्याप्त अभ्यास बिना नै विभिन्न प्रतियोगिताहरूमा सहभागी हुन बाध्य थिए । अब प्रतिभावान खेलाडीहरूले जुम्लामै उच्च स्तरको खेलकुद अभ्यास गर्न पाउने भएकाले जिल्लाका खेलाडीहरूका महत्त्वपूर्ण रहेको उनले बताए ।
लामो समयदेखि जग्गा अभावकै कारण खेलकुद मन्त्रालयबाट प्रतिबद्धता जनाइएको बजेट समेत कार्यान्वयन हुन सकेको थिएन । तर, पातारासी गाउँपालिका–३ लोठचौरका स्थानीय लाउरो बोहोरा, गोरबहादुर बोहोरा र कुम्भ बोहोराले संयुक्त रूपमा ६ हजार १ सय २० वर्गमिटर जग्गा निःशुल्क उपलब्ध गराएपछि परियोजना अघि बढेको हो । जग्गा अभावका कारण गत आर्थिक वर्षमा मात्रै ५ करोड ६६ लाख रुपैयाँ फ्रिज भएको थियो भने तत्कालीन खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले प्रतिबद्धता जनाएको १० करोड रुपैयाँ समेत रोकिएको थियो ।
विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार यस गौरवको आयोजनाको कुल लागत १ अर्ब ५८ करोड रुपैयाँ अनुमान गरिएको छ । हालसम्म मैदान सम्याउने लगायतका कार्यमा २ करोड ५० लाख रुपैयाँ खर्च भइसकेको छ भने चालू आर्थिक वर्षका लागि सरकारले ६ करोड ३० लाख रुपैयाँ विनियोजन गरेको छ ।
यस केन्द्रमा २१ वटा आधुनिक भौतिक संरचनाहरू निर्माण हुनेछन्, जसमा भलिबल, फुटबल, कराते, बक्सिङ, तेक्वान्दो, बास्केटबल र एथलेटिक्ससहित दुई दर्जनभन्दा बढी खेलका लागि अन्तर्राष्ट्रिय स्तरको पूर्वाधार तयार गरिनेछ ।
यसका साथै अत्याधुनिक स्विमिङ पुल, लैङ्गिकमैत्री छात्रावास, पाहुनाघर र सुरक्षा संरचनासहितको पूर्ण स्पोर्ट्स कम्प्लेक्स बनाउने लक्ष्य राखिएको छ ।जग्गा प्राप्तिसँगै बजेट कार्यान्वयनको बाटो खुलेको भन्दै पातारासी–३ का वडाध्यक्ष गोविन्द रावतले अब जुम्लाको पातारासी क्षेत्र खेल पर्यटनको अन्तर्राष्ट्रिय हब बन्ने र यसले विश्वकै ध्यान तान्ने दाबी गरे । अहिलेसम्म यो क्षेत्र विश्वकै उच्च स्थानमा मार्सीधान फल्ने ठाउँ, पातारासी हिमाल र शंकर झरनाका कारण चिनिँदै आएकोमा अब यस क्षेत्रको पहिचान अन्तर्राष्ट्रिय खेलग्रामका रूपमा समेत थपिएको वडाध्यक्ष रावतको भनाइ छ ।
यद्यपि, यति ठूलो र महत्वाकांक्षी परियोजनालाई सफल र दिगो बनाउन केवल खेलकुद पूर्वाधार मात्र पर्याप्त नहुने स्थानीयको भनाइ छ । यस केन्द्रको पूर्ण उपयोग र विकासका लागि भरपर्दो सडक पहुँच, आकस्मिक स्वास्थ्य सेवा, भरपर्दो सञ्चार सुविधा र जुम्लाका लागि नियमित हवाई उडान जस्ता बहुआयामिक विकासमा सरकारले विशेष ध्यान दिनुपर्ने माग स्थानीय सरोकारवालाहरूले राखेका छन् ।
