सल्यानमा सहकारीमा सदस्य नभएका किसानले पाएनन् मल

सहकारीले शेयर सदस्य बाहेकलाई मल नदिँदा सल्यानका धेरै किसानले रोपाइँ सकिँदासम्म पनि मल किन्न नपाएको गुनासो गरेका छन्।

असार २६, २०८३

विप्लव महर्जन

In Salyan, farmers who are not members of cooperatives did not receive fertilizer

What you should know

सल्यान — धमाधम धान रोपाइँ भइरहेको बेला सल्यानमा सहकारीमा शेयर सदस्य नभएका किसानले सहज रुपमा रासायनिक मल पाउन सकेका छैनन् ।

मल बिक्री गर्ने जिम्मा लिएका सहकारी संस्थाहरुले शेयर सदस्यबाहेकलाई मल नदिँदा अन्य किसानले सहज रुपमा मल पाउन नसकेका हुन् । मलका लागि किसान विभिन्न स्थानमा भौतारिन बाध्य छन् । रोपाइँ सकेको एक साता बितिसक्दा पनि युरिया, डिएपी मल पाउन नसकेको शारदा नगरपालिका–८ का कृष्ण केसीले बताए । मल किन्न विभिन्न सहकारीमा गए पनि सदस्यता नभएकै कारण सहकारीले मल नदिएको उनले गुनासो गरे । ‘श्रीनगर र आसपासका सहकारीमा पटक पटक धाए । चिनेजानेको मान्छेबाट पहल गर्न लगाए तर कुनै फाइदा भएन,’ उनले भने ‘मल हाल्न नपाएपछि धानबाली फस्टाउन सकेको छैन ।’ पहिलेदेखि नै खेतमा रासायनिक मल हाल्दै आएको र घरदेखि खेत धेरै टाढा भएकाले गोबर मल बोकेर लैजान नसकेको उनको भनाई छ ।    

जिल्लाका १० स्थानीय तहमा २९ वटा सहकारीले अहिले रासायनिक मल बिक्रि गर्दै आएका छन् । जसमध्ये सात साना किसान सहकारी संस्था रहेका छन् । स्थानीय तहको माग अनुसार साल्ट ट्रेडिङ कर्पोरेसन सल्यान, कृषि सामग्री संस्थान सुर्खेत र दाङले १ हजार ४ सय २२ मेट्रिक टन युरिया, १ हजार १ सय २४ मेट्रिक टन डिएपी र ३ सय ८३ मेट्रिक टन पोटास सहकारीहरुलाई उपलब्ध गराए पनि सहज रुपमा मल नपाउँदा किसान प्रभावित भएका छन् ।

सहकारीमा सदस्य नभएकै कारण आफुले पनि मल पाउन नसकेको कुमाख गाउँपालिका–२ का किसान भीमबहादुर बस्नेतले बताए । युरिया तथा डिएपी मल नपाएपछि सल्लीबजार र चौरजहारीबाट मगाएको उनले बताए । त्यहाँ युरिया एक बोरा १ हजार ५० र डिएपी २५ सय ५० रुपैयाँ परे पनि थप एक हजार भाडा तिर्नुपरेको उनले बताए । सहकारीले आफ्नो शेयर सदस्यता बढाउन गरेको चलखेलले गर्दा आफुहरु बढी समस्यामा परेको उनको आरोप छ । 

कृषि सामग्री संस्थान तथा साल्ट ट्रेडिङ कम्पनीबाट मल बिक्री गर्ने जिम्मेवारी पाएका सहकारीले विभिन्न किसिमका सर्त राख्दा किसान बढी समस्यामा परिरहेको उद्योग वाणिज्य संघ सल्यानका उपाध्यक्ष राजेन्द्र भण्डारीले बताए । सरकारले मल अभाव नभएको भन्दै आए पनि सहकारीले शेयर सदस्यबाहेकलाई नदिँदा जिल्लाका धेरै किसानले मल पाउन नसकेको गुनासो गरेको उनले सुनाए । 

जनसेवी कृषि सहकारी संस्था श्रीनगरका अध्यक्ष नविन भँडेलले रासायनिक मल वितरणमा आफ्नो शेयर सदस्यलाई पहिलो प्राथमिकता दिएको र सदस्य नभएकालाई पनि पुगेसम्म मल उपलब्ध गराउँदै आएको बताए । किसानहरु खेतीपाती गर्दा रासायनिक मलको मात्र भर पर्दै आएको र पहिलाको तुलनामा माग बढ्दै गए पनि पर्याप्त उपलब्ध गराउन नहुँदा आवश्यकता अनुसार सबै किसानलाई मल उपलब्ध गराउन नसकिएको उनले बताए । 

साल्ट ट्रेडिङ सल्यानका प्रमुख सुरेन्द्र महासेठले आफ्नो सदस्यता बढाउन गरेको चलखेलले सदस्य नभएका किसान समस्यामा परेको बताए । सदस्यता बढाउन सहकारीले चलखेल गर्दै आए पनि कसैले उजुरी नगरेकाले कारबाही गर्न नसकिएको उनले जानकारी दिए । सल्यानका १० स्थानीय तहमा कृषि सामग्री संस्थान सुर्खेतले ७० प्रतिशत र साल्ट ट्रेडिङले ३० प्रतिशत मल सहकारीलाई उपलब्ध गराउँदै आएको छ । ‘साल्ट ट्रेडिङले १ हजार १ सय ४२ मेट्रिक टन मल सहकारीलाई उपलब्ध गराइसकेको छ,’ उनले भने । कार्यालयमा ५० बोरा युरिया, ८० बोरा डिएपी र ५ सय ४० बोरा पोटास मौज्जाद रहेको उनको भनाई छ । 

कृषि सामग्री संस्थान सुर्खेतले बन्गाड कुपिण्डे नगरपालिकाको माग अनुसार पालिकाभित्रका तीन सहकारीलाई २१ मेट्रिक टन युरिया, ३१ मेट्रिक टन डिएपी र पोटास उपलब्ध गराएको कार्यालय प्रमुख ध्रुवराज बोगटीले बताए । १ हजार ४ ३५ मेट्रिकटन मल तुल्सीपुरस्थित शाखा कार्यालयबाट गएको उनले जानकारी दिए ।

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully