विदेशको कमाइ गाउँमा लगानी, माछापालनमा उत्साहित गणेश

विदेशमा वर्षौं श्रम गरेर फर्किएका गणेश बुढाले गाउँमा ट्राउट माछापालनमा चुनौती पार गर्दै परिवारसहित आर्थिक सफलता हासिल गरेका छन्।

असार २४, २०८३

डीबी बुढा

Ganesh excited about investing foreign earnings in the village, fishing

What you should know

जुम्ला — जिल्लाको पातारासी गाउँपालिका–६ घोडासैनका ३५ वर्षीय गणेश बुढा बिहानै दाना बोकेर पोखरीमा पुग्छन् । दुई वटा पोखरीमा उनले माछा पालेका छन् । उनको दैनिकी नै माछा रेखदेखमा बित्ने गरेको छ । दुइटा पोखरीमा हजारौं रेन्बो ट्राउड माछा छन् ।

लामो समय परदेशको तातो मरुभूमिमा पसिना बगाएका बुढा यतिबेला आफ्नै गाउँको शीतल हावापानीमा माछासँगै रमाइरहेका छन् । ‘अहिले माछा मेरा लागि जीविकोपार्जनको माध्यम मात्रै होइन, पहिचानसमेत दिएको छ’ उनी भन्छन् । 

जुम्लाको चन्दननाथ माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेपछि उनी सन् २०१२ मा वैदेशिक रोजगारीका लागि साउदी अरेबिया पुगे । 

विदेश जानुअघि उनले सोचेका थिए, ‘केही वर्ष दुःख गरिन्छ, पैसा कमाइन्छ, घर बनाइन्छ र जीवन सहज हुन्छ ।’ तर वास्तविकता सपनाभन्दा निकै फरक थियो । कठोर श्रम, अपरिचित वातावरण र सीमित आम्दानीबीच बितेका दुई वर्षले उनलाई आर्थिक रूपमा बलियो बनाउन सकेन । बरु नेपाल फर्किंदा उनीसँग करिब चार लाख रुपैयाँ ऋण थियो ।

Ganesh excited about investing foreign earnings in the village, fishing

ऋणले फेरि उनलाई घरमा बस्न दिएन । परिवारको जिम्मेवारी र आर्थिक दबाबले सन् २०१५ मा उनी कुवेत पुग्न बाध्य भए । चार वर्षसम्म निरन्तर श्रम गरे । कमाइ भयो, ऋण पनि विस्तारै घट्दै गयो । तर एउटा प्रश्नले उनलाई बारम्बार झक्झक्याइरहृयो, ‘के जीवनभर यही गर्दै बस्ने?’

उनी गाउँ फर्किए । तर गाउँ फर्किएपछि रोजेको बाटो भने सहज थिएन । ठूलो लगानीमा हुने ट्राउड माछा गाउँमा उनका लागि कठिन थियो । तर उनले जोखिम मोले । परिवारसँग सल्लाह गरे, ‘गणेश कृषि तथा पशुपन्छी पालन उद्योग’ दर्ता गरेर घरनजिकैको खोरी चौतारामा पोखरी खन्न सुरु गरे ।

सुरुआत उत्साहपूर्ण भए पनि सफलता तत्काल आएन । सिन्धुपाल्चोकको हैगुमबाट पाँच हजार ३० वटा ट्राउटका भुरा खरिद गरेर जुम्ला ल्याउँदा बाटोमै दुई हजार दुई सयभन्दा बढी मरे । महिनौंको तयारी र लाखौंको लगानी जोखिममा पर्‍यो । त्यो क्षणमा धेरैले व्यवसाय छोड्न सल्लाह दिए । तर गणेशले भने असफलतालाई अन्तिम सत्य मानेनन् ।

उनले बाँकी रहेका केही भुरा परीक्षणका रूपमा पोखरीमा छोडे । समय बित्दै जाँदा ती सबै स्वस्थ रूपमा हुर्किन थाले । त्यही सफल परीक्षणले उनको आत्मविश्वास फर्काइदियो । त्यसपछि उनले विस्तारै पोखरी थपे, उत्पादन बढाए र आज उनी जुम्लाका सफल ट्राउट उत्पादकमध्ये एक बनेका छन् ।

अहिले उनका दुई पोखरीमा करिब ६ हजार ५ सय ट्राउट हुर्किरहेका छन् । प्रतिकिलो एक हजार आठ सय रुपैयाँमा बिक्री हुने माछाको माग उत्पादनभन्दा धेरै छ । ग्राहकहरू फार्ममै पुगेर माछा किन्छन् । रारा जाने सडकको छेउमा रहेकाले दैनिकजसो पर्यटक पनि यहाँ रोकिन्छन् । ‘कतिपय माछा किन्न आउँछन्, केही केवल हेर्न । तर अधिकांश फर्किंदा एउटै कुरा भन्छन्, जुम्लामा यस्तो पनि सम्भव रहेछ’ उनले भने । 

उनले थपे, ‘पोखरीमा पौडिरहेका ट्राउटहरू वास्तवमा माछा मात्र होइनन्, ती विदेशबाट गाउँ फर्किएका सपनाका जीवित प्रतीक हुन् ।’  आफ्नै माटोमा पसिना बगाउन सक्नेहरूका लागि सम्भावनाको पानी कहिल्यै सुक्दैन भन्ने सन्देश गणेशले दिएका छन् । 

अहिले उनको माछापालन देखेर गाउँलेहरु चकित छन् । गणेशको परिवार पनि सँगै बसेर आयआर्जनको काममा जुट्दा उत्साहित छन् ।

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully