मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत १५ लाखको बजेटमा बनेको सिँचाइ पोखरीले ३५ घरधुरीका किसानलाई वर्षभरि धान, गहुँ र तरकारी खेती गर्न सहज बनाएको छ।
What you should know
सल्यान — जिल्लाको कुमाख गाउँपालिका–५ ल्वालधरीमा सिँचाइ पोखरी निर्माण भएपछि स्थानीय किसानलाई राहत पुगेको छ। मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत १५ लाख रुपैयाँ बजेट र स्थानीयको श्रमदानमा १ लाख ५० हजार लिटर क्षमताको सिँचाइ पोखरी निर्माण भएपछि किसानलाई वर्षभरि सिँचाइ गर्न सहज भएको हो।
सिँचाइ कुलोको अभावमा गत वर्षसम्म वर्षात्को समयमा मकै लगाउने र साउने झरीमा मात्र धान रोप्न बाध्य स्थानीयले सिँचाइ पोखरी निर्माण भएपछि समुद्री सतहदेखि करिब ८ सय मिटर उचाइमा रहेको १ सयभन्दा बढी रोपनी खेतमा समयमै रोपाइँ सम्पन्न गरेका छन्। यसबाट ३५ घरधुरी किसान प्रत्यक्ष लाभान्वित भएका छन्।
सिँचाइ पोखरी निर्माण भएपछि खेतीयोग्य जमिनमा खेतीपाती गर्न विगतजस्तो समस्या नरहेको सिँचाइ पोखरी निर्माण समितिका अध्यक्ष पठे कामीले बताए। उनका अनुसार यसपालि मकै लगाइने खेतमा समेत समयमै धान रोप्न सम्भव भएको छ। ‘खेतमा सिँचाइ गर्न पक्की कुलो छैन। किसानले साउने झरीमा मूल फुटेपछि कच्ची कुलो बनाएर खेती गर्थे। पर्याप्त वर्षात् नभए खेत बाँझै रहन्थ्यो,’ उनले भने, ‘सिँचाइ पोखरीबाट पाइपमार्फत खेतमै पानी पुर्याउन थालेपछि अहिले धेरै सहज भएको छ।’
उनका अनुसार सिँचाइ पोखरीले धानबाली मात्र नभई हिउँदमा लगाइने गहुँबालीलाई पनि फाइदा पुग्नेछ।
स्थानीय किसान खगेन्द्र मल्लले पर्याप्त वर्षात् नहुँदा आधाभन्दा बढी जग्गा बाँझै रहने समस्या अहिले हटेको बताए। उनका अनुसार अब वर्षात्को समयमा धान, हिउँदमा गहुँ मात्र नभई सिँचाइ सुविधा भएकाले व्यावसायिक तरकारी खेती गर्न पनि सहज हुनेछ।
‘धान र गहुँबाट हुने उत्पादनले तीन महिना पनि गुजारा चल्दैन। अब तरकारी खेती गरेर आयआर्जन बढाउन सकिन्छ,’ उनले भने, ‘पहिले आकाशबाट पानी परे दिनरात नभनी घरबाट दौडेर आफ्नो खेतमा पानी लगाउन जानुपर्थ्यो। ढिला भए पालो छुट्थ्यो। सिँचाइ नभएकै कारण धेरै सास्ती थियो। अहिले भने धेरै सहज भएको छ। अब त्यस्तो गर्नुपर्दैन।’
समुद्री सतहदेखि धेरै उचाइमा रहेका खेतमा प्रत्येक वर्ष सिँचाइको समस्या हुने र किसान आकाशे पानीको भरमा धान खेती गर्न बाध्य हुने गरेको कुमाख गाउँपालिका–५ का वडाध्यक्ष पदमबहादुर बुढामगरले बताए। उनका अनुसार सिँचाइ पोखरी निर्माण भएपछि अब किसानले आकाशे पानी कुर्नुपर्ने बाध्यता हटेको छ र नियमित रूपमा खेतीपाती गर्न सक्ने भएका छन्।
