रुकुम पश्चिममा खाना पकाउने ग्यास अभाव

आधा सिलिन्डर ग्यासले एक महिना पनि नधान्ने भएकाले पटक–पटक किन्नु परिरहेको उपभोक्ता मिना शर्मा बताउँछिन् ।

असार २१, २०८३

महेश केसी

Cooking gas shortage in Rukum West

What you should know

रुकुम पश्चिम — रुकुम पश्चिमको जिल्ला सदरमुकाम र आसपासका बजारमा खाना पकाउने एलपी ग्यासको अभाव भएको छ । 

आधा सिलिन्डर त्यो पनि मागअनुसार नपाउँदा उपभोक्ताहरु मारमा परेका छन् । विगत एक/दुई महिनायता बजारको एउटा फुटकर विक्रेताले सातामा राप्ती र मनकामना कम्पनीको ग्यास ५/५ सिलिन्डर बिक्रीका लागि पाउने गरेका छन् । आधा त्यसमा पनि सातामा ५ देखि १० सिलिन्डर पाउने भएकाले ग्राहकको मागअनुसार पुर्‍याउन मुस्किल भइरहेको खलंगा बजारका विक्रेता चन्द्रबहादुर खड्काले बताए । ‘यसपल्ट त हामीले दुई सातापछि पायौं । पसलमा आउनेवित्तिकै ग्राहकको हानथाप भयो,’ उनले भने, ‘ग्यास आउनुभन्दा पहिल्यै ग्राहकहरुले पैसा बुझाउने गर्नुभएको छ । तर ग्यास नै नभएपछि हामीले कसरी पुर्‍याउने ।’

आधा सिलिन्डर ग्यासले एक महिना पनि नधान्ने भएकाले पटक–पटक किन्नु परिरहेको उपभोक्ता मिना शर्मा बताउँछिन् । ‘घरमा ग्यास सकिएको आज २ दिन भयो । बजारभरिका पसल धाइसकेँ, कतै छैन । एक ठाउँ पैसा बुझाएको छु । भोलिसम्म आउला भनेका छन्, हेरौं ।’

जिल्लामा आशा ट्रेडर्सले राप्ती र सृष्टी कोल्ड स्टोरले भेरीको ग्यास आयात गर्ने गरेका छन् । यी दुई होलसेल बिक्रेताबाट खासगरी जिल्ला सदरमुकाम क्षेत्रमा खुद्रा बिक्रेताले लिने गरेका छन् । ग्यास अभावका विषयमा आशा ट्रेडर्सका प्रोप्राईटर मोहविर खड्काले सिलिन्डर आधा आउने भए पनि ट्रकमा ठाउँ उति नै ओगट्ने भएकाले रुकुमजस्ता पहाडी क्षेत्रमा साविककै लागतमा कम ग्यास भित्रिएका कारण यो समस्या आएको बताएका छन् ।

‘कम्पनीले पहिला सातामा एकपल्ट दिने ग्यास तेलको भाउ महँगो भएसँगै महिनामा दुईपल्ट दिने गरेको छ । एकपटकमा ५ सय ५० वटा सिलिन्डर आउँछ । त्यो बेला भरी आउने यी सिलिन्डर आधा आउने गरेका कारण अभाव हुनु स्वाभाविक हो,’ उनले थप भने, ‘तर हामीले सकेसम्म ग्राहकको भान्सा नै बन्द हुने अवस्थामा भने पुर्‍याएका छैनौं । अहिले तेल र ग्यासकै पनि भाउ कम भएको छ । अबको केही दिनमा सहज होला भनेर आशा गरेका छौं ।’ 

महेश केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

Link copied successfully