अत्यधिक रक्तस्राव भएकी गर्भवतीको रुकुमबाट हवाई उद्धार

चौरजहारी अस्पतालमा उपचार सम्भव नभएपछि सेनाको हेलिकोप्टरबाट सुर्खेत लगिएको हो।

असार १९, २०८३

ज्योति कटुवाल

सुर्खेत — रुकुम पश्चिमको चौरजहारी नगरपालिका–५ की २८ वर्षीया रोजिना वलीलाई जटिल प्रसूति समस्यापछि हेलिकोप्टरमार्फत उद्धार गरी सुर्खेतस्थित प्रदेश अस्पताल ल्याइएको छ।

३५ साताकी गर्भवती वलीमा अत्यधिक रक्तस्राव भएपछि अवस्था जटिल बनेको थियो। चौरजहारी अस्पतालमा उपचार सम्भव नभएपछि बिहीबार हेलिकोप्टरमार्फत सुर्खेत लगिएको हो।

उनका श्रीमान् समीर केसीले चौरजहारी अस्पतालमा उपचारका क्रममा स्वास्थ्य अवस्था सुधार नदेखिएपछि चिकित्सकले सुविधा सम्पन्न अस्पतालमा रेफर गरेको बताए। ‘रक्तस्राव धेरै भएपछि अवस्था जटिल बन्यो। दुई दिन आईसीयूमा राखेर उपचार गरियो। त्यसपछि हेलिकोप्टरमार्फत सुर्खेत ल्याइएको हो,’ उनले भने।

महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि निःशुल्क हवाई उद्धार कार्यक्रममार्फत नेपाली सेनाको हेलिकोप्टरले कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याएको हो ।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully