जिल्ला प्रहरी कार्यालय दैलेखले शुक्रबार राति प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूको पहिचान सार्वजनिक गरेको हो ।
सुर्खेत — कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका-७ साँघुटार क्षेत्रबाट कर्णाली नदीमा खसेको फोर्स गाडीमा सवार पाँच जनाको सनाखत भएको छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखले शुक्रबार राति प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूको पहिचान सार्वजनिक गरेको हो । सनाखत भएकामध्ये चालक तुलाराम सुवेदी र सहचालक रामप्रसाद सुवेदी सुर्खेतको पञ्चपुरी नगरपालिका-८ माझीगाउँका हुन्। त्यसैगरी सिर्जना खड्का कालिकोटको रास्कोट नगरपालिका-२ खड्का गाउँका हुन् भने मेखे तिरुवा र जोखे तिरुवा कालिकोटको पचालझरना गाउँपालिका-१ का रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा मृत्यु भएका जोखे तिरुवाको शव आफन्तले सनाखत गरिसकेको र पोस्टमार्टमपछि परिवारलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पुष्पराज रोकायले बताए ।
‘गाडीमा अन्य यात्रु सवार थिए वा थिएनन् भन्ने विषयमा अनुसन्धान जारी छ,' उनले भने, ‘कर्णाली नदीको बहावलाई मध्यनजर गर्दै सीमावर्ती जिल्लाका नदी तटीय क्षेत्रमा समेत समन्वयात्मक रूपमा खोजी कार्य तीव्र पारेका छौं ।’
प्रहरीका अनुसार सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको क ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी बिहीबार राति करिब ११:३० बजे सडकबाट झन्डै ४ सय मिटर तल कर्णालीमा खसेको थियो। दुर्घटनापछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय नागरिकको संयुक्त टोली परिचालन गरी खोज तथा उद्धार कार्य सञ्चालन गरिएको प्रहरीले जनाएको छ।
