चट्याङ लागेर एक युवकको मृत्यु, १५ वटा भेडा मरे

ओदी गाउँको छोटाखर्क क्षेत्रमा चट्याङ पर्दा १९ वर्षीय रविन्द्र रावतको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

असार १८, २०८३

डीबी बुढा

A young man died after being struck by lightning, 15 sheep died

जुम्ला — जुम्लाको हिमा गाउँपालिका–२ स्थित पाटनमा भेडाको बथानमा चट्याङ पर्दा एक युवकको मृत्यु भएको छ। साथै, दर्जनभन्दा बढी भेडाबाख्रा हताहती भएका छन्।

ओदी गाउँको छोटाखर्क क्षेत्रमा चट्याङ पर्दा १९ वर्षीय रविन्द्र रावतको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

उनी भेडा चराउन पाटन गएका थिए। प्रहरीका अनुसार १५ वटा भेडा मरेका छन्। रविन्द्रसँगै भेडा चराउन गएका बलबहादुर रोकाया र जगत रोकाया घाइते भएका छन्।

जुम्ला प्रहरी प्रमुख डीएसपी चिरञ्जीवी दाहालले घटनास्थलमा प्रहरी टोली परिचालन गरिएको बताए। ‘भौगोलिक हिसाबले दुर्गम क्षेत्र भएकाले त्यहाँ प्रहरी टोली पुग्न केही समय लाग्ने देखिन्छ। टोली पुग्नेबित्तिकै यथार्थ जानकारी प्राप्त हुनेछ,’ उनले भने।

यस्तै, जुम्लाको चन्दननाथ नगरपालिका–१०, बोहोरागाउँस्थित सिद्धि गणेश सामुदायिक वनमा पनि चट्याङ पर्दा १२ वटा खसीबाख्रा मरेका छन्।

बुधबार अपराह्न करिब साढे ३ बजे सामुदायिक वन क्षेत्रमा चरिरहेका खसीबाख्रामा चट्याङ परेको थियो। जसबाट पाँच किसानका १२ वटा खसीबाख्रा मरेका हुन्। मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

प्रहरीका अनुसार दलबहादुर कामीको १ वटा, धनराज विकको ३ वटा, ज्योति नेपालीको १ वटा, गोबी सार्कीको १ वटा र सिंह नेपालीको ६ वटा गरी जम्मा १२ वटा खसीबाख्रा मरेका हुन्।

घटनाबारे स्थानीय दलबहादुर कामीले टेलिफोनमार्फत प्रहरीलाई जानकारी दिएका थिए। खबर प्राप्त हुनेबित्तिकै प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक मुचुल्का तयार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully