उपचारमै सम्पत्ति रित्तियो, सुधार नहुँदा झन् थलिए दीपराज र शंकर

पाँच वर्षदेखि शंकर बुढा र साढे दुई वर्षदेखि दीपराज रावत मेरुदण्डसम्बन्धी समस्याले थलिएपछि घरपरिवारको दैनिकी संकटग्रस्त बन्दै गएको छ।

असार १७, २०८३

डीबी बुढा

Deepraj and Shankar's wealth was depleted during treatment, and they became even more frustrated due to lack of improvement.

What you should know

जुम्ला —  

पातारासी गाउँपालिका–७ पटमारागाउँका ३७ वर्षीय शंकर बुढा पाँच वर्षदेखि बिरामी छन् । मेरुदण्डमा समस्या देखिएका उनको तल्लो शरीरले काम गर्दैन । लामो समयदेखि थलिएका उनी सामान्य उपचारले निको भएनन् । बरु आर्थिक अभावका कारण झन् थलिँदै गएका छन् ।  

खर्च जोहो गर्ने मुख्य व्यक्ति नै थलिएपछि अहिले शंकरको परिवार बिचल्लीमा छ । 

भेडा पालन गर्दै आएका शंकरसँग दुर्गमका ढुवानी साधन मानिएका खच्चरसमेत थिए । आवश्यक पर्दा त्यही भेडा र खच्चर बेचर खर्च जुटाउँथे उनी । तर अहिले उनीसँऊ केही छैन । छ त केवल आर्थिक बोझ र परिवार कसरी पाल्ने भन्ने चिन्ता ।

‘अहिले म हिँड्डुल गर्न सक्दिनँ । कृषिमा निर्भर रहेको परिवारको बिचल्ली छ,’ उनले भने, ‘म अलपत्र छु । मृत्यु पर्खेर बसिरहेको अनुभूति भइरहन्छ ।’ शंकर दक्ष मिस्त्री पनि हुन् । उनीसँग काठमाडौंसम्म पुगेर मिस्त्री काम गरेको अनुभव छ । तर अहिले स्वास्थ्यमा समस्या देखिएपछि ६ जनाको परिवार कसरी पाल्ने भन्ने तनाव छ । 

घरमा उनकी पत्नीबाहेक कमाउन सक्ने अर्को जनशक्ति छैन । पत्नीको कमाइले परिवारको लालनपानमै पुग्दैन । 

शंकर आफैं शौचालयसम्म पनि जान सक्दैनन् । उताउति गर्न स्तरीय ह्वीलचियरसमेत छैन । गाउँका १८५ परिवारले न्यूनतम २० देखि पाँच सय रुपैयाँसम्म उठाएर उनको उपचारमा सहयोग गरेका थिए । तर त्यतिले पर्याप्त नभएको शंकर बताउँछन् ।

गाउँपालिकाले अपाङ्गताको ‘क’ वर्गको कार्ड दिएको छ । जसवापत मासिक ४ हजार रुपैयाँ पाइरहेका छन् । उनले भने, ‘पहिले सबैथोक थियो । अहिले सबैथोक गुम्यो ।’ तीनपटक नेपालगन्जसम्म पुगेर उपचार गराएका उनी उपचारकै लागि दुई पटक काठमाडौं पनि पुगे । ‘एकपटक लखनउ पुगेँ । तर सुधार भएन । अहिलेसम्म १९ लाख रुपैयाँ खर्च भइसकेको छ । अब त अरु समस्या थपियो भने के गर्ने ?’ उनी भन्छन् ।

अस्पतालमा चिकित्सकले कम्मरमुनिको भाग नचल्नुको कारण यही हो भनेर पनि एकिन गर्न सकेका छैनन् । निको भइहाल्छ भन्ने आश्वासन दिने गरेकै पाँच वर्ष भइसकेको शंकर बताउँछन् । शंकर बिरामी भएदेखि नै परिवारमा उत्साहको माहोल हराएको पत्नी विनकली बुढाको भनाइ छ ।

यस्तै पातारासी–७ पटमाराकै ५३ वर्षीय दीपराज रावत साढे २ वर्षदेखि थलिएका छन । उनको पनि मेरुदण्डमा समस्या देखिएको छ । दुवै खुट्टा चल्दैनन् । दिसा–पिसाब कतिखेर झर्छ थाहा पाउँदैनन् । घर भित्रबाहिर गर्न पनि परिवारको सहायता चाहिन्छ । 

उनी पनि आफ्नो समस्या लिएर भारतको सिम्लादेखि काठमाडौं र नेपालगन्जका सुविधासम्पन्न अस्पतालमा धाए । ‘अस्पतालले सामान्य समस्या भन्छ तर मेरो आधार शरीर चल्दैन,’ दीपराज भन्छन्, ‘म बिरामी भएदेखि परिवारको अवस्था नाजुक छ ।’ जति धेरै औषधि सेवन गर्‍यो उति धेरै कमजोर महशुस हुँदै आएको उनको भनाइ छ । 

‘शरीर सुन्निने, श्वासप्रश्वासमा समस्या देखिने गरेको छ । पहिला त खुट्टाहरु सामान्य रुपमै चलिरहेका थिए । तर नशा च्यापिएको भन्दै शल्यक्रिया गरिएपछि नै खुट्टाहरु नचल्ने समस्या देखिएको छ,’ उनले भने । ६ जनाको परिवार छ । उनीसँग ह्वीलचियर त परै जाओस उठबस गर्ने बैशाकीसमेत छैन । 

पालिकाले ‘ख’ बर्गको अपाङ्गता परिचय पत्र बनाइदिएको छ । उपचारकै लागि भएको सम्पत्ति बिक्री गरेको र त्यतिले नपुगेपछि ऋणसमेत गर्दा पनि समस्या समाधान नभएको उनको भनाइ छ । दीपराज र शंकरले भोगिरहेको समस्याबारे राष्ट्रिय मानवअधिकार आयोग कर्णाली प्रदेश शाखा जुम्लाले चासो देखाएको छ । कार्यालय प्रमुख कल्पना नेपाल आचार्य उनीहरुको घरमै पुगेर अवस्था बुझेर फर्किएकी छिन् । 

उनले तत्काल उनीहरुको राहत र संरक्षण गर्न, सुरक्षा र पुर्नस्थापना र दीर्घकालिन अभिभावकत्वका लागि पातारासी गाउँपालिकालाई पत्र पठाएको बताइन् । आचार्यले भनिन्, ‘उनीहरुको उपचार मात्र नभएर जीविकोपार्जनका क्रियाकलापमासमेत साथ दिनुपर्ने देखिएको छ ।’ उनले जिल्ला प्रशासन कार्यालय जुम्ला र सामाजिक विकास कार्यालयलाई समेत बोधार्थ पठाउँदै आवश्यक सहयोग गर्न आग्रह गरेकी छिन् । 

सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख टोपबहादुर बुढाले उनीहरुको समस्या हेरेर हृवील चेयरसम्म सहयोग गर्न सकिने बताए ।

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully