पाँच वर्षदेखि शंकर बुढा र साढे दुई वर्षदेखि दीपराज रावत मेरुदण्डसम्बन्धी समस्याले थलिएपछि घरपरिवारको दैनिकी संकटग्रस्त बन्दै गएको छ।
What you should know
जुम्ला —
पातारासी गाउँपालिका–७ पटमारागाउँका ३७ वर्षीय शंकर बुढा पाँच वर्षदेखि बिरामी छन् । मेरुदण्डमा समस्या देखिएका उनको तल्लो शरीरले काम गर्दैन । लामो समयदेखि थलिएका उनी सामान्य उपचारले निको भएनन् । बरु आर्थिक अभावका कारण झन् थलिँदै गएका छन् ।
खर्च जोहो गर्ने मुख्य व्यक्ति नै थलिएपछि अहिले शंकरको परिवार बिचल्लीमा छ ।
भेडा पालन गर्दै आएका शंकरसँग दुर्गमका ढुवानी साधन मानिएका खच्चरसमेत थिए । आवश्यक पर्दा त्यही भेडा र खच्चर बेचर खर्च जुटाउँथे उनी । तर अहिले उनीसँऊ केही छैन । छ त केवल आर्थिक बोझ र परिवार कसरी पाल्ने भन्ने चिन्ता ।
‘अहिले म हिँड्डुल गर्न सक्दिनँ । कृषिमा निर्भर रहेको परिवारको बिचल्ली छ,’ उनले भने, ‘म अलपत्र छु । मृत्यु पर्खेर बसिरहेको अनुभूति भइरहन्छ ।’ शंकर दक्ष मिस्त्री पनि हुन् । उनीसँग काठमाडौंसम्म पुगेर मिस्त्री काम गरेको अनुभव छ । तर अहिले स्वास्थ्यमा समस्या देखिएपछि ६ जनाको परिवार कसरी पाल्ने भन्ने तनाव छ ।
घरमा उनकी पत्नीबाहेक कमाउन सक्ने अर्को जनशक्ति छैन । पत्नीको कमाइले परिवारको लालनपानमै पुग्दैन ।
शंकर आफैं शौचालयसम्म पनि जान सक्दैनन् । उताउति गर्न स्तरीय ह्वीलचियरसमेत छैन । गाउँका १८५ परिवारले न्यूनतम २० देखि पाँच सय रुपैयाँसम्म उठाएर उनको उपचारमा सहयोग गरेका थिए । तर त्यतिले पर्याप्त नभएको शंकर बताउँछन् ।
गाउँपालिकाले अपाङ्गताको ‘क’ वर्गको कार्ड दिएको छ । जसवापत मासिक ४ हजार रुपैयाँ पाइरहेका छन् । उनले भने, ‘पहिले सबैथोक थियो । अहिले सबैथोक गुम्यो ।’ तीनपटक नेपालगन्जसम्म पुगेर उपचार गराएका उनी उपचारकै लागि दुई पटक काठमाडौं पनि पुगे । ‘एकपटक लखनउ पुगेँ । तर सुधार भएन । अहिलेसम्म १९ लाख रुपैयाँ खर्च भइसकेको छ । अब त अरु समस्या थपियो भने के गर्ने ?’ उनी भन्छन् ।
अस्पतालमा चिकित्सकले कम्मरमुनिको भाग नचल्नुको कारण यही हो भनेर पनि एकिन गर्न सकेका छैनन् । निको भइहाल्छ भन्ने आश्वासन दिने गरेकै पाँच वर्ष भइसकेको शंकर बताउँछन् । शंकर बिरामी भएदेखि नै परिवारमा उत्साहको माहोल हराएको पत्नी विनकली बुढाको भनाइ छ ।
यस्तै पातारासी–७ पटमाराकै ५३ वर्षीय दीपराज रावत साढे २ वर्षदेखि थलिएका छन । उनको पनि मेरुदण्डमा समस्या देखिएको छ । दुवै खुट्टा चल्दैनन् । दिसा–पिसाब कतिखेर झर्छ थाहा पाउँदैनन् । घर भित्रबाहिर गर्न पनि परिवारको सहायता चाहिन्छ ।
उनी पनि आफ्नो समस्या लिएर भारतको सिम्लादेखि काठमाडौं र नेपालगन्जका सुविधासम्पन्न अस्पतालमा धाए । ‘अस्पतालले सामान्य समस्या भन्छ तर मेरो आधार शरीर चल्दैन,’ दीपराज भन्छन्, ‘म बिरामी भएदेखि परिवारको अवस्था नाजुक छ ।’ जति धेरै औषधि सेवन गर्यो उति धेरै कमजोर महशुस हुँदै आएको उनको भनाइ छ ।
‘शरीर सुन्निने, श्वासप्रश्वासमा समस्या देखिने गरेको छ । पहिला त खुट्टाहरु सामान्य रुपमै चलिरहेका थिए । तर नशा च्यापिएको भन्दै शल्यक्रिया गरिएपछि नै खुट्टाहरु नचल्ने समस्या देखिएको छ,’ उनले भने । ६ जनाको परिवार छ । उनीसँग ह्वीलचियर त परै जाओस उठबस गर्ने बैशाकीसमेत छैन ।
पालिकाले ‘ख’ बर्गको अपाङ्गता परिचय पत्र बनाइदिएको छ । उपचारकै लागि भएको सम्पत्ति बिक्री गरेको र त्यतिले नपुगेपछि ऋणसमेत गर्दा पनि समस्या समाधान नभएको उनको भनाइ छ । दीपराज र शंकरले भोगिरहेको समस्याबारे राष्ट्रिय मानवअधिकार आयोग कर्णाली प्रदेश शाखा जुम्लाले चासो देखाएको छ । कार्यालय प्रमुख कल्पना नेपाल आचार्य उनीहरुको घरमै पुगेर अवस्था बुझेर फर्किएकी छिन् ।
उनले तत्काल उनीहरुको राहत र संरक्षण गर्न, सुरक्षा र पुर्नस्थापना र दीर्घकालिन अभिभावकत्वका लागि पातारासी गाउँपालिकालाई पत्र पठाएको बताइन् । आचार्यले भनिन्, ‘उनीहरुको उपचार मात्र नभएर जीविकोपार्जनका क्रियाकलापमासमेत साथ दिनुपर्ने देखिएको छ ।’ उनले जिल्ला प्रशासन कार्यालय जुम्ला र सामाजिक विकास कार्यालयलाई समेत बोधार्थ पठाउँदै आवश्यक सहयोग गर्न आग्रह गरेकी छिन् ।
सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख टोपबहादुर बुढाले उनीहरुको समस्या हेरेर हृवील चेयरसम्म सहयोग गर्न सकिने बताए ।
