किसानको हौसला बढाउँदै 'गोठालो भत्ता'

कर्णाली प्रदेश सरकारले ५० भन्दा धेरै भेडा पाल्ने किसानलाई वार्षिक रूपमा एकमुष्ट १८ हजार रुपैयाँ 'गोठालो भत्ता'बापत दिने व्यवस्था गरेको छ ।

असार १७, २०८३

डीबी बुढा

'Shepherd's Allowance' Boosts Farmers' Morale

What you should know

जुम्ला — सिंजा गाउँपालिका–६ की हैतुना रावतले वर्षको एकमुष्ट १८ हजार रुपैयाँ 'गोठालो भत्ता' बुझेपछि निकै खुसी भइन् । एक सयभन्दा धेरै भेडा पालन गरेकी हैतुनाले 'गोठालो भत्ता'ले हौसला मिलेको बताइन् । 

दुर्गम क्षेत्रमा भेडापालन गर्दा निकै कष्ट बेहोर्नुपर्ने हुन्छ । यो रकमले भेडामा देखिने रोगको उपचारदेखि गोठाला जाँदा लाग्ने खर्च सहज बनेको उनको भनाइ छ । सिंजा–६ की बसम रावतका ८० वटा भेडा छन् । आर्थिक अभावका कारण व्यवसाय संकटमा परेको सुनाउने बसम अहिले 'गोठालो भत्ता'ले किसानलाई उत्साहित बनाइरहेको सुनाउँछिन् । 

उनले भनिन्, ‘किसानलाई सरकारले हेर्दैन भन्ने गुनासो सर्वत्र सुनिन्थ्यो तर अहिले भेडापालन गर्दा पनि गोठालो भत्ताको व्यवस्था गरेको छ । यो भत्ताले हामीजस्ता दुर्गमका विपन्न किसानलाई निकै राहत मिलेको छ ।’ 

कर्णाली प्रदेश सरकारले ५० भन्दा धेरै भेडा पाल्ने किसानलाई वार्षिक रूपमा एकमुष्ट १८ हजार रुपैयाँ गोठालो भत्ता दिने व्यवस्था गरेको छ । जुम्लाका किसानले न्यूनतम ८० देखि सात सयभन्दा धेरै भेडा पालन गर्ने गरेको तथ्यांक पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाको छ । 

तथ्यांक अनुसार जुम्लामा ८८ हजार भेडा र ४६ हजार ३ सय ६ बाख्रा पालन गरिएको छ । ६९ हजार हेक्टर चरन क्षेत्र रहेको जुम्लाका आठ स्थानीय तहका ६० वटै वडामा भेडापालन हुँदै आएको कार्यालय प्रमुख ज्ञानेन्द्रसिंह बुढ्थापाले जानकारी दिए । उनले भने, ‘गोठालो भत्ताले किसानलाई हौसला मात्र दिइरहेको छैन । किसानका समस्या सम्बोधनसमेत गरेको छ ।’ यो आर्थिक वर्षमा ३ सय ६८ जना भेडा पालेका किसानले गोठालो भत्ता प्राप्त गरेका छन् । 

किसानहरूको भेडापालन व्यवसायको स्थलगत अनुगमन, मूल्याङ्कन र प्रतिवेदनका आधारमा किसानले गोठालो भत्ता पाउने गरेका छन् । पहिले किसानको आवेदन लिइन्छ,’ प्रमुख बुढ्थापाले भने, ‘पछि भेडा पालेको स्थानमै गएर स्थलगत अनुगमन गरेर मात्रै भुक्तानी हुने गर्छ ।’ उनका अनुसार आवेदन दिएका किसानले भेडापालन गरिरहेका छन् कि छैनन् भन्ने यकिन गर्न सम्बन्धित वडा जनप्रतिनिधिसँग समन्वय गरिन्छ । 

गोठालो भत्ता दिन बनेको कार्यविधि अनुसार ५० भन्दा धेरै भेडापालन गर्ने किसानले मात्र गोठालो भत्ता पाइरहेका छन् । मासिक १ हजार ५ सय रुपैयाँका हिसाबले किसानलाई भत्ता उपलब्ध गराइने गरेको छ । 

अहिलेसम्म  ६६ लाख २४ हजार रुपैयाँ गोठालो भत्ताबापतको रकम किसानको खातामा जम्मा भइसकेको छ भने ११ लाख १७ हजार ४ सय ६० रुपैयाँ बाँकी छ । चालु आर्थिक वर्ष २०८२/८३ मा प्रदेश सरकारले ७७ लाख ४२ हजार रुपैयाँ गोठालो भत्ताका लागि छुट्याएको थियो । सिंजाका रणबहादुर रावतले गोठालो भत्ताको रकमले भेडा पालनका लागि आवश्यक पर्ने सामाग्ररु किनेर प्रयोग गरिरहेको बताए । 

पशु अस्पताल तथा पशु सेवा कार्यालयले भौतिक संरचना निर्माण, खर्क सुधार कार्यक्रमदेखि चरन क्षेत्रको विस्तारमा समेत प्राथमिकताका साथ काम गरिरहेको छ । यो कार्यक्रम तत्कालीन कर्णाली अञ्चलका जुम्ला, हुम्ला, डोल्पा, कालिकोट र मुगु जिल्लामा लागू भएको छ । यो कार्यक्रम आर्थिक वर्ष २०७८/७९ देखि लागू भएको हो ।

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully