सल्यानको कुमाखका ११ श्रमिक सम्मानित

पालिकाले नेटा–बाल्ले सडक खण्डमा आफ्नो ज्यान जोखिममा पारेर इमान्दारीका साथ उत्कृष्ट काम गर्ने श्रमिकलाई नगदसहित सम्मान गरेको हो ।

असार १७, २०८३

विप्लव महर्जन

11 workers from Kumakh, Salyan honored

सल्यान — कुमाख गाउँपालिकाले उत्कृष्ट काम गर्ने ११ जना श्रमिकलाई सम्मान गरेको छ । श्रमिकलाई खादा लगाई नगदसहित सम्मान गरेको हो ।

पालिकाले वडा नं ५ को भौगोलिक विकटता भएको नेटा–बाल्ले सडक खण्डमा आफ्नो ज्यान जोखिममा पारेर इमान्दारीका साथ उत्कृष्ट काम गर्ने पावर्ती कार्की, रूपा कुमाई, सम्झना विक, यज्ञबहादुर बुढाथोकी, सरिता कुमाई, प्रेमप्रकाश सुनार, यमुना परियार, चमेली बोहरा, रीता बुढाथोकी, मनवीर कुमाई र विमला केसीलाई सम्मान गरेको हो ।

राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम र पालिका साझेदारीमा विनियोजित ९ लाख रुपैयाँबाट संचालन गरिएको योजनालाई जिम्मेवारीपूर्वक गुणस्तरीय, तोकेको समयमै सम्पन्न गरेपछि श्रमको सम्मान गर्दै ११ जना श्रमिकलाई सम्मान गरिएको पालिकाका रोजगार संयोजक जीवन शर्माले बताए । 

उनका अनुसार सम्मान कार्यक्रमले श्रमिकमा आउँदा दिनमा इमान्दारीपूर्वक काम गर्नेतर्फ उत्साहित गर्नेछ । पालिकाले इमान्दारीपूर्वक गुणस्तरीय काम गर्ने  श्रमिकलाई आउँदा दिनमा पनि सम्मान गर्ने र यसलाई अभियानकै रूपमा अगाडि बढाउने बताएको छ ।

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully