लामो समयदेखिको खडेरीले मुहान सुक्दा महिलाहरु घण्टौँ हिँडेर पानी ल्याउन खोला धाउन बाध्य भएका छन्।
What you should know
सल्यान — कालीमाटी गाउँपालिकाले एक करोड बजेट विनियोजन गरेर वडा १ को कोटमा खानेपानी योजना संचालन गरेको चार वर्ष भयो । योजना अहिलेसम्म सम्पन्न हुन नसक्दा बस्तीका २२ परिवार एक गाग्री खानेपानीका लागि ४५ मिनेट हिँडेर मुहान जान बाध्य हुँदै आएका थिए ।
लामो समयदेखि परेको खडेरीका कारण मुहान सुक्दै गएपछि स्थानीय महिला एक गाग्री पानीका लागि एक घन्टा बढी हिँड्न बाध्य छन् । प्रतिदिन समस्या बढ्दै गएपछि स्थानीय महिला खोलाको पानी ल्याएर समेत प्रयोग गर्न बाध्य हुँदै आएका छन् ।
कालीमाटी गाउँपालिकाको कोट मात्र नभई खडेरीले मुहान सुक्दै गएपछि सल्यानको उपल्लो भेगका दर्जनौं बस्तीमा खानेपानीको अभाव भएको छ । कालीमाटीको चोत्रे, कोटलगायतका बस्ती, बन्गाड कुपिण्डे नगरपालिकाको मैदु, काराकोट, काफलपानी, देउली, डोब्के, थारा, कुपिण्डे, अधेरी, सिमलचौर, कपुरकोटको दानबाङ्ग, कपुरकोट, गर्पा, रिम, खहरे, सिनवाङ्ग, छत्रेस्वरीको दमाचौर गुरासे, गर्चे, लेखपोखरा, बाग्चौर नगरपालिकाको खाली, चारखोला, बाङ्गेलाखुरी, कोटबारा, कोटमौला, कोटबेद, कुमाखको हिले, तुरतुरे, सेरिपाटा, गुर्दासे, दार्माको रतीखोला, चम्पुटाकुरा, अधेरीखोला, काफलगैरा, ओजाबाङ्ग, शारदा नगरपालिकाको पिपलनेटा, साईलाकम्त, साहुटोला, मधमकाँडा, सुनचौर र त्रिबेणी गाउँपालिकाको माथिल्लो भेगका बस्तीमा खानेपानीको अभाव भएको हो ।
जेठ महिनायता छिटपुट केही दिन वर्षात भए पनि हवात्तै बढेको गर्मीले धेरै मुहान सुकेको र लिप्ट खानेपानी योजना सम्पन्न गरेका स्थानमा नियमित पानी आउन छाडेपछि स्थानीय खानेपानीको लागि आधादेखि एक घण्टा हिँड्न बाध्य छैन् । कतिपय त खोलाको पानी प्रयोग गर्न बाध्य छन् ।
सम्पन्न योजनाको मुहानमा समेत पानी घटे पनि समस्या उत्पन्न भएको छ । मुहान सुक्दै गएपछि पछिल्लो समयमा जिल्लाका झन्डै २० हजार परिवार प्रभावित भएका छन् । खानेपानी तथा उर्जा विकास कार्यालयले १ करोड बढी खर्च गरेर लिफ्ट खानेपानी योजना सम्पन्न परे पनि खडेरीले मुहान सुक्दै गएपछि गत जेठदेखि तीन दिनको एक पटक मात्र धारमा पानी भर्ने पालो आउने गरेको पालो आउने गरेको कालीमाटी गाउँपालिका १ चोत्रेका स्थानीय केशर खत्रीले बताए । धारामा नियमित पानी नआउँदा ३५ परिवार प्रभावित भएका उनले जानकारी दिए ।
उनले भने, ‘बस्तुभाउलाई पाउनी खुवाउन र सरसफाईका लागि खोलै झर्नुपर्ने अवस्था सृजना भएको छ । केही दिन बर्षात नभए खानेपानीको हाहाकार हुने अवस्था छ । विगतमा खानेपानीको समस्याकै कारण धेरैले बसाइँ सरेका थिए ।’
बस्ती आसपासका धेरैजसो मुहान खडेरीले सुकेकाले एक गाग्री पानीको लागि अहिले आधा घन्टा बढी समय हिँडेर जंगल र खोलाको छेउछाउमा भएको मुहान धाउनुपर्ने अवस्था सृजना भएको बन्गाड कुपिण्डे नगरपालिका ६ गोगनकटेराकी ४५ वर्षीया विमला बुढाले बताइन् । एक गाग्री पानीको लागि मुहानमा आधा घन्टा बढी समय कुर्नुपर्ने उनले जानकारी दिइन् ।
‘विगतमा योजना नपरेका कारण लामो समयदेखि मुहानको पानीको भर पर्दै आएका थियौं । धेरैजसो मुहान सुकेपछि अहिले अहिले खानेपानीकै चिन्ताले सताउने गर्छ । राम्रोसँग सुत्न नपाई अधेरै टर्च बालेर मुहानमा धाउनु पर्छ । समयमै मुहानमा नपुगे पानी भर्न नपाई त्यत्तिकै फर्कनु पर्ने अवस्था आउँछ,’ उनले भनिन्, ‘पानीको समस्या भएकाले पढ्ने बालबालिका नियमित विद्ययालय जान पाउदैनन् भने सरसफाई गर्न पाएका छैनन् ।’
शारदा नगरपालिका ४ की पवित्रा बोहराले पाँच दिन लगातार धारामा पानी नआएपछि खाना पकाई खान कठिनाई भएको बताइन् । घरमै धारा भए पनि पानीको लागि ४५ मिनेटको दुरीमा रहेको मुहान धाउनु परेको उनले जानकारी दिइन् । ‘खानेपानी उपभोक्ता समितिका पदाधिकारीलाई बारम्बार आग्रह गर्दा पनि खडेरीले मुहानमा पानी घटेको र बचेको किसानले खेतमा प्रयोग गरेको त कहिले के समस्या भएको भन्दै टार्दै आएका छन्,’ उनले भनिन् ।
बन्गाड कुपिण्डे नगरपालिका ६ का वडाध्यक्ष गणेश बुढाले पानीको राम्रो स्रोत नभएको र गर्मीको समयमा मुहान सुक्दा वडाको काराकोट, चौतारा, मैदु, डुराखोला, लाम्पाटा, श्रीचवर, गोगानकटेरा बस्तीमा विगतदेखि चैतदेखि असारसम्म पनि खानेपानीको हाहाकार हुने गरेको र अहिले पनि त्यही समस्या दोहोरिएको बताए ।
लिफ्ट खानेपानी योजना सम्पन्न गरेर घरघरमा धारा जडान गरे पनि खडेरीले नियमित पानी नआउँदा पालिकाको माथिल्लो भेगका सबै बस्तीका ३ हजार परिवार प्रभावित भएका कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर पुनले बताए । मुहान सक्दै गएकाले दुई/तीन दिन विराएर आधा घन्टा जति धारामा पानी आउने गर्दा टाढाका मुहान धाउन थालेको उनले जानकारी गराए । पानीको समस्या मात्र नभई किसानले तरकारीमा सिँचाइ गर्न नपाएको उनको भनाई छ ।
कुमाख गाउँपालिकाका खानेपानी तथा सरसफाई कार्यक्रम प्रमुख भरत डाँगीले भएका मुहान सुक्दै गएको र सबै स्थानमा खानेपानी योजना सम्पन्न हुन नसक्दा खानेपानीको धेरै समस्या भएको बताए । उनका अनुसार विगतमा खानेपानी तथा उर्जा विकास कार्यालय, पालिका र विभिन्न संस्थाले निर्माण सम्पन्न गरेका खानेपानी योजनाको मुहानमा पानी घटेकै कारण समस्या भएको हो । बर्षात भएमा पानी समस्या कम हुँदै जाने उनको भनाई छ ।
खानेपानी तथा सरसफाई परियोजनाले १७ वटा लिफ्ट खानेपानी योजना सम्पन्न गरे पनि दार्मामा अझै १ हजार ५ सय परिवार खानेपानीको पहुँच बाहिर रहेको दार्माका खानेपानी तथा सरसफाई परियोजना संयोजक दिप चन्दले बताए । सोलार लिफ्ट खानेपानी योजना सम्पन्न गरिएका केही स्थानमा घाम नलागे धारामा पानी नआउने भएकाले खानेपानीको लागि दुई घन्टासम्म हिँड्नु पर्ने अवस्था रहेको उनले जानकारी दिए । खानेपानी समस्या भएका बस्तीमा योजना संचालनको तयारी भइरहेको उनको भनाई छ ।
खानेपानी तथा उर्जा विकास कार्यालय सल्यानका प्रमुख अनुप श्रेष्ठले जिल्लाभरी नै खानेपानी समस्या समाधानको लागि यो वर्ष एक सय योजना संचालन भइरहेको र आउने वर्षका लागि २ सय ५० योजना माग गरिएको बताए ।
