असार दोस्रो सातासम्म सल्यानमा ४५ प्रतिशत रोपाइँ

खडेरीका कारण खोलामा पानी कम हुँदा किसानले खेत जोतेर ठिक्क पारे पनि रोपाइँ गर्न सकेका छैनन् ।

असार १५, २०८३

विप्लव महर्जन

45 percent planting in Salyan by the second week of Ashar

What you should know

सल्यान — गत वर्ष असार दोस्रो सातासम्म ८० प्रतिशत रोपाइँ भएको सल्यानमा यो वर्ष झन्डै ४५ प्रतिशत खेतमा मात्र धान रोपिएको छ । लामो समयदेखिको खडेरीले खोलामा पानी घटेपछि यसपाली जिल्लामा असार दोस्रो सातासम्म झन्डै ४५ प्रतिशत मात्र रोपाइँ हुन सकेको हो । 

समयमै बर्षात नहुँदा खोलामा पानीे घटेपछि असार दोस्रो सातासम्म जिल्लाको शारदा नदी आसपासका खेत, दार्मा, त्रिवेणी, छत्रेश्वरी, सिद्धकुमाख गाउँपालिकाको मुहाननजिकै भएका खेतमा मात्र रोपाइँ भएको छ । जिल्लाका धेरै स्थानमा किसानले रोपाइँका लागि खेत जाोतेर ठिक्क पारे पनि रोप्न पाएका छैनन् ।  

६ हजार ५९ हेक्टर क्षेत्रफल खेत रहेकोमा आइतबारसम्म २ हजार ७ सय जति हेक्टर खेतमा रोपाइँ भएको कृषि विकास कार्यालय सल्यानका प्रमुख महेश आचार्यले बताए । कृषि विकास कार्यालयले सिँचाइको लागि प्रत्येक वर्ष धमाधम कुलो निर्माण गरे पनि समयमै वर्षात नभएकै कारण किसानले धान रोपाइँ गर्न नपाएको उनले बताए । 

उनका अनुसार जिल्लाको बाग्चौर, शारदा नगरपालिका, सिद्धकुमाख, छत्रेश्वरी, त्रिवेणी र कालीमाटी गाउँपालिकामा पर्ने शारदा नदीको छेउछाउमा भएका खेत, दार्मा, कुमाख, छत्रेश्वरी गाउँपालिकाको मुहाननजिकै भएका खेतमा रोपाइँ सम्पन्न भएको छ ।  बन्गाड कुपिण्डे नगरपालिकाको बन्गाड खोलामा रहेको खेत, कुमाख गाउँपालिकाको रागेचौरस्थित मर्मखोला आसपासका खेत र अन्य खहरेखोलाबाट लाग्ने खेतमा रोपाइँ हुन सकेको छैन । बर्षात नभए पनि किसानले खेत जोतेर ठिक्क पारिसकेको उनको भनाई छ । 

गत वर्ष असार दोस्रो सातमा पालिकाभरी ७ सय ८७ हेक्टर खेतमा रोपाइँ सम्पन्न भैसकेकोमा यसपाली त्यसको आधा मात्र भएको त्रिबेणी गाउँपालिकाकी कृषि शाखा प्रमुख सुशन गौतमले बताइन् । शारदा र लुहाम खोलामा पानी धेरै कम भएकाले किसान आलोपालो गर्दै रोपाइँ गर्दै आएका उनले जानकारी गराइन् ।  

बन्गाड कुपिण्डे नगरपालिकाका कृषि शाखा प्रमुख नारायण बेल्बासेले बन्गाडमा ६ सय ५ हेक्टर रोपाइँ गर्ने खेतीयोग्य जग्गा भएकोमा अहिलेसम्म वडा ६ र ११ को बीचमा पर्ने ढोरपिपल नजिकैको स्थानमा रहेका केही खेतमा मात्र रोपाइँ सकिएको र अन्य सबैमा बाँकी रहेको बताए । 

दार्मा गाउँपालिकाका कृषि शाखा प्रमुख रामहरि गैरेले पालिकाभरी ३ सय ४७ हेक्टर खेत रहेकोमा ९४ प्रतिशतमा रोपाइँ सम्पन्न भएको बताए । स्थानीय खोलामा पानी कम भए पनि किसानले एक आपसमा मिलेर सिँचाइ गरी रोपाइँ गरेको उनले जानकारी दिए । यता कुमाख गाउँपालिकाका कृषि शाखा प्रमुख सरोज कुँवरले मुहान भएका स्थानमा मात्र किसानले रोपाइँ सम्पन्न गरेको र अन्यत्र जोतेर, ब्याड राखेर ठिक्क पारेको बताए ।  

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully