प्रदेश सरकारले नपठाएपछि सल्यानका स्वास्थ्य संस्थामा प्रेसर, सुगर, मानसिक रोगलगायतका दीर्घरोगी तीन महिनादेखि नि:शुल्क औषधिबाट बञ्चित छन् ।
What you should know
सल्यान — जिल्ला अस्पताल तथा पालिका स्तरीय सबै स्वास्थ्य संस्थामा तीन महिनादेखि नि:शुल्क वितरण गरिने प्रेसर, सुगर, मानसिक रोगलगायत परिवार नियोजनका लागि प्रयोग गरिने औषधिको अभाव भएको छ ।
प्रदेश सरकारले अहिलेसम्म नि:शुल्क वितरण गरिने औषधि नपठाएपछि जिल्ला अस्पताल सल्यानलगायत पालिकाका स्वास्थ्यसंस्थामा दीर्घ रोगीले प्रयोग गर्ने औषधिको अभाब भएको हो । औषधि अभाव भएपछि जिल्लाभरीका प्रेसर, सुगर, मानसिक रोगलगायतका बिरामी प्रभावित भएका छन् । दीर्घ रोगका बिरामीहरु तीन महिनादेखि महंगोमा निजी मेडिकलबाट औषधि किनेर खान बाध्य भएका छन् ।
अस्पताल तथा स्वास्थ्य संस्थामा नि:शुल्क पाउने औषधि पाउन छाडेपछि किनेर खानु परेको बन्गाड कुपिण्डे नगरपालिका–९ का ५३ वर्षीय प्रेम बुढाले बताए । सुगर, प्रेसरका बिरामी उनले नि:शुल्क पाउने औषधिका लागि महिनामै एक हजार बढी खर्च लाग्ने गरेको बताए । ‘स्वास्थ्य संस्थामा नि:शुल्क औषधि पाउन छाडेको र नजिकका मेडिकलमा पर्याप्त नभएकाले अटोमा १ सय ५० रुपैयाँ भाडा तिरेर सदरमुकाम खलंगा आउनु पर्छ । आउँदा र घर फर्कँदा भाडा मात्र ३ सय रुपैयाँ खर्च हुन्छ । खाजा र अन्यको हिसाब किताब हुँदैन । लामो समय अटोमा आउजाउ गर्दा त्यत्तिकै सास्ती हुन्छ,’ उनले भने ।
शारदा नगरपालिका–२ की ४५ वर्षीया मानसिक बिरामी एक महिलाले सरकारले निसुल्क औषधि उपलब्ध गराउने भने पनि अस्पताल गएको बेला सधैं रित्तो फर्कनु परेपछि मेडिकलबाटै किनेर खाने गरेको बताइन् । मेडिकलबाट किन्न पर्दा आर्थिक भार बढ्ने मात्र नभई नियमित जाँच प्रभावित भएको उनले बताइन् ।
‘औषधि नियमित सेवन गर्न थालेको ६ वर्ष भयो । सुरुसुरुमा अस्पताल तथा स्वास्थ्यसंस्थाबाट नि:शुल्क पाउँदा ठिकै थियो । अहिले मेडिकलबाट किन्न पर्दा पैसाको जोहो कसरी गर्ने भन्ने चिन्ताले हुन्छ,’ उनले भनिन् ‘आफ्नो कमाई छैन । श्रीमानले कमाएको पैसाले घर खर्च चलाउन ठिक हुन्छ । भनेको समयमा पैसा हुँदैन । कहिलेकाँही त समयमै औषधि किन्न नसकेर केही दिन खान छुट्ने गर्छ ।’ सरकारले स्वास्थ्य सेवा नि:शुल्क भन्दै आए पनि त्यो नाममा मात्र सीमित रहेको उनको गुनासो छ ।
कपुरकोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुवास हमालले पालिकाका सबै स्वास्थ्य संस्थामा सुगर, प्रेसर, मानसिक रोग मात्र नभई परिवार नियोजनका लागि प्रयोग गरिने औषधिको पनि अभाव भएको बताए । प्रदेश सरकारले नपठाएपछि पालिकाले दीर्घ रोगीलाई शिविर संचालनका बेला उपलब्ध गराएको उनले जानकारी गराए । औषधिको अभावमा पालिकाभित्रका ३ सय दीर्घ रोगी प्रभावित भएका उनको भनाई छ ।
दार्मा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतले नि:शुल्क पाउने औषधि स्वास्थ्य संस्थामा नपाउँदा आर्थिक अवस्था कमजोर भएका नियमित सेवनबाट बन्चित भएको बताए । यो वर्षमा मात्र नभई प्रत्येक वर्ष औषधि ढिला पठाउँदा कहिले के त कहिले के औषधि अभाव भइरहने गरेको उनले बताए । उनले भने, ‘दीर्घ रोगीले औषधि आयो की आएन भनेर सोधी रहन्छन । हामीले उनीहरुलाई सान्त्वना दिँदै घर पठाउनु पर्ने बाध्यता छ ।’ पालिकाले खरिद गरेका अन्य औषधि भने पर्याप्त रहेको उनको भनाई छ ।
स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन बुढा मगरले प्रदेश सरकारले अस्पतालबाट नि:शुल्क वितरण गरिने ९८ प्रकारका औषधि पठाउनेमा यसपाली अहिलेसम्म नपठाएका कारण प्रेसर, सुगर, मानसिक रोगलगायतका औषधिको अभाव भएको बताए ।
अस्पतालमा उपचार गर्न आएका विरामीलाई मेडिकल तथा अस्पतालको फार्मेसीबाट किन्न लगाउनु परेको उनले बताए । ‘सल्यानमा दीर्घ रोगका बिरामी धेरै छन् । प्रदेश सरकारले नि:शुल्क वितरणका लागि पठाउनु पर्ने ९८ थरिका औषधिमध्ये प्रेसर, सुगर र मानसिक रोगकै औषधिको अभाव भएको हो,’ उनले भने ‘आर्थिक वर्षको सुरुवातमै आउनु पर्ने औषधि अहिलेसम्म आएको छैन । हामीले पटक पटक प्रदेश सरकारसँग माग गरेका छौं । असार १५ भित्रसम्म आउँछ भनेको छ, कहिले आउने हो थाहा छैन ।’
कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य विभागले औषधि खरिदमा केही ढिलाई भएकाले समयमै औषधि जिल्लामा पठाउन नसकेको जनाएको छ । विभागले अबको दुई/तीन दिनभित्रमै औषधि पठाउने तयारी भरहेको मन्त्रालयको दाबी छ ।
