रोपाइँका लागि सिँचाइ गर्न पालो कुर्दै किसान

जेठको दोस्रो सातादेखि वर्षा नहुँदा शारदा नदी किनारका किसानले पालो मिलाएर सिँचाइ गर्नुपर्ने बाध्यता भएको छ ।

असार १२, २०८३

विप्लव महर्जन

Farmers waiting their turn to irrigate for planting.

What you should know

सल्यान —  

जेठको दोस्रो सातादेखि बर्सात नहुँदा धान रोपाइँका लागि शारदा नदीको किनारमा खेत भएका किसान आलोपालो गरी सिँचाइ गरेर रोपाइँ गरिरहेका छन् । पानी नपर्दा खोलामा पानी ह्वात्तै घटेपछि किसान आलोपालो गरी खेतमा सिँचाइ गरेर रोपाइँ गर्न बाध्य भएका हुन् ।

शारदा नदीको मुहान बागचौरदेखि बबई नदीमा मिसिने कालीमाटी गाउँपालिकाको दम्दवालीसम्म धान उत्पादन हुने झन्डै ३ हजार हेक्टर खेत छन् । गत वर्ष असारको दोस्रो सातासम्म ५० प्रतिशतभन्दा बढी रोपाइँ सम्पन्न भइसकेका ती खेतमा यसपालि बर्सात नहुँदा सिँचाइका लागि आलोपालो गर्नुपर्ने अवस्था आएपछि मुस्किलले २५ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको छ ।

खोलामा अलिअलि भएका पानी कुलोबाट लगेर खेतमा रोपाइँ गर्नुपर्ने अवस्था सिर्जना भएपछि खेत जोतेर ठिक्क पारिसकेका धेरै किसानले रोपाइँको तयारी गर्न नसकिएको शारदा नगरपालिका–८ मार्केका किसान कृष्ण विष्ट बताउँछन् । खेतमा धान रोपाइँका लागि कुलोसम्म पानी पुर्‍याउन १०/१२ दिनसम्म श्रमदान गरी खोलाको बीच भागमा बाँध बनाएका किसान आकाशबाट पानी पर्ने आशामा बस्नुपर्ने अवस्था आएको उनले बताए ।

गत असार १ गते खेत जोतेर ठिक्क पारे पनि रोपाइँका लागि खेत हिल्याउने पानी चार्न पाँच दिनपछि पालो आएको विष्टले बताए । शारदा नगरपालिका–१५ स्थित शारदा नदीको किनारमा खेत भए पनि खोलामा पर्याप्त पानी नभएको र आलोपालो गर्दा पालो नपाउँदा धेरै दिन कुर्न परेको उनले जानकारी गराए ।

‘शारदा नदी नजिकै मेरो तीन रोपनी खेत छ । सबै जोतेर ठिक्क पारेको छु । विगतमा जस्तो लगातार कुलोबाट खेतमा पानी लगाउन नपाउँदा दुई रोपनीमा पानी हालेर हिल्याउन थालेको छु, एक रोपनी त्यत्तिकै छ,’ उनले भने, ‘गत वर्ष समयमै बर्सात भएकाले जेठ अन्तिममै रोपाइँ सम्पन्न भएको थियो । यसपालि असारको पहिलो साता बितिसक्दा रोपाइँ गर्न पाइएको छैन । सिँचाइका लागि पालो कुर्नमै ठिक्क छ । खेतमा सिँचाइका लागि धेरै दिनदेखि पालो कुर्नुपर्दा अन्य काम प्रभावित भएको छ ।’

वैशाखमा धेरै बर्सात भए पनि जेठदेखि हालसम्म बर्सात नभएकाले खोलामा पानीको सतह घट्दा र पानीको स्रोत नजिकै खेत भएकाले रोपाइँ नसक्दासम्म अन्यले पालो नपाउने भएकाले समयमै आफ्नो चार रोपनी खेतमा धान रोपाइँ गर्न नपाएको शारदा नगरपालिका–१५ स्यालपानीका पुनाराम विकले बताए ।

रोपाइँका लागि जोतेर ठिक्क पारेको खेतमा आलोपालो गर्दा चार दिनपछि पालो आउँदा बल्ल कुलोबाट पानी लगाएको र हिल्याउन थालेको उनले जानकारी गराए । ‘धानका ब्याड तयार भइसकेका छन् । एक/दुई दिनमै रोपाइँ सकेर अन्य काममा लागौँला भनेको त पानीकै लागि अलमलिनु परेको छ,’ उनले भने ।

यता छत्रेश्वरी गाउँपालिका–६ का किसान यज्ञबहादुर रोकाले बर्सात नभएकाले खोलामा पानीको सतह ह्वात्तै घटेकाले कुलोमा पानी नचढ्दा रोपाइँको तयारी गर्न नपाएको बताए ।

उनले आफ्नो मात्र नभई शारदा किनारमा रहेका एक हेक्टरभन्दा बढी क्षेत्रफलमा भएका खेतमध्ये केहीले मात्रै रोपाइँ गरेको जानकारी गराए । ‘सम्बन्धित निकायले खेतमा सिँचाइका लागि कुलो त बनाएका छन्, तर के गर्नु खोलामा पानी नभएपछि,’ उनले भने, ‘धानका ब्याड सुक्लान् भन्ने डर छ ।’

कालीमाटी गाउँपालिका–१ का किसान मेघबहादुर रेउलेले मुहान नजिकै र पानीको स्रोत भएका स्थानका किसानले रोपाइँको तयारी गरे पनि बर्सात नभएकाले अन्यत्र खेतहरू बाँझै रहेको बताए । बर्सात भएपछि धमाधम रोपाइँको तयारी अगाडि बढ्ने उनले जानकारी गराए ।

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully