कर्णालीका ७९ मध्ये ७७ पालिकाले सयमभित्रै ल्याए बजेट

सल्यानको कालीमाटी र जाजरकोटको भेरी नगरपालिकामा भने बुधबार बजेट आएन ।

असार ११, २०८३

कृष्णप्रसाद गौतम

77 out of 79 municipalities in Karnali submitted their budgets on time

What you should know

सुर्खेत — कर्णालीका ७९ स्थानीय तहमध्ये ७७ वटा पालिकाले यो वर्ष समयमै बजेट ल्याएका छन् । सल्यानको कालीमाटी गाउँपालिकामा अध्यक्ष दुर्घटनामा परी घाइते भएपछि र जाजरकोटको भेरी नगरपालिकामा जनप्रतिनिधिबीच विवादका कारण बुधबार बजेट आउन सकेन । 

कर्णालीका सबैजसो स्थानीय तहले पूर्वाधार विकाससँगै शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राखेका छन् । प्रदेश राजधानी रहेको वीरेन्द्रनगर नगरपालिकाले कर्णालीमा सबैभन्दा धेरै ४ अर्ब ७१ करोड २ लाख ७२ हजार रुपैयाँको बजेट ल्याएको हो ।

बुधबार १९ औं नगरसभामा उपप्रमुख निलकण्ठ खनालले पूर्वाधारलाई प्राथमिकता दिदै उपमहानगरपालिका बनाउने योजनासहितको बजेट प्रस्तुत गरेका हुन् । जसमा शैक्षिक सुधार वर्ष,  डिजिटल शिक्षक बैंक, सडक बालबालिकामुक्त नगर, एकीकृत नगर बस, छोरी बचत खातालगायत कार्यक्रम समावेश गरिएको छ । सुर्खेतका ५ नगरसहित चार गाउँपालिकाले ५० करोडमाथिका बजेट प्रस्तुत गरेको जिल्ला समन्वय समिति प्रमुख गंगाराम सुनारले जानकारी दिए । 

जाजरकोटको भेरी नगरपालिकामा एमाले र नेपाली कांग्रेसका जनप्रतिनिधिबीच विवाद भएपछि बुधबार अबेरसम्म बजेट आउन सकेको छैन । जनप्रतिनिधिबीचको विवादका कारण मंगलबार नगर कार्यपालिका बैठकको निर्णय पुस्तिका हराएको थियो । उक्त निर्णय पुस्तिका खोजिदिन भन्दै प्रमुख प्रशासकीय अधिकृत विष्णुहरि लिमिल्सिनाले जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरेका थिए ।

‘नगरसभाको सुरुमै उपस्थिति दस्तखत गरिसकेको निर्णय पुस्तिका हराएको भन्दै पत्राचार भयो, बुधबार बिहान हाम्रो रोहबरमा प्रमुख प्रशासकीय अधिकृतलाई निर्णय पुस्तिका बुझाएर नगरसभा सुचारु गर्न अनुरोध गरिएको छ,’ प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले भने, ‘जनप्रतिनिधिबीच खासै ठूलो विवाद होइन, ३ लाखभन्दा साना योजना कार्यान्वयनमा लैजाने कि नलैजाने भनेर नै सुरुमा विवाद भएको पाइयो ।’

नगरपालिकाको सीसीटिभी फुटेजअनुसार मंगलबार झण्डै साढे ११ बजे २ नम्बर वडाध्यक्ष भीमबहादुर कार्कीले उपप्रमुख सीता जैसीको कार्यकक्षमा निर्णय पुस्तिका पुर्‍याएका थिए । 

निर्णय पुस्तिका प्रमुख प्रशासकीय अधिकृतलाई बुझाइए पनि जनप्रतिनिधिबीच विवाद जारी हुँदा बुधबार अबेरसम्म पनि नगरपालिकामा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुन नसकेको प्रमुख जिल्ला अधिकारी अधिकारीले जानकारी दिए । उनका अनुसार अन्य ६ वटा पालिकाले भने बुधबार नै बजेट ल्याएका छन् । भेरीका नगरप्रमुख चन्द्रप्रकाश घर्ती एमालेबाट र उपप्रमुख सीता जैसी नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् । नगरपालिकामा एमालेका जनप्रतिनिधिहरुको बर्चस्व छ ।

सल्यानको कालीमाटी गाउँपालिका अध्यक्ष दानबहादुर केसी मोटरसाइकल दुर्घटनामा परी घाइते भएपछि बुधबारका लागि तोकिएको गाउँसभा स्थगित भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको सम्पूर्ण तयारी सकेर पालिकाबाट घर फर्किने क्रममा बुधबार बिहान पुतलीबजारमा गाउँपालिका अध्यक्ष केसी घाइते भएको नगरपालिकाले जनाएको छ ।

दुर्घटनामा उनको टाउको र हातमा चोट लागेको भने थप उपचारका लागि नेपालगन्ज पठाइएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत यज्ञबहादुर खत्रीले बताए । उनका अनुसार बुधबार उपाध्यक्ष सनसिल्ता ओली डिसीको अध्यक्षतामा बसेको बैठकले गाउँसभा स्थगित गर्ने निर्णय गरेको छ । 

हुम्लामा खार्पुनाथ गाउँपालिकाले मंगलबार नै ४९ करोड रुपैयाँको बजेट ल्याएको थियो भने नाम्खा गाउँपालिकाले ३५ करोड, सिमकोटले ६४ करोड ९५ लाख, सर्केगाडले ५५ करोड, चंखेलीले ४२ करोड र अदानचुलीले ३६ करोड रुपैयाँको बजेट ल्याएका छन् । मुगुको छायानाथ रारा नगरपालिकाले ६५ करोड २१ लाख रुपैयाँको बजेट ल्याएको छ ।

अन्य मुगमकार्मारोङ, खत्याड र सोरु गाउँपालिकाले पनि बुधबार नै बजेट प्रस्तुत गरिसकेको प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले बताए । डोल्पाको ठूलीभेरी नगरपालिकाले मंगलबार नै ५० करोड १३ लाख रुपैयाँको बजेट ल्याएको थियो भने अरु ६ पालिकाले बुधबार बजेट ल्याएको प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले जानकारी दिइन् । रुकुम पश्चिमको मुसीकोट नगरपालिकाले ७३ करोड ७३ लाख २३ हजार रुपैयाँको बजेट ल्याएको छ ।

कृष्णप्रसाद गौतम कान्तिपुरका सुर्खेत संवाददाता हुन् ।

Link copied successfully