सल्यानमा सैलुन खोलेर महिनामा ७५ हजार कमाउँदै २० वर्षीय युवा

पढाइ छाडेर साथीहरू विदेश जाँदा गाउँमै कपाल काट्न सिकेका २० वर्षीय दिनेश विष्टले आफ्नै सैलुन खोलेर मासिक ७५ हजारसम्म कमाइरहेका छन्।

असार २, २०८३

विप्लव महर्जन

20-year-old youth opens salon in Salyan, earns Rs. 75,000 per month

What you should know

सल्यान — भर्खर जुँगाको रेखी बसेको कलिलो अनुहार । कापीकलम बोक्ने हातमा कैँची समाएर कपाल काटिरहेका हुन्छन् शारदा नगरपालिका–६ नेपाने घर भएका दिनेश विष्ट । उमेरले बल्ल २० पुगेका छन्। उमेरले उनको यो क्याम्पस पढ्ने समय हो। बीचमै पढाइलाई बिट मार्दै उनी अहिले सीप अनुसारको व्यवसायमा लागेका छन्। दुई वर्षदेखि खलंगाको पुरानो बसपार्कमा दिनेश सैलुन खोलेर उनले राम्रो कमाइ गर्दै आएका छन्।

साथीभाइ कोही भारत त कोही विदेशिएका बेला आफ्नै देशमा सीप अनुसारको केही काम गर्ने मनसायले सैलुन खोलेका उनले दैनिक २ हजार ५ सय गरी महिनामै ७५ हजार कमाइ गर्दै आएका छन्। २० वर्षको कलिलो उमेरमा सीप अनुसारको व्यवसायमा लागेर घरखर्च उनैले धानेका छन्। पसलको भाडा, घरखर्च सबै कटाएर महिनामा ३० हजार बचत गर्दै आएको उनले बताए।

पछिल्लो समयमा युवा पुस्ता बेरोजगारीको समस्या देखाउँदै धमाधम परिवार छाडेर विदेशिएका छन्। युवा पुस्ता विदेशिँदा ग्रामीण बस्तीहरू वयस्क र वृद्धवृद्धामा सीमित बन्दै गएका छन्। जसका कारण खेतीयोग्य जग्गा बाँझिँदै गएको छ । युवाको विदेशिने लहरले विगतमा सञ्चालित घरेलु उद्योग पनि धरापमा परिरहेका छन्। युवा पुस्ता धमाधम विदेशिँदै गएका बेला हातमा सीप र जागर भए आफ्नै परिवारसँगै बसेर केही गर्न सकिन्छ भन्ने उनी उदाहरणीय पात्र बन्न पुगेका छन्।

उनी भन्छन्, ‘कक्षा १ देखि ९ सम्म घरदेखि आधा घण्टा टाढा पर्ने बालसखा माविमा पढें। साथीभाइको लहैलहैमा लागेर पढाइ छाडें। सबै साथी कोही विदेश त कोही भारतका विभिन्न ठाउँमा गए तर म आफ्नै ठाउँमा केही गर्नुपर्छ भनेर गइनँ।'

पढाइ छाडेपछि उनले भतिजाभतिजीलाई श्रीनगरमा रहेको विद्यालयमा पढाउन लैजाने र घर ल्याउने हुन्थ्यो। बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म फुर्सदमा हुन्थे । त्यतिबेला उनी १६ वर्षको मात्र थिएँ। 'दैनिक श्रीनगर जाने–आउने गर्दा एक जना कपाल काट्ने पसल खोलेका मधेसी समुदायका व्यक्तिसँग चिनजान भयो। उनैसँग तीन महिना कपाल काट्न सिकें,' उनले भने, 'त्यसपछि एक जनाको कपाल काटेको १०० रुपैयाँमा ५० रुपैयाँ पाउने गरी काम गरें। काम गर्दा केही रकम बचत गरें।' आफ्नै पसल खोल्ने सोंचले २०८१ मा १ लाख ४० हजार रुपैयाँमा खलंगामा सञ्चालित हेयर सैलुन किनें। 'त्यसैबाट मेरो सीपअनुसारको पेशागत यात्रा सुरु भयो। अहिले राम्रै चलेको छ,’ उनले भने । 

सैलुन सञ्चालन गरेदेखि दैनिक २५ जनासम्मको कपाल काट्दै आएको उनले बताए। एक जनाको कपाल काटेबापत १०० रुपैयाँ लिने गरेको र दाह्री काट्ने, मसाज र फेसियल गर्दा कहिलेकाहीँ ३ हजार रुपैयाँसम्म कमाइ हुने गरेको उनले बताए । ‘सबैले भन्ने गर्छन्, अहिलेको जमानामा नपढे काम छैन। केही गर्नलाई पढ्न आवश्यक छ तर बीचमै पढाइ छाडेकोमा मलाई कुनै दुःख छैन। परिवार पाल्न पैसा कमाउने हो। यसैमा सन्तुष्ट छु,’ उनले भने, ‘बिहानदेखि बेलुकीसम्म पसलमै व्यस्त हुने भएकाले पढाइलाई बिर्सिसकेको छु।’

सैलुन खोलेर कमाइ गरेको रकमबाट सुरुमा मोटरसाइकल किनेको र आफ्नो लागि केही रकम बचत गरेको सुनाए । ‘पहिला एक घण्टाभन्दा बढी समय हिँडेर घरबाटै आउने गर्थें। खलंगामै घर भाडामा लिएर बसेपछि र मोटरसाइकल किनेपछि घरबाट आउजाउ गर्न सहज भएको छ,’ उनले भने।

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully