आकार बढाएर बजेट ल्याउँदै कर्णाली सरकार

३३ देखि ३४ अर्बको हाराहारीमा बजेट आउने अनुमान ।

असार १, २०८३

कृष्णप्रसाद गौतम

Karnali government bringing budget with increased size

सुर्खेत — आगामी आर्थिक वर्षका लागि सोमबार दिउँसो ३ बजे बस्ने संसद् बैठकमा बजेट ल्याउने तयारी गरेको कर्णाली सरकारले केही आकार बढाएर बजेट ल्याउने भएको छ । चालु आर्थिक वर्षमा ३२ अर्ब ९९ करोड रुपैयाँको बजेट ल्याएको सरकारले आगामी वर्ष एकदेखि दुई अर्ब बढाएर ३३ देखि ३४ अर्बको हाराहारीमा बजेट ल्याउने अनुमान गरिएको हो । 

बजेटको आकार बढाउने तयारीका साथ प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले गत वर्षभन्दा एक प्रतिशत बढाएर झन्डै ३२ अर्ब रुपैयाँको सिलिङ मन्त्रालयहरूलाई वितरण गरेको थियो ।

गत वर्षभन्दा संघीय सरकारले दिने अनुदान पनि बढेकाले आकार बढाएर बजेट आउने अनुमान गरिएको मन्त्रालयका एक अधिकारीले बताए । उनका अनुसार संघीय सरकारले आगामी आर्थिक वर्षका लागि १७ अर्ब २० करोड रुपैयाँको अनुदान दिएको छ । जबकी चालु आर्थिक वर्षमा १६ अर्ब ४ करोड रुपैयाँ अनुदान दिएको थियो ।

‘अनुदान पनि बढेको छ, प्रदेश सञ्चित कोषमा पनि गत वर्षभन्दा बढी रकम जम्मा हुने अनुमान छ,’ उनले भने, ‘धेरै नबढे पनि १ देखि २ अर्ब रुपैयाँ बढ्ने अनुमान गरेका छौँ ।’

मन्त्रालयका प्रवक्ता चेतनकुमार तिमिल्सेनाले आगामी वर्षका लागि संघीय सरकारले वित्तीय समानीकरणतर्फ १० अर्ब ६३ करोड, ससर्ततर्फ ५ अर्ब ४२ करोड, विशेषतर्फ ४८ करोड र समपुरक अनुदानतर्फ ६६ करोड रुपैयाँ उपलब्ध गराएको जानकारी दिए । चालु आर्थिक वर्षमा कर्णाली सरकारले राजस्व बाँडफाँटतर्फको १० अर्ब २७ करोड रुपैयाँ प्राप्त गरेको थियो ।

आगामी वर्ष पनि सोही हाराहारीमा उक्त रकम प्राप्त हुने अनुमान गर्दा वित्त हस्तान्तरणको सीमा झन्डै २७ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको प्रवक्ता तिमिल्सेनाले बताए । उनका अनुसार यो आर्थिक वर्षमा प्रदेश सञ्चित कोषमा ५ देखि ७ अर्ब रुपैयाँ बचत हुने अनुमान गरिएको छ ।

चालु आर्थिक वर्षमा कर्णाली सरकारले ९६ करोड रुपैयाँ आम्दानीको लक्ष्य लिएको थियो । तर वैशाख मसान्तसम्म ५९ करोड ९६ लाख रुपैयाँ मात्र आम्दानी गरेको छ । आगामी वर्ष पनि यही हाराहारीमा राजस्व संकलनको अनुमान गरिएको उनले जानकारी दिए । 

बजेटका लागि तयारीको काम अन्तिम चरणमा पुगेको आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले बताए । ‘नीति तथा कार्यक्रमभित्रै रहेर बजेट आउँछ, पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखेका छौ, केही नयाँ कार्यक्रम पनि समावेश हुनेछन्,’ उनले भने, ‘नागरिकको आशा जगाउनेगरि नै बजेट ल्याउने हाम्रो तयारी हो, जतिसक्दो कार्यान्वयन हुने र राजस्व संकलनलाई पनि प्राथमिकता दिने बजेट ल्याउँदैछौ ।’ 

चालु आर्थिक वर्षमा कर्णाली सरकारको बजेट कार्यान्वयन भने अहिलेसम्मकै सबैभन्दा कम छ । शनिबारसम्म सरकारले मुस्किलले ३६ प्रतिशत मात्र बजेट खर्च गर्न सकेको छ । यो अवधिमा चालुतर्फ ५१ प्रतिशत खर्च गरिसकेको छ भने विकास बजेट (पुँजीगततर्फ) मुस्किलले साढे २८ प्रतिशत मात्र खर्च भएको छ ।

कृष्णप्रसाद गौतम कान्तिपुरका सुर्खेत संवाददाता हुन् ।

Link copied successfully