कर्णालीमा भौतिक पूर्वाधारका लागि १० अर्ब ९३ करोड 

जलस्रोत तथा ऊर्जा विकासका लागि ४ अर्ब ८१ करोड, रणनीतिक सडक आयोजनाका लागि ६५ करोड र १ सय २२ वटा झोलुंगे पुल निर्माणका लागि ३६ करोड ७५ लाख विनियोजन

असार १, २०८३

कृष्णप्रसाद गौतम

10.93 billion rupees for physical infrastructure in Karnali

सुर्खेत — कर्णालीमा आगामी आर्थिक वर्ष २०८३/८४ मा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका लागि १० अर्ब ९३ करोड ८१ लाख १० हजार रुपैयाँ बजेट छुट्याइएको छ । 

त्यस्तै जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयका लागि आगामी वर्ष ४ अर्ब ८१ करोड ९५ लाख ८६ हजार रुपैयाँ विनियोजन गरिएको हो । 

आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले सोमबार कर्णाली प्रदेशसभामा प्रस्तुत गरेको बजेट मन्तव्यमा प्रदेशको एकीकृत प्रशासनिक भवन निर्माणका लागि ७५ करोड छुट्याइएको जानकारी दिए । त्यस्तै वीरेन्द्रनगर, नारायण र दुनैलाई ‘स्मार्ट सिटी’का रूपमा विकास गर्न ३७ करोड रुपैयाँ विनियोजन गरिएको छ । 

मन्त्री शाहले १४ वटा रणनीतिक सडक आयोजनाका लागि ६५ करोड र १ सय २२ वटा झोलुंगे पुल निर्माणका लागि ३६ करोड ७५ लाख विनियोजन गरिएको जानकारी दिए । उनका अनुसार जाजरकोट भूकम्पपछिको पुनर्निर्माणका लागि ३४ करोड रुपैयाँ छुट्याइएको छ । 

कृष्णप्रसाद गौतम कान्तिपुरका सुर्खेत संवाददाता हुन् ।

Link copied successfully