फेरि बल्झियो बाजुरा–हुम्ला सीमा विवाद 

बाजुराका बासिन्दाद्वारा कर्णाली करिडोर अवरुद्ध, हुम्लाका स्थानीयद्वारा जिल्ला प्रशासन कार्यालयमा नाराबाजी र प्रदर्शन गरेका छन् ।

जेष्ठ २९, २०८३

कृष्णप्रसाद गौतम

Bajura-Humla border dispute flares up again

What you should know

सुर्खेत — सीमा विवादलाई लिएर बाजुराको हिमाली गाउँपालिकाको स्थानीय युवा क्लबले कर्णाली करिडोरअन्तर्गतको धुलाचौर सडक खण्ड अवरुद्ध गरेको छ । बिहीबार रातिबाट सडक बन्द गरिएपछि हुम्लाबाट बाहिरिने र भित्रिने बस, ट्रकलगायत साना सवारी साधन बीच बाटोमै अलपत्र परेका छन् । 

बाजुराका स्थानीयले कर्णाली करिडोर बन्द गराएपछि हुम्लाका बासिन्दा भने आन्दोलनमा उत्रिएका छन् । उनीहरू शुक्रबार दिउँसो नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालयमा पुगेका थिए ।

हुम्लाका प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले बन्दकर्ताले सडकको बीच भागमा ढुंगा राखेर अवरुद्ध पारेको बताए । दुवै जिल्लाको सीमा क्षेत्र लाम्पाटा–च्याचौरमा सीमा विवादका कारण जेठ ५ गते झडप भएको थियो । झडमा परी बाजुराका ४ जना घाइते भएका थिए । उक्त घटनामा संलग्न हुम्लाका २३ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय बाजुरामा किटानी जाहेरी दर्ता भएको छ भने जिल्ला अदालतमा शरीर बन्धकसम्बन्धी मुद्दासमेत दर्ता भएको छ । उक्त घटनामा संलग्नलाई अन्यलाई पक्राउ नगरिएको भन्दै करिडोर अवरुद्ध गरिएको हो । हुम्लाका डीएसपी शंकर खड्काले घटनामा संलग्नको खोजी भइरहेको जानकारी दिएका छन् । 

दुवै जिल्लाका बासिन्दाबीच रानीसैन क्षेत्रको स्वामित्वलाई लिएर विवाद भइरहेको हो । रानीसैन साइपाल हिमालको फेदी हो । जहाँ हुम्ला, बझाङ र बाजुरा गरी ३ जिल्लाको सीमा क्षेत्र पर्छ । त्यस्तै रानीसैन जाने मुख्य बाटो लाम्पाटा बाजुराको हिमाली, हुम्लाको नाम्खा, सिमकोट र सर्केगाड गाउँपालिकाको सीमा क्षेत्र हो । लाम्पाटा क्षेत्रमा खार्पुनाथ गाउँपालिका–२ का राय र थालीका बासिन्दाले उक्त क्षेत्रमा चरिचरन र खर्क प्रयोग गर्दै आइरहेका थिए । तर बाजुराका स्थानीयले लाम्पाटामा प्रहरी चौकी स्थापना गर्न लागेको भन्दै हुम्लाका बासिन्दाले अवरोध गरेका थिए ।

सुदूरपश्चिम सरकारको ४० लाख बजेटबाट उपभोक्ता समितिमार्फत भवनलगायतका संरचना निर्माण हुन लागे पनि हुम्लाका बासिन्दाले अवरोध पुर्‍याएपछि विवाद सुरु भएको बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीले बताए । उनका अनुसार लाम्पाटा हिमाली गाउँपालिकाको केन्द्र धुलाचौबाट झण्डै ६० किमि टाढा पर्छ । ‘धुलाचौरबाट ४/५ घण्टा गाडीमा गएपछि हुम्लाको बाटो हुँदै झण्डै २ दिन हिँडेर लाम्पाटा पुगिन्छ,’ उनले भने, ‘भौगोलिक रुपमा विकट भएकाले टेलिफोन सुविधा छैन, जसका कारण त्यहाँ के हुन्छ, हामीलाई जानकारी पाउन मुस्किल छ ।’ 

बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले कुटपिटमा संलग्न भएका हुम्लाका बासिन्दालाई पक्राउ गर्नुपर्ने बाजुराका बासिन्दाको मुख्य माग छ । उनका अनुसार उक्त क्षेत्रमा कुटपिटका ५ वटा घटना भएका थिए । उनले विवाद समाधानका लागि पहल भइरहेको जानकारी दिए । उनका अनुसार थप घटना हुन नदिन उक्त क्षेत्रमा २१ जना सशस्त्र र ७ जना नेपाल प्रहरीको टोली खटाइएको छ । 

यसअघि पनि बाजुराका स्थानीयले जेठ २ देखि ४ गतेसम्म स्थानीयमाथि हुम्लाका बासिन्दाले लगातार आक्रमण र कुटपिट गरेको भन्दै कर्णाली करिडोर बन्द गराएका थिए । जेठ ८ गते जिल्ला प्रशासन कार्यालयको सक्रियतामा बसेको सर्वदलीय बैठकले हिमाली युवा क्लबसँग ६ बुँदे सहमति गरेपछि बाजुराका स्थानीयले तत्कालका लागि आन्दोलनका कार्यक्रम फिर्ता लिएका थिए । तर, घटनामा संलग्नमाथि कारवाही नभएको भन्दै झण्डै २ सातापछि फेरि दुवै जिल्लाको विवाद बल्झिएको हो । कर्णाली करिडोरले हुम्ला, बाजुरा र कालीकोट छुन्छ । 

जिल्ला समन्वय समिति हुम्लाका प्रमुख शिवराज शर्माले लामो समयदेखि दुवै जिल्लाका बासिन्दाले आवश्यताका आधारमा प्रयोग गर्दै आइरहेको सानीसैन क्षेत्रमा जडिबुटी र पर्यटकीय महत्वका कारण स्वामित्व विवाद बढेको बताए । ‘विभिन्न समयमा भएका नापी र सिमांकनका बेला कहिले यता त कहिले उता पर्दै आएको क्षेत्र हो,’ उनले भने, ‘तर पछिल्लो समय स्रोतसाधनका कारण विवाद सुरु भयो ।’ 

दुवै जिल्लाको सीमा विवाद घटनाको छानबिनका लागि गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक विमलराज कँडेलको संयोजकत्वमा बाजुरा प्रहरी प्रमुख डीएसपी शैलेश्वरी बोहरा, कर्णाली प्रदेश प्रहरी कार्यालयका डीएसपी सुगन्ध श्रेष्ठलगायतको ४ सदस्यीय टोली गठन गरेको थियो ।

टोलीले १० दिनको कार्यादेश पाएको थियो । टोलीले घटनास्थलको अध्ययन तथा दुवै जिल्लाका सरोकारवालासँग भेटघाट गरी घटनाबारेको प्रतिवेदन प्रहरी प्रधान कार्यालयमा बुझाएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी जयराज सापकोटाले बताए । त्यस्तै सरकारले सीमा विवादको प्राविधिक पक्षको अध्ययन गरी प्रतिवेदन पेस गर्न नापी विभागका उपमहानिर्देशक सुशील डंगोलको संयोजकत्वमा अर्को समिति गठन गरेको छ । उक्त समितिले अझै काम सुरु नगरेको हुम्लाका प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए । ‘दुवै समितिको प्रतिवेदन आएपछि समस्या हल होला,’ उनले भने, ‘तत्कालका लागि कर्णाली करिडोर खुलाउन प्रयास गरिरहेका छौं ।’

कृष्णप्रसाद गौतम कान्तिपुरका सुर्खेत संवाददाता हुन् ।

Link copied successfully