कर्णाली करिडोरको कालीकोट खण्ड पहिरोका कारण अवरुद्ध

कालीकोटका प्रहरी प्रमुख डिएसपी हिमबहादुर खत्रीले भने ३०० भन्दा बढी यात्रु र सयभन्दा बढी सवारी साधन बुधबार बिहानदेखि बाटोमै अलपत्र छन् ।

जेष्ठ २७, २०८३

तुलाराम पाण्डे

Kalikot section of Karnali Corridor blocked due to landslide

कालीकोट — मंगलबार बेलुकीदेखिको वर्षाले कर्णाली करिडोरको कालीकोट खण्ड अवरुद्ध भएको छ । मंगलबार रातिको वर्षाका कारण पहिरो खस्दा कालीकोटको नरहरिनाथमा पर्ने लालीघाटदेखि भौतेकुना, सान्नीत्रिवेणीको रेगिंल खण्ड र पचालझरनाको घाटपारी खण्ड अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

हिजो रातिको वर्षाले ठाउँठाउँमा सडक अवरुद्ध छ । कालीकोटका प्रहरी प्रमुख डिएसपी हिमबहादुर खत्रीले भने ३०० भन्दा बढी यात्रु र सयभन्दा बढी सवारी साधन बुधबार बिहानदेखि बाटोमै अलपत्र छन् । उनकाअनुसार पहिरो पन्छाउन जेसीभी गए पनि पुन: वर्षा भइरहेकाले सडक सञ्चालन हुन सकेको छैन । वर्षा नरोकिए तत्काल सडक खुल्ने सम्भावना नहेको डिएसपी खत्रीले बताए । बिहानदेखि डोजरले काम गरीरहेको छ । उनले भने ३ किलोमिटर सडकमा लेदो बगेकाले पन्छाउनै कठिन रहेको बताए । 

कर्णाली करिडोर हुँदै कालीकोटको रास्कोट, सान्नीत्रिवेणी, पचालझरना, बाजुरा र हुम्लाबाट आएका गाडी ठाउँ ठाउँमा रोकिएका छन् भने सुर्खेतबाट आएका गाडी पनि खुलालुमै रोकिएका छन् । बिरामी, परीक्षा दिने परीक्षार्थी र काम विशेषले हिँडेका यात्रुहरु लालीघाट, रैगिंल, सान्नीगाड र खुलालुमा रोकिएको सुर्खेत जान हिडेका रास्कोटका प्रेम चौलागाईले बताए । 

सडक अवरुद्ध भएपछि सुर्खेतबाट घाटीको अप्रशन गरेर आएका सान्नीत्रिवेणीका ७६ वर्षीय धनबहादुर केसी दिउँसो २ बजेदेखि कालीकोटको लालीघाटमा रोकिएका छन् । 'आज घर फर्कने अवस्था छैन,' उनले भने 'लालीघाटमा बस्ने ठाउँ पनि छैन, समस्या भयो ।' 

तुलाराम पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully