मनसुन सुरु भएसँगै बाढी, पहिरो र अन्य जल तथा मौसमजन्य विपद्को जोखिम बढिरहेका बेला कर्णाली प्रदेशका ३० स्थानीय तहमा अझै मौसम मापन केन्द्र स्थापना हुन सकेका छैनन् ।
What you should know
सुर्खेत — मनसुन सुरु भएसँगै बाढी, पहिरो र अन्य जल तथा मौसमजन्य विपद्को जोखिम बढिरहेका बेला कर्णाली प्रदेशका ३० स्थानीय तहमा अझै मौसम मापन केन्द्र स्थापना हुन सकेका छैनन् । मौसमसम्बन्धी तथ्यांक संकलन र पूर्वसूचना प्रणालीको आधार मानिने यस्ता केन्द्र नहुँदा जोखिमको पूर्वआकलन तथा विपद् व्यवस्थापनमा चुनौती थपिएको हो ।
सुर्खेतमा बुधबार आयोजित मनसुन पूर्वतयारी तथा विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्यक्रममा जल तथा मौसम विज्ञान कार्यालय सुर्खेतका प्रमुख डा. इन्दिरा कँडेलले कर्णालीका ३० स्थानीय तहमा अझै मौसम मापन केन्द्र नरहेको जानकारी बताइन् ।
उनले जल तथा मौसमजन्य विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा विभाग र मातहतका कार्यालयहरूको भूमिका तथा मनसुन सिजन २०८३ को जलवायु आकलनबारे प्रस्तुतिकरण गर्दै मौसमसम्बन्धी सूचना प्रणाली विस्तार गर्न स्थानीय तहमा केन्द्र स्थापना आवश्यक रहेको उनको भनाइ छ ।
‘मौसम मापन केन्द्रको अभावले वर्षा, तापक्रम, हावाको गति तथा अन्य मौसमसम्बन्धी तथ्यांक संकलनमा समस्या भइरहेको छ,’ उनले भनिन्, ‘यसले स्थानीय स्तरमा पूर्वसूचना प्रवाह र विपद् पूर्वतयारीलाई समेत प्रभावित बनाएको छ ।’ प्रदेश सरकारले मौसम मापन केन्द्रविहीन स्थानीय तहमा आवश्यक उपकरण व्यवस्थापनका लागि सहयोग कर्णाली प्रदेशका प्रमुख सचिव वीरेन्द्रकुमार यादवले बताए ।
‘कर्णालीका ३० स्थानीय तहमा अझै मौसम मापन केन्द्र नभएकाले प्रदेश सरकारले त्यसको व्यवस्थापनका लागि आवश्यक उपकरणमा सहयोग गर्छ,’ उनले भने, ‘स्थानीय तहसम्म मौसमसम्बन्धी सूचना प्रणाली विस्तार गरेर विपद् जोखिम न्यूनीकरणमा प्रभावकारी काम गर्ने प्रतिबद्धता गर्दछौं ।’
२०८३ सालको मनसुनजन्य विपद्बाट देशभर ५९ हजार ८ सय ६८ घरपरिवारका दुई लाख २६ हजार ६ सय ६१ जना प्रभावित हुने अनुमान गरिएको पिपल इन निड (पिन) को प्रतिबद्ध–३ परियोजनाका कर्णाली प्रदेश संयोजक उज्ज्वल अधिकारीले बताए । मनसुनजन्य विपद्को प्रभाव सबैभन्दा बढी लुम्बिनी प्रदेशमा पर्ने देखिएको छ, जहाँ ५१ हजार ६ सय २६ जना प्रभावित हुने अनुमान छ । कर्णालीमा भने १३ हजार १ सय ७५ जना प्रभावित हुने प्रक्षेपण गरिएको छ ।
