कपुरकोट गाउँपालिका–४ मा हुरीले विद्यालय भवनको छाना उडाएपछि कक्षा ८ र २ का विद्यार्थी चौर र ग्यालरीमा पढिरहेका छन् ।
सल्यान — कपुरकोट गाउँपालिका–४ गाडापानीमा रहेको गायत्री आधारभूत विद्यालयको दुई कोठे भवनको छाना हुरीले उडाइपछि चौरमा कक्षा संचालन भइरहेको छ ।
गत साताको हुरीले उडेका विद्यालयको छाना मर्मत गर्न नसक्दा कक्षा ८ र २ का बालबालिका खुला चौरमा पढिरहेका छन् । बर्षा वा धेरै गर्मी भए उनीहरुले नयाँ भवनको भर्याङको ग्यालरीमा बसेर पढ्ने गरेका छन् ।
दुई कोठे भवनको छाना हुरीले उडाएपछि अन्य कक्षाकोठा नहुँदा खुला चौर र अर्को भवनको भर्याङको ग्यालरीमा राखेर पढाउनु परेको प्रधानाध्यापक हस्तबहादुर बुढाले बताए ।
कक्षा ८ सम्म संचालित विद्यालयमा १ सय ९ विद्यार्थी छन् । कक्षा ८ मा ९ र २ मा १२ गरी १९ विद्यार्थीलाई कहिले कता त कहिले कता राखेर पढाउनु परेको उनले जानकारी दिए । ‘कक्षा ८ सम्म संचालित वियालयमा नयाँ र पुराना गरी पाँच भवन छन् । जसमा १२ कोठा छन् । एउटामा कार्यालय, अर्कोमा पुस्तकालय, स्टोर, विज्ञान प्रयोगशाला छन् । पुरानो भवनको साना कोठामा नर्सरीका बालबालिका पढछन्,’ उनले भने, ‘कोठा पर्याप्त नभएपछि कहिले चौरमा त कहिले भर्याङको गल्ली त कहिले अर्को कक्षामा सामूहिक रुपमा राखेर पढाउनु परेको छ ।’
हुरीले उडाएको छाना मर्मत गर्न विद्यालयसित बजेट नहुँदा वडा र पालिकाबाट माग गरेको उनले बताए । हावाहुरीसँगैको बर्षातले विद्यालयको पुस्तकालयमा भएका सबै सामग्री भिजेको उनले बताए । कपुरकोट–४ का वडाध्यक्ष मित्र कठायतले हुरीले उडेको छाना पालिका प्राविधिकबाट निरीक्षण भइसकेकाले छिट्टै मर्मत गरिने बताए ।
