खलंगाको चोकमा जडिबुटी बेचेर दैनिक ८ सय रुपैयाँसम्म कमाउने बालबालिकाले परिवारमा आर्थिक भार कम गर्दै पढाइ खर्च जुटाइरहेका छन्।
What you should know
जुम्ला — जुम्लाको पातारासी गाउँपालिकाका बालबालिकाहरु अहिले पदमचाल र निउरो बेचेर पढाइ खर्च जुटाउन थालेका छन् । उनीहरु शनिबारलगायत सार्वजनिक बिदाको दिनमा पाटनमा गएर पदमचाल र निउरो संकलन गरेर सदरमुकाम खलंगामा चोक–चोकमा राखेर बेचिरहेका छन् ।
पदमचाल र निउरो पाटन क्षेत्रमा पाइने औषधि जन्य जडिबुटी हुन् । निउरो तरकारीका रुपमा र पदमचाल अचारको रुपमा खाने चलन छ । अहिले बालबालिकाहरु खलंगाको कालेखोली, बालमन्दिर, जुगाडखोला लगायतका चोकमा बसेर बेचिरहेका छन् ।
जुम्ला पातारासी गाउँपालिका २ का रमिते बोहोरा चार घण्टाको पैदल यात्रा गरेर पाटनबाट पदमचाल र निउरो ल्याउने गरेको बताए ।
उनले भने, ‘बजारका चोक–चोकमा राख्दा सबै बेचिने गरेको छ ।’ पातारासीका अधिकांश अभिभावकहरु यार्सा टिप्न पाटन क्षेत्रमा गइरहेको समयमा बालबालिकाहरु नजिकैको पाटनमा पुगेर निउरो र पदमचाल संकलन गरिरहेका छन् । ‘हामीले कापीकलमको जोहो यही बेचेर गरिरहेका छौं । अधि धेरै कमाइ भएमा आमा–बुबालाईसमेत घरखर्चका लागि दिने गरेका छौं’, रमितले भने ।
आर्थिक स्रोत कमजोर भएका परिवारका लागि यो अतिरिक्त आम्दानीको स्रोत बन्ने गरेको छ । सिजनमा पदमचाल र निउरो बेचेर पाँच देखि सात हजार रुपैयाँसम्म बेच्ने गरेको अनुभव उनको छ ।
१३ वर्षीया बिमला बुढा खलंगाको सडक छेउमा बसेर पदमचाल र निउरो बेच्छिन् । उनी कनिका निशा माध्यमिक विद्यालयमा अध्ययनरत छिन् । बसदाको अघिल्लो दिनमै उनी घर जान्छिन् । लगत्तै पाटनक्षेत्रमा गएर जडिबुटी ल्याएर बेच्ने गर्छिन् । उनको दैनिक कमाइ अहिले ८ सय रुपैयाँ सम्म हुने गरेको छ ।
बिदाको समय खेर फाल्नुभन्दा नजिकैको जडिबुटी संकलनमा उपयोग गरिरहेकी विमला अहिले परिवारलाई उल्टै आर्थिक सहयोग गर्छिन् । आमा–बाबुको खर्च घरमै सकिने गरेकोले आफूले आफ्नो पढाइ खर्च जुटाउन जडिबुटी बेचिरहेको सुनाइन् । उनीहरुको यो कमाइले घरपरिवारमा केही भए पनि आर्थिक भार कम हुने गरेको छ ।
उनीहरुले चोकमा बेच्न राखेको जडिबुटीहरु होटल व्यवसायी र स्थानीयले लैजान्छन् । होटल व्यवसायी नवराज श्रेष्ठले भने, ‘बालबालिकाले बिदाको समयको सही उपयोग मात्र गरिरहेका छैनन् । एक दिनमा न्यूनतम ८ सयदेखि एक हजार रुपैयाँ सम्म कमाइरहेका छन् ।’
यो खुला जंगलमा पाइने भए पनि औषधिय गुण हुने भन्दै बजारमा माग पनि अधिक हुने गरेको छ ।
पदमचाल प्रतिमुठा २० रुपैयाँ र निउरोको ५० रुपैयाँमा बिक्री हुने गरेको छ । अहिले पातारासीका दर्जन बढी बालबालिका जंगलबाट जडिबुटी ल्याएर खलंगामा बेचिरहेका छन । यो निउरो र पदमचाल जिल्लाको आठ स्थानीयतहका ६० वटै वडाका नजिकैका उच्च जंगलहरुमा पाइने गरेको छ ।
