गरिबले पढ्न नसक्ने भन्दै एमबीबीएस अध्ययनका लागि छुट्याएको छात्रवृत्तिको रकम रकमान्तर

गरिब, दलित र अल्पसंख्यकका लागि छुट्याइएको १५ लाख रुपैयाँ बजेट गाउँपालिकाले अन्य शीर्षकमा रकमान्तर गरेपछि छात्रवृत्तिका आकांक्षी विद्यार्थी निराश भएका छन्।

जेष्ठ २३, २०८३

डीबी बुढा

Scholarship amount allocated for MBBS studies has been diverted, saying the poor cannot afford it.

What you should know

जुम्ला — गरिब, जेहेन्दार,दलित र अल्पसंख्यकलाई एमबीबीएसमा छात्रबृत्ति उपलब्ध गराउने नीति विपरित जुम्लाको तातोपानी गाउँपालिकाले सो शिर्षकमा छुट्याइएको रकम रकमान्तर गरेको छ । एमबीबीएसमा छात्रबृत्तिको नीतिले उत्साहित विद्यार्थीहरु बजेट रकमान्तरले निराश बनेका छन् । गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले एमबीबीएसमा छात्रबृत्ति दिने भनि छुट्याइएको १५ लाख रुपैयाँ रकमान्तर गरेको बताए । हिउँदे गाउँसभाले छात्रवृत्तिको १५ लाख रुपैयाँ सँगै झण्डै एक करोड रुपैयाँ अन्य शीर्षकमा रकमान्तर गरिएको उनको भनाइ छ । 

अध्यक्ष चौलागाईले भने, ‘६० लाख रुपैयाँसम्म खर्च लाग्ने एमबीबीएस पढाइमा अभिभावक आफैंले पनि ३५ लाख रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ । तर त्यति धेरै रकम गरिब र विपन्नले सक्ने स्थिति देखिएन । र पालिकाले दिने १५ लाख रुपैयाँले नपुग्ने भएकोले रकमान्तर गरिएको हो ।’ यो आर्थिक वर्षमा छावृत्तिका लागि १५ लाख रुपैयाँ विनियोजन गरेको थियो । गत दुई आर्थिक वर्षमा कसैले पनि दाबी नगरेपछि रकम फ्रिज भएको थियो ।

गाउँपालिकाले उक्त बजेट रकमान्तर गरे पनि त्यसकै जानकारी भने सार्वजनिक रुपमा गरिएको छैन । गाउँपालिकाको उक्त छात्रवृत्ति मागका लागि एक जना विद्यार्थी निवेदन लिएर पालिकामा पुगेका छन् । तातोपानी–४ का लक्ष्मण देवकोटाले आफूले एमबीबीएस अध्ययनका लागि छात्रवृत्ति पाउनुपर्ने माग गर्दै वडा कार्यालय र पालिकामासमेत निवेदन दिएका छन् । तर अहिलेसम्म सो निवेदनको सुनुवाइ हुन सकेको छैन । 

पहिले एमबीबीएस अध्ययनको लागि कसैले दाबी नगर्दा अन्तिमसम्म रोकेर बजेट फ्रिज गर्नुपर्ने, अहिले निवेदन पर्दापर्दै बजेट रकमान्तर गर्नुपर्ने अवस्थाले पालिकाको बजेट र नीतिमै प्रश्नचिन्ह खडा गरेको निवेदक देवकोटाले बताएका छन् । उनले एमबीबीएस अध्ययन गर्न छात्रवृत्ति शीर्षकमा विनियोजित बजेट आफूले पाउनुपर्ने जिकिर गरेका छन् । 

‘छात्रवृत्तिका लागि यो पटक बजेट छ । नीतिमा स्पष्ट समेटिएको छ । रातोकिताबमा उल्लेख छ र सुत्रमासमेत इन्ट्री भइसकेको छ,’ पालिका प्रवक्ता तथा वडा नम्बर ४ का अध्यक्ष अमरबहादुर रोकायाले भने, ‘छात्रवृत्तिको रकम भुक्तानीका लागि कुनै समस्या देखिँदैन ।’ उनले छात्रवृत्तिको लागि विनियोजित रकम रकमान्तर गर्न नमिल्ने प्रतिक्रिया दिए । ‘यदि रकमान्तर भएको छ भने त्यो मलाई थाह छैन,’ उनले थपे ।   

एमबीबीएस अध्ययनका लागि विनियोजित रकम आफूले पाउन योग्य रहेको भन्दै तातोपानी–४ का देवकोटाले यही जेठ ५ गते गाउँपालिका अध्यक्षलाई सम्बोधन गरेर स्वीकृत, निती तथा कार्यक्रम, बजेट वक्तव्य र रातो किताब बमोजिम एमबीबीएस छात्रवृत्ति कार्यक्रम विनियोजित रकम भुक्तानीका लागि भन्दै निवेदन दिएका छन् ।

उनले आफू कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्ययनरत रहेको भन्दै गरिबीका कारण पठन–पाठनमा निरन्तरता दिन असहज भइरहेको समेत उल्लेख गरेका छन् । गत वैशाख २४ गते तातोपानी–४ को वडा कार्यालयले देवकोटा स्थायी बासिन्दा भएको र हाल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्ययनरत भएको भन्दै छात्रबृत्ति रकम दिँदा कुनै आपत्ति नहुने सिफारिस गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृतलाई सम्बोधन गर्दै लेखिएको पत्रमा नागरिकता नम्बर उल्लेख गर्दै उनलाई छात्रवृत्ति रकम उपलब्ध गराउँदा कुनै आपत्ति नरहेको जनाएको छ । साथै आवश्यक प्रक्रिया पूरा गरी निजलाई छात्रवृत्ति रकम उपलब्ध गराइदिनसमेत आग्रह गरिएको छ । तर, अहिले सम्म छात्रवृत्ति रकम दिने विषयमा गाउँपालिका मौन छ । पालिका मौन हुनुको पछाडी बजेट शीर्षक नै रकमान्तर भएको रहेछ भन्ने थाहा भएको स्थानीयले बताएका छन् । 

नीति तथा कार्यक्रमको शिक्षा तथा खेलकुद सम्बन्धि नीतिको ८ नम्बर बुँदा, बजेट वक्तव्यको दफा २४ र रातो किताबको क्रमसंख्या ६९ मा आन्तरिक स्रोतबाट छात्रवृत्तिका लागि बजेट विनियोजन भएको देखिएको छ । यसअघिका दुई वर्ष कसैले दाबी नगरेका कारण छात्रवृत्तिको रकम फ्रिज गएपनि यो पटक उपयोग गर्न लक्ष्मणले आग्रह गरेका थिए । पालिकाले पहिलो वर्षको पढाइ खर्चको लागि एक जना विद्यार्थीलाई पन्ध्र लाख रुपैयाँ छात्रवृत्ति रकम दिने निर्णयले उत्साहित विद्यार्थीहरु अहिले रकमान्तर गर्दा आक्रोशित बनेका छन् । 

तर यता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले भने हिउँदे गाउँसभाबाट रकमान्तर गरिएको जनानकारी दिए । कान्तिपुरसँगको कुराकानीका क्रममा उनले निवेदन ढिलोगरी आएकाले नदिइएको जवाफ दिए । तर आवेदन नै आहृवान नगरी कसरी दिन नमिल्ने भयो? भन्ने प्रश्नमा हिउँदे गाउँसभाले रकमान्तर गरेको बताए । हिउँदे गाउँसभाको निर्णय उपलब्ध गराउन सक्नुहुन्छ? भन्ने प्रश्नमा उनले दुई वर्षसम्म कोही पनि नआएकाले यसवर्ष रकमान्तर गरिएको र कुन मितिमा निर्णय गरियो भन्ने कुराको जानकारी गाउँपालिकामा आएर सूचना लिन जवाफ दिए । यद्दपि उनले रकम के–कारणले कुन शीर्षकमा रकमान्तर गरियो भन्ने चाहि जानकारी दिन चाहेनन् ।

विनियोजन ऐन, २०७९ को दफा ३ (३) मा रकमान्तर गर्दा जम्मा रकमको १० प्रतिशतमा नबढ्ने गरी कुनै एक वा एकभन्दा बढी अनुदान सङ्ख्याबाट अर्को एक वा एकभन्दा बढी अनुदान सङ्ख्यामा रकमान्तर गर्न सकिने व्यवस्था रहेको छ । तर छात्रवृत्तिको रकम कुन शीर्षकमा रकमान्तर गरियो र यो विनियोजन ऐन कार्यान्वयन गरिएको छ कि छैन? भन्ने प्रश्नमा गाउँपालिका अध्यक्ष चौलागाईं र प्रमुख प्रशासकीय अधिकृत कठायत दुवैले जवाफ दिएनन् । अघिल्लो आर्थिक वर्षमा भने वडा कार्यालयले विपन्न विद्यार्थी सहयोग कार्यक्रम (एमबीबीएस इन्जिनिरियङ) छात्रवृत्ति शीर्षकमा वितरण भएको रकम विद्यार्थीले पाएका थिए । 

सूचना अधिकारी ओमबहादुर चन्दले भने यस वर्षको छात्रवृत्ति रकमबारे के कस्तो भइरहेको भन्ने जानकारी आफूलाई नभएको बताए । गाउँ सभाबाट निर्णय भइसकेको कुरा नै सूचना अधिकारीलाई जानकारी नहुनु पालिकाभित्र सूचना प्रणाली चुस्त छैन भन्ने प्रश्नसमेत उब्जिएको छ । नीति तथा कार्यक्रमले स्पष्ट रुपमा बोलेको,बजेटमा परेको,रातोकिताबमा समेटिएको र सुत्रमा समेत इन्ट्री भइसकेको अवस्थामा गाउँपालिकाले गैरजिम्मेवार रुपमा बजेट नै रकमान्तर गर्नुपर्ने शिक्षा क्षेत्रमा पालिका कति जिम्मेवार छ भन्ने प्रष्ट भएको शिक्षा क्षेत्रका सरोकारवालाहरुले बताएका छन् । 

गाउँपालिकाले कुल शिक्षण शुल्कको ५० प्रतिशत (प्रतिवर्ष झन्डै १५ लाख रुपैयाँसम्म) खर्च व्यहोर्ने गरि नीति पास गरेको थियो । वर्ष एक जना विद्यार्थीलाई यो छात्रवृत्ति उपलब्ध गराउने, छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीले पढाइ सकिएपछि अनिवार्य रूपमा गाउँपालिकामा पुगेर दुई वर्षसम्म सेवा गर्नुपर्ने यो छात्रवृत्ति पाउनका लागि विद्यार्थीले चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षा उत्तीर्ण गरी तातोपानी गाउँपालिकाको कार्यविधि अनुसार आवेदन दिनुपर्ने व्यवस्था गरेको थियो । 

गाउँपालिकाको १४ औं गाउँसभाले एमबीबीएस अध्ययन छात्रवृत्ति सम्बन्धी कार्यविधि २०८० पारित गरेसँगै हरेक वर्ष यो शीर्षकमा बजेट विनियोजन हुँदै आएको छ । कार्यविधिले पालिका अध्यक्ष नन्दप्रसाद चौलागाइको संयोजकत्वमा एमबीबीएस अध्ययन छात्रवृत्ति व्यवस्थापन समिति बनाउने व्यवस्था गरेको छ । जसमा पालिका उपाध्यक्ष,  प्रमुख प्रशासकीय अधिकृत, सामाजिक विकास समितिको संयोजक, प्रधानाध्यापकहरु मध्येबाट १ जना, शिक्षाविद् १ जना, एक महिलासहित तीन जना खुला सदस्य र शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख सदस्य सचिव रहने गरी ९ जनाको हुने उल्लेख छ । रकम अभावका कारण एमबीबीएस पढ्न नपाएका विद्यार्थीहरुको लागि यो व्यवस्था गर्दा डक्टर पढ्न चाहने विद्यार्थीहरुको लागि पालिकाले दिएको सुनौलो अवसरका रुपमा हेरिएको थियो । तर आफैंले बनाएको कार्यविधिको कार्यान्वयन प्रभावकारी रुपमा हुन नसक्दा पालिकाबासी दुःखी बनेका छन् । 

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully