स्वास्थ्य सेवा निर्देशनालय कर्णालीले सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ को वैशाखसम्म ३५ हजार ८२४ जनाको एचआईभी परीक्षण गरिएकोमा ३१ जनामा संक्रमण पुष्टि भएको छ ।
सुर्खेत — कर्णाली प्रदेशमा एचआईभी परीक्षणको दायरा विस्तारसँगै नयाँ संक्रमण दर घट्दै गएको देखिएको छ । स्वास्थ्य सेवा निर्देशनालय कर्णालीले सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ को वैशाखसम्म ३५ हजार ८२४ जनाको एचआईभी परीक्षण गरिएकोमा ३१ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण दर ०.०९ प्रतिशतमा झरेको छ, जुन पछिल्ला वर्षहरूमध्ये सबैभन्दा न्यून हो ।
निर्देशनालयका एचआईभी फोकल पर्सन पदम केसीका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा १२ हजार ९० जनाको परीक्षण गर्दा ७० जनामा संक्रमण पुष्टि भएको थियो । त्यतिबेला संक्रमण दर ०.५८ प्रतिशत थियो । त्यसयता संक्रमण दर निरन्तर घट्दो क्रममा रहेको उनले बताए ।
नेपालमा सन् २०२४ को अन्त्यसम्म ३४ हजार ३३७ जना एचआईभी संक्रमित रहेको अनुमान गरिएको छ । तीमध्ये ६१४ जना नयाँ संक्रमित थपिएका छन् भने एड्ससम्बन्धी कारणले ५६९ जनाको मृत्यु भएको अनुमान छ ।
कर्णाली प्रदेशमा हाल ९ वटा केन्द्रमार्फत एआरटी (एन्टिरिट्रोभाइरल थेरापी) सेवा सञ्चालनमा छ । चालु आर्थिक वर्षको चैतसम्म ७७० जना संक्रमित नियमित उपचारमा रहेका छन् । अघिल्लो वर्ष यो संख्या ७३१ थियो । प्रदेश अस्पताल सुर्खेतमा मात्रै २९० जना उपचाररत छन् ।
एड्स हेल्थ केयर फाउण्डेशन (ए.एच.एफ) कार्यक्रम संयोजक संजय कुमार पौडेलले उपचार सेवाको पहुँच विस्तार भए पनि लक्ष्यअनुसारको उपलब्धि हासिल गर्न अझै चुनौती रहेको बताए । आर्थिक वर्ष २०८१/८२ मा अनुमानित ९२३ संक्रमितमध्ये ७३१ जना उपचारमा थिए, जुन ७९ प्रतिशत हो । उपचारमा रहेका संक्रमितमध्ये ५३७ जनाको भाइरल लोड परीक्षण गरिएको थियो । तीमध्ये ५०७ जनाको भाइरल लोड नियन्त्रणमा रहेको पाइएको थियो ।
सिफिलिस परीक्षणतर्फ २० हजार १५४ जनाको परीक्षण गर्दा ४७ जनामा संक्रमण पुष्टि भएको थियो । संक्रमित सबैले उपचार पाएका छन् । यस्तै, हेपाटाइटिस ‘बी’ परीक्षण गरिएका ९ हजार ९ सय जनामध्ये २१ जनामा संक्रमण पुष्टि भएको थियो भने १६ जनाले उपचार सेवा प्राप्त गरेका छन् ।
कर्णालीमा हाल ९३९ स्वास्थ्य संस्था सञ्चालनमा रहेका छन् । प्रदेशभर ९ वटा एआरटी केन्द्र, ९ वटा एचआईभी परीक्षण तथा परामर्श केन्द्र (एचटीसी) र प्रदेश जनस्वास्थ्य प्रयोगशालामार्फत भाइरल लोड परीक्षण सेवा उपलब्ध छ । तर, सीडी–४ परीक्षण सेवा भने अझै सञ्चालनमा आउन सकेको छैन ।
निर्देशनालयले जुम्लामा थप एआरटी केन्द्र स्थापना गर्ने, प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट सीडी–४ परीक्षण सेवा सुरु गर्ने तथा समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्ने योजना अघि सारेको जनाएको छ ।
स्वास्थ्य सेवा महाशाखा प्रमुख वृषबहादुर शाहीले सीमित स्रोत–साधनका कारण अपेक्षाअनुसार काम गर्न नसकिएको स्वीकार गरे । ‘नेपाल सरकारको आफ्नै बजेटबाट मात्रै यो क्षेत्रमा प्रभावकारी ढंगले काम गर्न पर्याप्त स्रोत छैन,’ उनले भने । एचआईभी संक्रमितको क्षेत्रमा काम गर्दै आएको नवीकरण प्लसका कार्यक्रम संयोजक देवेन्द्र पाठकले संक्रमितले राज्यबाट गुणस्तरीय स्वास्थ्य सेवा पाउनुपर्ने र समाजमा विभेदरहित जीवन बाँच्न पाउनुपर्ने बताए ।
‘संक्रमितलाई समुदायमै आयआर्जनमुखी कार्यक्रमसँग जोड्न सके उनीहरूको जीवनस्तर सुधारमा टेवा पुग्छ,’ उनले भने ।
