भारतीय तीर्थयात्रीले भरिभराउ सिमकोट, जहाज र हेलिकोप्टरलाई भ्याइनभ्याइ

बुधबार मात्रै जहाजका २९ र हेलिकोप्टरका ५६ उडान, ३ सातामा २ हजार १ सय तीर्थयात्रीले गरे कैलाश– मानसरोवर दर्शन।

जेष्ठ २१, २०८३

कृष्णप्रसाद गौतम

Indian pilgrims crowd Simkot, crowding planes and helicopters

What you should know

सुर्खेत — भारतीय तीर्थयात्रीको चापका कारण हुम्ला सदरमुकाम सिमकोट भरिभराउ भएको छ । तीर्थयात्राको सिजन सुरु भएसँगै पर्यटन व्यवसायी, होटल व्यवसायी, भरियालगायतलाई भ्याइनभ्याइ भएको हो । बुधबार मात्रै सिमकोट विमानस्थलमा १ सय ७० (दुईतर्फी) उडान भएको नागरिक उड्डयन कार्यालयले जनाएको छ । 

कार्यालयका अनुसार नेपालगन्जबाट सिमकोटका लागि जहाजले २९ र सिमकोट–हिल्साका लागि हेलिकोप्टरले ५६ वटा उडान भरेका हुन् । तीर्थयात्रा सुरु भएको तीन सातामा २ हजार १ सय २४ भारतीयले कैलाश–मानसरोवर दर्शन गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भारतीय पर्यटकहरु जहाजमार्फत नेपालगन्जबाट सिमकोट पुग्छन् भने सिमकोटबाट चीन सीमास्थित हिल्सासम्म हेलिकोप्टरमा जाने गरेका छन् । व्यवसायीहरुका अनुसार यो वर्ष झण्डै १६ हजार जना भारतीय पर्यटकले तीर्थयात्राका लागि ‘बुकिङ’ गराएका छन् । जिल्ला प्रहरी कार्यालयले हुम्ला भित्रिने पर्यटकहरुको तथ्यांक राख्ने गरेको छ । प्रहरीका अनुसार अहिलेसम्म करिब १ हजार २ सय पुरुष र ९ सय महिलाले मानसरोवर दर्शन गरेका हुन् । 

‘अहिले त जताततै भारतीय तीर्थयात्रीको भीड छ,’ हुम्लाका प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले भने, ‘अहिले बिहान साढे ६ बजेदेखि नै उडान भइरहेका छन्, पर्यटकहरुको सुरक्षाका लागि आवश्यक व्यवस्था मिलाइएको छ ।’ हुम्ला विमानस्थल प्रमुख महेन्द्रबहादुर सिंहका अनुसार तीर्थयात्री ओसार्न तारा, समिट र सीता एयरलाइन्सले दुई/दुईवटा जहाज नेपालगन्जमा राखेका छन् भने सिम्रिक, फिस्टेल, माउन्टेन, प्रभु र कैलाश एयरका ६ वटा हेलिकोप्टर सिमकोट विमानस्थलमा तयारी अवस्थामा छन् । 

Indian pilgrims crowd Simkot, crowding planes and helicopters

‘दिउँसो १२ बजेदेखि हावा चल्ने भएकाले बिहान साढे ६ बजेदेखि नै उडान सुरु हुन्छ,’ उनले भने, ‘बुधबारसम्म दैनिक १२ वटासम्म उडान भइरहेका थिए, बुधबार ह्वात्तै उडान बढ्यो, बिहीबार पनि १५ भन्दा बढी उडानको तालिका छ, जहाजको चाप एकैचोटी हुँदा हवाई ट्राफिक जामको समस्या देखिएको छ ।’

यो वर्ष गत वर्षभन्दा बढी ‘बुकिङ’ आएको र ‘बुकिङ’ अझै जारी रहेको कैलाश यात्रा सञ्चालक संघ (आक्टोन) ले जनाएको छ । मानसरोवर जान मौसम, भूगोल, दूरी र खर्चका हिसाबले धेरै पर्यटकको आकर्षण हिल्सा नाकाबाट देखिएको आक्टोन अध्यक्ष विमल नहर्कीले बताए । उनका अनुसार यो वर्ष ३५ वटा टुर्स एण्ड ट्राभल्समार्फत कैलाश–मानसरोवर दर्शनका लागि यात्राको प्रवन्ध मिलाइएको छ । गत वर्ष हुम्लाको बाटो भएर झण्डै ६ हजार ५ सय भारतीय तीर्थयात्री मानसरोवर दर्शनमा गएका थिए । 

व्यवसायीका अनुसार हिल्सा नाका हुँदै तीर्थयात्रामा जानेहरु भारतको लखनउको बाटो भएर नेपालगन्ज हुँदै हुम्ला जान्छन् । 

‘नेपालबाट सबैभन्दा नजिकको भारतीय विमानस्थल लखनउ हो, त्यहाँबाट नेपालगन्जको दूरी १ सय ९० किमि छ, जुन ३ घण्टामै यात्रा गर्न सकिन्छ,’ अध्यक्ष नहर्कीले भने, ‘नेपालगन्जबाट जहाजमार्फत सिमकोट गएर हेलिकोप्टरमार्फत चीन सीमाको हिल्सा पुगिन्छ, त्यहाँबाट १ सय ५ किमि दूरीको मानसरोवरको दूरी ४ घण्टामै पूरा गर्न सकिन्छ ।’ उनका अनुसार नेपालगन्जमा पहिलो दिन बसेका पर्यटकहरु दोस्रो दिन हुम्ला सदरमुकाम सिमकोट बास बस्छन् भने त्यहाँबाट हेलिकोप्टरमा चीन सीमास्थित हिल्सा पुगेर तेस्रो दिन मानसरोवर किनारको दार्चेन बेस क्याम्पमा बस्छन् । 

चौथो दिन झण्डै ६० किलोमिटर दूरीको कैलाश पर्वत पुगेर दर्शन गरी फर्किने गरेको उनले जानकारी दिए । ‘हिँड्न सक्नेहरु कैलाश पुगेर ५२ किमि दूरीमा परिक्रमा गर्छन् भने अशक्तहरु दार्चेन बेस क्याम्पबाटै दर्शन गरी फर्किन्छन्,’ पर्यटन व्यवसायी विजय सिंहले भने, ‘त्यहाँबाट फर्केर अर्को दिन सिमकोट बास आउँछन् भने भोलिपल्ट नेपालगन्ज फर्केर बास बस्छन्, यो रुट छिटोमा ७ दिनमा पूरा हुन्छ ।’ 

पर्यटन व्यवसायीका अनुसार नेपालका अन्य ठाउँबाट मानसरोवर तीर्थयात्रा गर्न कम्तीमा १० दिन लाग्छ । सडक मार्गबाट रसुवाको रसुवागढी हुँदै केरुङ गएर पनि मानसरोवर यात्रा गर्न सकिन्छ भने केही तीर्थयात्रीले चीनको ल्हासा भएर हवाई मार्गबाट पनि मानसरोवर यात्रा गर्ने गरेका छन् । सिन्धुपाल्चोकको तातोपानी नाका भने अहिले बन्द छ ।

Indian pilgrims crowd Simkot, crowding planes and helicopters

अहिले नेपालगन्जका झण्डै एक दर्जन ठूला होटलहरु पनि भरिभराउ भएको सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका सिईओ कृष्ण न्यौपानेले बताए । उनले आफ्नो होटलमा दैनिक एक सय जनासम्म भारतीय पर्यटकलाई राखिरहेको जानकारी दिए । सिमकोटस्थित विजय होटलका सञ्चालक विजय लामाले एकै दिन ८० जनासम्मलाई आफ्नो होटलमा व्यवस्थापन गरेको जानकारी दिए । उनका अनुसार सिमकोटका १५ र हिल्साका ७ पर्यटकीय सुविधाका होटलहरु भरिभराउ छन् । भारतीय पर्यटकले हुम्लाको मार्ग प्रयोग गर्न थालेपछि भरिया, होटल व्यवसाय, पर्यटक पथपर्दशक भएर राम्रो रोजगारी पाएको हुम्ला उद्योग वाणिज्य संघका अध्यक्ष रामबहादुर भण्डारीले बताए ।

‘पर्यटकले कोसेलीको रुपमा लैजान थालेपछि स्याउ, ओखर, सिमी, फापर, उवालगायत स्थानीय उत्पादनले बजार र भाउ पाएको छ,’ उनले भने, ‘स्थानीय तरकारी पनि जिल्लामै खपत हुन्छ, जसका कारण किसानहरु व्यवसायिक तरकारी खेतीतर्फ आकर्षित भएका छन् ।’

पर्यटन व्यवसायी तेन्जिन नोर्बुका अनुसार सबैभन्दा बढी दक्षिण भारतीय, गुजरात, महाराष्ट्र, उत्तर भारतबाट पर्यटकहरु आउने गरेका छन् । उनका अनुसार कैलाश–मानसरोवर यात्रामा आउने तीर्थयात्रीलाई विभिन्न राज्य सरकारले २५ हजारदेखि एक लाखसम्म अनुदानको व्यवस्था गरेका छन् । जसका कारण पनि भारतीयहरुको कैलाश–मानसरोवरमा आकर्षण बढेको उनले जानकारी दिए । उनका अनुसार तेलङ्गना राज्यले २५ हजार, कर्नाटकले ५० हजार र उत्तर प्रदेशले १ लाख भारतीय रुपैयाँ अनुदान दिने गरेका छन् ।

भारतीयहरुलाई यो तीर्थयात्राका लागि साढे २ लाखदेखि ३ लाख भारतीय रुपैयाँसम्मको प्याकेज बनाइएको उनले बताए । उनका अनुसार नेपालीलाई भने काठमाडौंदेखि १ लाख ५० हजारसम्मको प्याकेजमा कैलाश भ्रमण गराइने गरिएको छ । ‘भगवान शिव कैलाश पर्वतमा विराजमान भएको विभिन्न धार्मिक ग्रन्थहरुमा उल्लेख छ,’ नोर्बुले भने, ‘मानसरोवर–कैलाश यात्रालाई आत्मशुद्धि, कर्ममोचन र मोक्षको प्रतीकको रूपमा महत्त्व दिइन्छ, त्यसैले जीवनमा कम्तीमा एकपल्ट कैलाश दर्शन गर्नैपर्ने भारतीयहरुको विश्वास छ ।’

Indian pilgrims crowd Simkot, crowding planes and helicopters

मानसरोवर–कैलाश जाने सबैभन्दा सजिलो मार्ग हुम्लाको भएको भारतको उत्तरप्रदेशस्थित कानपुरका ६४ वर्षीय बाबु पटेलले बताए । वर्षौंपछि कैलाश–मानसरोवर तीर्थयात्राको धोको पूरा भएको उनको भनाइ छ । ‘कोरोनाले पनि ३/४ वर्ष यात्रा धकेलियो,’ मंगलबार मानसरोवर दर्शन गरी हुम्ला हुँदै नेपालगन्ज पुगेका उनले भने, ‘कैलाश दर्शनपछि साक्षात शंकरजीको दर्शन पाएको अनुभव गरे, कैलाश दर्शनले मोक्ष प्राप्ति भएको विश्वास छ ।’ उनकै यात्रा टोलीमा सहभागी उत्तरप्रदेशकै आग्राका ५८ वर्षीय ऋषिकेश गुप्ताले कैलाश दर्शनले आफ्नो जीवनमा सबैभन्दा ठूलो खुसी दिएको बताए । ‘भोलेनाथले हाम्रो मनोकांक्षा पूरा गरिदिनुहुनेछ भन्ने आशा छ,’ उनले भने, ‘कैलाश दर्शनले स्वर्णिम आनन्दको अनुभूति भयो ।’

कैलाश यात्रा सञ्चालक संघ नेपालका अनुसार यो वर्ष आगामी सेप्टेम्बर अन्तिसम्मैका लागि झण्डै १५ हजार जनाले तीर्थयात्रा बुकिङ गराएका छन् । यो वर्ष हिल्सा भएर कम्तीमा १० हजारले कैलाश दर्शन गर्ने अनुमान गरिएको एक्टोनका अध्यक्ष नहर्कीले बताए । ‘भगवान शिव कैलाश पर्वतमा विराजमान भएको विभिन्न धार्मिक ग्रन्थहरुमा उल्लेख छ,’ उनले भने, ‘मानसरोवर–कैलाश यात्रालाई आत्मशुद्धि, कर्ममोचन र मोक्षको प्रतीकको रूपमा महत्त्व दिइन्छ, त्यसैले जीवनमा कम्तीमा एकपल्ट कैलाश दर्शन गर्नैपर्ने भारतीयहरुको विश्वास छ ।’ 

भारतीय तीर्थयात्रीले सन् २००६ देखि हिल्सा मार्ग प्रयोग गर्न थालेका थिए । २०७२ सालको भुकम्पपछि तातोपानी नाका बन्द हुँदा हुम्लाको हिल्सा नाका भएर तीर्थयात्रा गर्नेको संख्या ह्वात्तै बढेको थियो । विभिन्न सेवाबाट अवकाश पाएकाहरु र व्यापारीहरु बढी तीर्थयात्रामा आउने गरेको पर्यटन व्यवसायी सांगे लामाले बताए । ‘भारतीयहरु जीवनमा एकपल्ट कैलाश दर्शन गर्नैपर्नेमा विश्वास गर्छन्,’ उनले भने, ‘रिटायर्ड भएकाहरुसँग पैसा पनि हुन्छ र १० देखि १५ दिनको समय पनि, त्यसैले धेरै यही उमेर समूहका मानिसहरु धेरै तीर्थयात्रामा आउने गरेका हुन् ।’ 

उनका अनुसार ६ हजार ७ सय १४ मिटर उचाईको कैलाश पर्वत चीन, भारत र नेपालको सिमानाको पश्चिमी उत्तरमा त्रिभुज (पिरामिड) आकारको छ । कैलाश पर्वतको झण्डै ५३ किलोमिटरको फेदी परिक्रमा गर्न कम्तीमा एक दिनदेखि तीन दिन लाग्छ । एकै दिनमा घुम्न चाहनेका लागि घोडामा व्यवस्था गरिने लामाले जानकारी दिए । दार्चेनबाट सुरु भएको परिक्रमा यमद्वार–दिरापुक–जुथुलपुक–डोल्माला हुँदै फेरि दार्चेनमा आएर टुंगिन्छ । मानसरोवर ताल र राक्षस तालको नजिक अवस्थित कैलाश पर्वतबाट चारवटा प्रमुख एसियाली नदीहरु सिन्धु, सतलज, ब्रम्हमपुत्र र कर्णाली बहन्छन् । उक्त पर्वत हालसम्म कसैले आरोहण नगरेको दाबी गरिएको उनले बताए ।

कैलाश दर्शन ॐकार परिवार भित्रका सबै धर्मावलम्बीका लागि महत्त्वपूर्ण रहेको धार्मिक अभियान्ता झक्कुप्रसाद उपाध्यायले बताए । उनका अनुसार बौद्ध धर्मावलम्बीहरुले थाङ्क रिम्पोचे, जैन धर्मावलम्बीले हिमालको देउता, बोनले ‘प्रिबुद्धिष्ट’को रुपमा पूजा गर्ने गरेका छन् । ‘हिन्दुहरुसहित बौद्ध, बोनलगायत धर्मावलम्बीहरु घडीको सुई घुम्ने दिशामा परिक्रमा गर्छन,’ उनले भने, ‘जैनहरु भने एन्टिक्लकवाइज घुम्ने गरेका छन् ।’

आफूहरुमा कैलाशमा साक्षात शिवजीको दर्शन पाइने विश्वास रहेकाले तीर्थयात्रामा आउने गरेको उत्तर प्रदेशस्थित आगराका सन्तोषकुमारले बताए । ‘कैलाश पर्वत शिवजीको बासस्थान पनि हो, त्यहाँको दर्शन गर्दा मोक्ष पाइने विश्वास छ,’ मंगलबार नेपालगन्जबाट हुम्ला हुँदै कैलाश दर्शनमा जान लागेका उनले भने, ‘दर्शन गरेपछि भोलेनाथले हाम्रो मनोकांक्षा पूरा गरिदिनुहुन्छ भन्ने विश्वास छ ।’ त्यस्तै शुक्रबारकै उडान बुकिङ गरेका उत्तरप्रदेशकै बरेलीका धनञ्जय पुरीले भारतीयहरु एकपल्ट कैलाश दर्शनमा जानैपर्ने विश्वास रहेको बताए ।

‘कैलाश पुगिएन भने अन्य जतिसुकै तीर्थ गरे पनि मोक्ष प्राप्त गर्न सकिँदैन,’ उनले भने, ‘कैलाशपतिले दिने आर्शिवाद हाम्रा लागि जीवनमा सबैभन्दा महत्त्वपूर्ण छ ।’ उच्च हिमाली क्षेत्र भएकाले कम्तीमा ३ महिना कैलाश पर्वतमा बाक्लो हिमपात हुन्छ भने चैत्र–वैशाखको समयमा भने हावाहुरी लाग्छ । जुनदेखि सेप्टेम्बर (जेठदेखि भदौसम्मको) समय दर्शनका उपयुक्त मानिन्छ । तर, कैलाश दर्शनका लागि भिसा प्राप्त गर्न आफूहरुले सास्ती भोग्नुपरेको तीर्थयात्रीको गुनासो छ । कैलाश दर्शनका लागि भारतीयलाई व्यक्तिगत भिसा नदिइने गरिएको उत्तर प्रदेशबाट आएका सन्तु निगमले बताए ।

‘भिसाका लागि कम्तीमा चारजना हुनुपर्ने र गाइडबिना प्रवेश भिसा नपाइने व्यवस्था छ,’ उनले भने, ‘जसका कारण ट्राभल एजेन्सीले जे भन्यो त्यही मान्नुपर्छ, जति भन्यो त्यति पैसा तिर्नुपर्ने बाध्यता छ ।’ उनले मानसरोवर यात्रा भारतीयका लागि पवित्र र अद्वितीय अनुभव भएको बताए । ‘यसको धार्मिक र सांस्कृतिक महत्त्व ठूलो छ । स्नान, पूजा तथा धार्मिक अनुष्ठानका लागि जीवनमा एकपल्ट भए पनि हामी कैलाश पर्वत जान चाहन्छौं,’ उनले भने, ‘मानसरोवरमा स्नान गरेपछि पुण्यप्राप्ति हुने र जन्म–जन्मान्तरसम्मका पाप पखालिने जनविश्वास छ ।’

विभिन्न हिमाली बस्ती, मौसम र फरक जैविक विविधताको अनुभव गर्दै भ्रमण गरिने भएकाले मानसरोवर यात्रा आत्म–अनुशासन, संयम र समर्पणको अभ्यास पनि भएको नागरिक अगुवा जिल्ला समन्वय समिति हुम्लाका प्रमुख शिवराज शर्मा बताउँछन्  । उनका अनुसार उचाई, चिसो, थकान र कठिनाइबीच तीर्थयात्रीहरु मन्त्र, ध्यान र योगमार्फत शरीर र आत्मालाई सन्तुलनमा राख्ने प्रयास गर्छन् । ‘कैलाश मानसरोवर यात्रा उच्च हिमाली भेगको यात्रा आएकाले यो साहसिक पनि छ,’ उनले भने, ‘प्रतिकूल मौसमका कारण यो यात्रामा लेक लाग्ने र विभिन्न स्वास्थ्य समस्या देखिने भएकाले जतिबेला पनि सतर्क रहनु जरुरी छ ।’ उनले यो यात्रामा पूर्वाधार अभाव हुँदा पनि पर्यटकले सास्ती भोग्नुपरेको बताए । मौसमअनुकूल खाना र उपयुक्त बासस्थानको अभाव, टेलिफोन, इन्टरनेट, खानेपानी, शौचालयलगायतको असुविधाले पर्यटकलाई समस्या भएको उनको भनाइ छ ।

कृष्णप्रसाद गौतम कान्तिपुरका सुर्खेत संवाददाता हुन् ।

Link copied successfully