सल्यानमा अवैध गिट्टी–बालुवा उत्खनन् गर्ने ६३ सवारीसाधन नियन्त्रणमा

चैत र वैशाख महिनामा मापदण्ड विपरीत नदीजन्य बस्तु उत्खनन्‌मा स‌ंलग्न ६३ सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएर २ लाख ७३ हजार राजस्व संकलन गरेको छ।

जेष्ठ १६, २०८३

विप्लव महर्जन

63 vehicles involved in illegal gravel and sand mining seized in Salyan

What you should know

सल्यान — शारदा नदीबाट अवैध रुपमा गिट्टी, बालुवा उत्खनन् गरेको आरोपमा प्रहरीले मंगलबार एक जेसिबी र ट्याक्टर नियन्त्रणमा लिएर शारदा नगरपालिकामा बुझायो । नगरपालिकाले ४ हजार ५ सय जरिवाना तिरायो ।

गत आइतबार ईलाका प्रहरी कार्यालय रागेचौरले कुमाख गाउँपालिका  १ टाटकेबाट रागेचौरतर्फ बालुवा लिएर जाँदै गरेका दुई वटा ट्याक्टर नियन्त्रणमा लियो । अवैध रुपमा गिट्टी, बालुवा उत्खनन् गर्ने ट्याक्टर र चालकलाई कारवाहीको लागि पालिकामा बुझायो । 

जिल्ला प्रहरी कार्यालय सल्यानले चैत र वैशाखमा मात्रै यसरी अबैध रुपमा नदीजन्य पदार्थ उत्खनन् र ढुवानी गर्दै आएका ६३ वटा ट्याक्टर, जेसिबी, टिपर र ट्रक नियन्त्रणमा लिएको छ । 

स्थानीय तहले ठेक्का लगाएको भन्दा अन्यत्रबाट गिट्टी, बालुवा उत्खनन् गर्न रोक लगाए पनि विकास निर्माण योजनाका लागि भन्दै पालिकाको अमानतमा उत्खनन् गरेको पाइएपछि प्रहरीले जिल्लाका विभिन्न स्थानबाट बालुवासहितका ५६ टेक्टर, ४ टिपर, ६ जेसिबी, एक्साभेटर र १ ट्रक नियन्त्रणमा लिएको हो । 

नदीजन्य बस्तु उत्खनन्का लागि अवैध तथा मापदण्ड विपरित खोलामै जेसिवी प्रयोग गरेर, रातिको समयमा उत्खनन् गर्दै आएकाले  नियन्त्रणमा लिएर कारवाही गरिएको जिल्ला प्रहरी सल्यानका प्रहरी नायव उपरीक्षक दिपक पातलीले बताए । नियन्त्रणमा लिएका सबैलाई कारवाहीको लागि पालिकामा बुझाएको र जरिवाना तिराएर छाडिएको उनले जानकारी दिए । 

उनका अनुसार नियनत्रणमा लिएका ६३ टेक्टर, जेसिबी, टिपर, ट्रकबाट २ लाख ७३ हजार राजस्व संकलन भएको छ । सरकारले टेन्डर आहवान गरेर खोलाजन्य बस्तु उत्खनन् गर्न पाइने भन्दै आए पनि जिल्लाका १० पालिकामध्ये दुईले तीन स्थानबाट उत्खनन् गर्न टेन्डर आहवान गरेको र अन्यले अमानतबाट उत्खनन् गर्दै आएका छन् । अमानतबाट खोलाजन्य बस्तु उत्खनन् गर्न  पाउने/नपाउने, प्रष्ट नभएकाले समस्या भएको उनको भनाई छ । 

अमानतबाट उत्खनन् गर्न पाउने विषयमा जिल्ला समन्वय समिति प्रमुख, प्रमुख जिल्ला अधिकारी र पालिका प्रमुखसँग छलफलको तयारी भइरहेको उनले जानकारी दिए । अवैध रुपमा मनपरी तरिकाले गिट्टी, बालुवा उत्खनन् कार्यले जलचर प्राणी मासिनुका साथै खोलामा पानीको स्रोत घट्दै गएको, वातावरणमा असर परेको र बाढीपहिरोको जोखिम बढ्दै गएको उनको भनाई छ ।

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully