विपद् व्यवस्थापनदेखि राजस्व विधेयकसम्म : कर्णाली मन्त्रिपरिषद्का ६ निर्णय

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कानुन, प्रशासन, राजस्व तथा व्यवस्थापनसँग सम्बन्धित विभिन्न प्रस्ताव स्वीकृत गरेको हो ।

जेष्ठ १३, २०८३

ज्योति कटुवाल

From disaster management to revenue bill: 6 decisions of Karnali Council of Ministers

सुर्खेत — कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले विभिन्न ६ वटा महत्त्वपूर्ण निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कानुन, प्रशासन, राजस्व तथा व्यवस्थापनसँग सम्बन्धित विभिन्न प्रस्ताव स्वीकृत गरेको हो । 

बैठकले कर्णाली प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन (चौथो संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ । 

यस्तै, कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक पदमा प्रदेश सचिव लक्ष्मीकुमार विकलाई कामकाजमा खटाउने निर्णय पनि गरिएको छ ।

त्यसैगरी, योगदानमा आधारित निवृत्तिभरण कोष स्थापना तथा सञ्चालन सम्बन्धी विधेयक तर्जुमाको अवधारणापत्रलाई सैद्धान्तिक स्वीकृति प्रदान गरिएको छ । 

कर्णाली प्रदेश सरकारको सामयिक राजस्व उठाउने सम्बन्धी विधेयक तर्जुमा सम्बन्धी अवधारणापत्रलाई समेत बैठकले सैद्धान्तिक स्वीकृति दिएको छ । मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेश विनियोजन ऐन, २०८२ कार्यान्वयनमा देखिएको बाधा–अड्काउ फुकाउन आदेश जारी गर्ने निर्णय गरेको छ । 

साथै, कर्णाली प्रदेश जीवनाशक विषादी व्यवस्थापन नियमावली, २०८३ पनि स्वीकृत गरिएको प्रवक्ता विनोद कुमार शाहले बताए ।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully