विद्यार्थी एकाएक बिरामी पर्न थालेपछि शिक्षक- अभिभावक चिन्तामा

जुम्लाको एक विद्यालयमा ४० भन्दा बढी विद्यार्थी बिरामी परेपछि विद्यालय बन्द गरिएको छ ।

जेष्ठ ११, २०८३

डीबी बुढा

Teachers and parents worried after student suddenly falls ill

जुम्ला — बिहीबार दिउँसोदेखि विद्यार्थीहरु धमाधम बिरामी पर्न थालेपछि जुम्लास्थित क्रृणमोक्ष माध्यमिक विद्यालयको पठनपाठन बन्द गरिएको छ ।

उक्त दिन एक्कासि २२ जना किशोरी बिरामी परे । रुने, कराउने, काम्ने लक्षण देखिएपछि अभिभावकलाई बोलाएर विद्यार्थीलाई घर पठाइयो तर दोस्रो दिन पनि १८ किशोरीसहित १ किशोर बिरामी परे । 

प्रधानाध्यापक कृष्ण बुढाका अनुसार लाइनमा प्रार्थना चलिरहेको बेला एक छात्रा ठूलो स्वरमा कराउन थालिन् । केही समयमै अर्की छात्रा ढलिन् । एकपछि अर्को गर्दै बिरामी पर्न थालेपछि विद्यालयले अभिभावक बोलाएर समाधान खोजेको थियो । 

प्रधानाध्यापक बुढाले भने, ‘अवस्था नियन्त्रणबाहिर जान थालेपछि विद्यार्थीलाई घर पठायौं । शिक्षकले सम्हाल्नै गाह्रो बन्यो । एक बिरामी परेपछि अर्कोमा पनि देखिन थाल्यो । बालबालिका डराए ।’

केही विद्यार्थी बेहोसजस्तै हुने, केही निरन्तर रोइरहने र केहीले अस्वाभाविक व्यवहार देखाउने गरेका छन् । बिहीबारदेखि सुरु भएको यो क्रम शुक्रबार झन् तीव्र बनेपछि पालिकाको शिक्षा प्रमुखसंग समन्वय गरेर विद्यालय बन्द गरिएको छ ।  

केही दिनअघि सिंजा-६ स्थित शान्तिजन आधारभूत विद्यालय काँडागाउँमा समेत यस्तै समस्या देखिएको थियो । विद्यार्थीहरु रुने, कराउने र बेहोस हुनेजस्ता समस्या देखिएको भिडियो सामाजिक सञ्जालमा भाइरल नै बनेको थियो । विद्यालयमा धामी झाँक्री बोलाउने, पूजा गर्ने र धार्मिक कार्य गर्ने क्रम पनि चल्यो तर सुधार आएन । यो घटना अन्धविश्वासको दृष्टिले नभई मनोवैज्ञानिक समस्याका कारणले हुन सक्ने स्वास्थ्य क्षेत्रका विज्ञहरु बताउने गर्छन् । 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका मनोपरामर्शदाता नन्दराज आचार्य यो अवस्था ‘मास कन्भर्जन डिसअर्डर’ अर्थात् सामूहिक मनोवैज्ञानिक प्रभावसँग सम्बन्धित हुन सक्ने बताउँछन् । 'डर, तनाव, सामाजिक प्रभाव र भावनात्मक असुरक्षाले विशेषगरी किशोरावस्थाका बालबालिकामा यस्तो प्रतिक्रिया देखिन सक्छ,' आचार्यले थपे,‘एक जनामा देखिएको व्यवहार अर्कोमा पनि सर्ने सम्भावना हुन्छ । विशेषगरी भीडभाड, अत्यधिक गर्मी, मानसिक दबाव र डरको वातावरणमा यो समस्या बढ्न सक्ने उनको तर्क छ । 

कर्णालीका अधिकांश विद्यालयमा नियमित मनोसामाजिक परामर्शको व्यवस्था छैन ।  सोमबार(आज) मनोपरामर्शदाता बोलाएको उनले बताए । यसअघि यही विद्यालयमा रहेको छात्राबासमा समेत यही समस्या देखिएको थियो । काउन्सिलिङ गरेर विद्यार्थी ठिक भएका थिए ।

कक्षा ६ देखि १० सम्मका विद्यार्थीमा यो समस्या देखिन थालेको हो । अहिले ३२५ विद्यार्थी विद्यालयमा अध्ययनरत छन् ।

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully