पालिका केन्द्र विवादले कर्मचारीको काम र हाजिर गर्ने कार्यालय ६ किलोमिटर दूरीमा !

केन्द्र राख्ने विवादको टुंगो नलाग्दा चिङ्गाड गाउँपालिकाका कर्मचारीले काम गर्न वडा ५ र हाजिर गर्न वडा २ मा राखिएको पालिका कार्यालय धाउनुपरेको छ ।

जेष्ठ ९, २०८३

तृप्ति शाही

Municipal Center dispute leaves employees' work and attendance offices 6 kilometers apart!

What you should know

वीरेन्द्रनगर — गाउँपालिकाको केन्द्र विवादले सुर्खेतको चिङ्गाड गाउँपालिकाका कर्मचारी कामकाज र हाजिरीका लागि ६ किलोमिटर हिँडेर फरक–फरक कार्यालय धाउनु परेको छ। पालिकाले वडा ५ को अवलचिङबाट सेवा प्रवाह गर्दै आएको छ । कर्मचारीहरु हाजिरीका लागि भने वडा २ को राजीकुना जानुपरेको छ ।

यी दुबै कार्यालयको दुरी ६ किलोमिटर छ । कर्मचारीहरु हरेक दिन हाजिरीका लागि राजीकुना र काम गर्न अवलचिङ धाउने गरेका छन् ।  

पालिकाको केन्द्रमा पुग्नभन्दा पहिले सबै कर्मचारी राजीकुनास्थित पालिकाको सभा हल पुगेर हाजिर गर्नु पर्छ । पालिकामा कार्यरत करिब ४५ जना कर्मचारीको दैनिकी यसरी नै बित्ने गरेको छ । हाजिर एकातिर र काम अर्कोतिर गर्न जाँदा असहज र नियमित काममा असर परिरहेको कर्मचारीहरु बताउँछन् । 

पालिका केन्द्रको विवादले गर्दा यो समस्या भएको हो ।२०७४ मा स्थानीय तह निर्वाचनको केही महिनापछि कार्यपालिका बैठकले वडा २ को पुङ्खेतलाई केन्द्र तोक्ने निर्णय गरेको थियो । बहुमतको निर्णयविरूद्व गाउँपालिकाकी तत्कालीन उपाध्यक्ष मनमाया आचार्यलगायका १० जना स्थानीय मिलेर सर्वोच्च अदालतमा मुद्दा हालेका थिए । उनीहरूको मुद्दामा अन्तरिम आदेश दिँदै सर्वोच्चले तत्कालका लागि यो निर्णय कार्यान्वयन नगर्न र साविककै स्थानबाट काम गर्नको लागि अन्तरिम आदेश दियो । मुद्दा संवैधानिक इजलासमा विचाराधीन छ। यहीँ वर्ष फेरि हिउँदे गाउँसभाले वडा २ नम्बरको राजीकुनाबाट कामकाज गर्ने निर्णय गर्‌यो । यहाँ सामुदायिक भवन छ । फेरि पहिलेकै समूहले सर्वोच्चमा अवहेलनाको मुद्दा दिएपछि सर्वोच्चले साविककै स्थानबाट चलाउन 'स्टे अर्डर' गरेको छ ।

गाउँपालिका अध्यक्ष बोधविक्रम जिसी वडा २ को राजीकुनाबाटै काम गर्छन् । अध्यक्ष जिसीले ६ वडामध्ये ५ वटाले राजीकुनामै सहमति भएको र केन्द्र सार्ने तयारी गरिरहँदा गत महिना वडा ५ का बासिन्दाले अवरोध पुर्‍याएको बताए ।  

पालिकाकी स्वास्थ्य शाखा प्रमुख पवित्रा विश्वकर्माले बिहान वडा २ मा रहेको सभा हलमा पुगेर हाजिर गरेपछि ६ किलोमिटर उकालो हिँडेर वडा ५ मा रहेकाे कार्यालयमा आएर काम गर्दै आएको बताइन् । ‘सवारीसाधन नहुने कर्मचारीलाई त तलमाथि गर्न निकै असहज भइरहेको छ,’ उनले भनिन्, ‘हाजिर मात्रै गरेर फर्कन एक घण्टासम्म लाग्छ ।’  

यता हाल पालिका केन्द्र रहेको वडा ५ अवलचिङका स्थानीय एवं राजनीतिकर्मी जितबहादुर रानाले विगतदेखि नै पालिकाको केन्द्र अवलचिङमै भएकाले अर्को वडामा स्वीकार्न नसकिने बताए । ‘पालिकाको केन्द्रका विषयमा कयौं छलफल भइसके । हामी अन्यत्र सार्ने पक्षमा छैनौं । सर्वोच्चको अन्तिम निर्णय पनि आइसकेको छैन,’ उनले भने । जनप्रतिनिधी र स्थानीयको स्वार्थले विवाद टुंगोमा पुग्न नसकिएको एक स्थानीयले बताए । उनका अनुसार पालिका केन्द्र पायक तान्ने होडले सहजै मिल्न सकेको छैन ।

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully