बजारमा प्रर्याप्त मात्रामा पेट्रोलियम पदार्थ र बिटुमिन पाउन छाडेपछि कालोपत्रे, सडक कटिङ्ग, टेवा पर्खाल, रिटेनिङ्गवाललगायतका काम रोकेर निर्माण कम्पनीले सानातिना पर्खाल लगाइरहेको छ ।
What you should know
सल्यान — मदन भण्डारी राजमार्गको कालोपत्रेलगायतका काम दुई महिनादेखि ठप्प जस्तै भएको छ । पश्चिम एसियामा जारी युद्धका कारण पेट्रोलियम पदार्थ, बिटुमिन अभाव र मुल्यवृद्धिका कारण देखाउँदै निर्माण व्यवसायीले ठूला उपकरणमार्फत गर्ने काम रोकेको हो ।
राजमार्गअन्तर्गत रोल्पाको माडीचौरदेखि सल्यानको बाग्चौर खण्ड कालोपत्रेका लागि तयारी अवस्थामा छ । बजारमा प्रर्याप्त मात्रामा पेट्रोलियम पदार्थ र बिटुमिन पाउन छाडेपछि कालोपत्रे, सडक कटिङ्ग, टेवा पर्खाल, रिटेनिङ्गवाललगायतका काम रोकेर निर्माण कम्पनीले सानातिना पर्खाल लगाइरहेको मदन भण्डारी राजमार्ग सुर्खेतका ईन्जिनियर भुपेन्द्र बडालले बताए ।
रोल्पाको माडीचौरदेखि सल्यानको बाग्चौरसम्मको ५२ किलोमिटर सडकअन्तर्गत माडीचौरदेखि माडी गाउँपालिका–२ सम्म २५ किलोमिटरमा सबै काम सम्पन्न भइसकेको छ । निर्माण कम्पनीले यो वर्षको चैत, वैशाख, जेठमा १० किलोमिटर सडक कालोपत्रे गर्ने तयारी गरेको थियो । यस्तै रोल्पाको माडी गाउँपालिका–२ पिपलडाँडादेखि सल्यानको बाग्चौर नगरपालिकाको पातिहाल्नासम्म १३ किलोमिटर कटिङलगायतका थप काम गर्ने तयारी गरेको थियो ।
तर पेट्रोलियम पदार्थ तथा बिटुमिनको अभावले काम रोकिँदा अहिलेसम्म जम्मा ४० प्रतिशत मात्र काम भएको ईन्जिनियर बडालले बताए । आवश्यकताअनुसार तेल र बिटुमिन नपाउँदा अहिले निर्माण कम्पनीले सामान्य खालका काम गरिरहेको उनले जानकारी गराए । ‘सुरु सुरुमा निर्माण कम्पनीले राम्रै काम गरेको थियो । पेट्रोलियम पदार्थ, बिटुमिनको मूल्यवृद्धि, भनेको समयमा पाउन नसकिने अवस्था सृजना भएपछि निर्माण कम्पनीले काम गर्न सकेन,’ उनले भने ।
उनका अनुसार सरकारले रोल्पाको माडीचौरदेखि सल्यानको बाग्चौरसम्म ५२ किलोमिटर सडक कालोपत्रेको लागि २०८० मा ३ अर्ब २६ करोड बजेट विनियोजन गरेको थियो । मदन भण्डारी राजमार्ग सडक कालोपत्रेको जिम्मेवारी कुमार श्रेष्ठ निर्माण सेवाले पाएको थियो । निर्माण कम्पनीले २०८१ साउनमा सम्झौता गरेर ३ वर्षमा काम सम्पन्न गर्नेगरी काम अगाडी बढाएको थियो । पेट्रोलियम पदार्थ अभावले निर्माण कम्पनीले तोकेको समयमा काम सम्पन्न गर्ने सम्भावना कम देखिएको छ । 
पेट्रोलियम पदार्थ अभावमा खुलेर काम गर्न नसकिएको र अहिले मजदुरबाट हुने काम मात्रै भैरहेको निर्माण कम्पनीका किशोर पाण्डेले बताए । पेट्रोलियम पदार्थ, बिटुमिन अभावका साथै मूल्यवृद्धिले धेरैजसो उपकरण त्यत्तिकै थन्काउनु परेको उनले जानकारी गराए । ‘हामीले दैनिक सतप्रतिशत काम गरिरहेका थियौँ । तेल अभावमा उपकरण थन्किँदा कामको गति ८० प्रतिशत घटेको छ । जम्मा २० प्रतिशत मात्र काम भैरहेको छ,’ उनले भने, ‘रोल्पाको माडीचौरदेखि सल्यानको सिमानासम्म ३९ किलोमिटर कटिङको काम सम्पन्न गरिसकेका थियौं । रोल्पाको सुवाओरालदेखि सल्यानको १३ किलोमिटरमा कटिङ गर्न बाँकी थियो । त्यो त रोकियो नै रोल्पाको माडीचौरमा १० किलोमिटर कालोपत्रे पनि गर्न सकिएन ।’
अहिलेसम्म ६० प्रतिशत काम सम्पन्न गर्नुपर्नेमा जम्मा ४० प्रतिशत भएको र पेट्रोलियम पदार्थ अभावले तोकेको समयमा काम सम्पन्न गर्ने सम्भावना नदेखिएको उनको भनाइ छ ।
